विचार

समाज र संचारसंहिता र ‘भात’ काण्ड

-प्रदिप थापामगर
सञ्चारलाई राष्ट्रको चौंथो अंगको रुपमा विश्वभर मानिन्छ । राष्ट्र सञ्चालनको लागि आवश्यक तीन अंगहरु (कार्यपालिका, ब्याबस्थापिका र न्यायपालिकाको जुन अहम् भूमिका रहेको हुन्छ, सञ्चार क्षेत्रले सत्यतथ्य सूचना प्रवाह गरी जनतालाई सूचुचित गर्ने र राष्ट्रलाई अन्याय र विभेदकोबिरुद्ध खबरदारी गर्ने महत्वपूर्ण जिम्मेवारी हुन्छ । त्यसैले सञ्चारलाई राष्ट्रलाई चौंथो अंगको रुपमा मानिएको हो ।

ब्यावसायिकताको कमिः नेपालदेखि अमेरिकासम्म
नेपाली पत्रकारिताले सवा सय वर्ष पार गरेपनि सन् १९९० मा बहुदलीय ब्यावस्थाको पूनर्बहाली नहुँदासम्म नेपालमा पत्रकारिता पश्चिमा मुलुकहरुमा जस्तो ब्यावसायिक रुपमा फस्टाउन सकेन । कुनै पनि क्षेत्र ब्याबसायिक रुपमा स्थापित नहुँदासम्म त्यसको नकारात्मक पक्ष समाजमा प्रसारमा आउने र त्यो मान्यता स्थापित हुने हुन्छ । नेपालमा पत्रकारिता ब्यावसायको रुपमा स्थापित हुन नसकेकै कारण पत्रकारलाई बिकाउको रुपमा, केहि खुवाएकै भरमा आफ्नो पक्षमा समाचार लेखाउन सकिन्छ भन्ने गलत मान्यताको विकास भएको हो । जसरी खेलकूदको ब्यावसायिक विकास हुन नसकेकै कारण अझैसम्म पनि नेपालमा खेलाडी भनेपछि बिहे हुन गाह्रो हुन्छ भनेर खेलाडीहरुले नै गुनासो गरेको उदाहरण पाउन सकिन्छ ।

‘भात’ काण्डः दुःखद् र सर्बनाक घटना
अमेरिकामा नेपाली समुदायलाई लक्षित गरी प्रकासित नेपाली मिडिया पनि पूर्ण रुपमा ब्यावसायिक हुन नसकेको अवस्था छ । अमेरिकी मूलधारको मिडिया र अमेरिकी नेपाली मिडियाको संरचना, पहुँच र प्रभावमा आकास–जमिनको फरक छ । अमेरिकामा नेपालीलगायत अन्य आप्रवासी समुदायलाई लक्षित गरी सञ्चालित मिडियालाई ‘इथ्निक मिडिया’को रुपमा चिनिन्छ । अमेरिकामा मौलाउँदै गएको नेपाली समाजले आफ्नो समाजलाई लक्षित गरी प्रकाशन हुँदै आएका नेपाली ‘इथ्निक मिडिया’लाई नेपालमा मिडियालाई हेर्ने मानसिकता र चस्माबाट हेर्ने भएको कारण र केहि नेपाली मिडियाकर्मीहरुको मानसिकता र ब्यावहार पनि नेपालकै अब्यावसायिक पत्रकारिताकै जस्तो भएको कारण गत महिना अगष्टको २७ र २८ मा न्यूजर्सी राज्यको नेवार्क शहरमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं क्षेत्रीय सम्मेलनमा आयोजक र पत्रकारबीचको जुवारी चल्दा ‘भात’ काण्डजस्तो दुःखद् र सर्बनाक घटना घट्न पुग्यो ।
आयोजकले पत्रकारका कारण अन्य प्रतिनिधिहरुले ‘भात खान पाएनन्’ भन्नु दुःखद् कुरा छँदै थियो भने त्यहिँ ‘भात’को कुरालाई लिएर संस्थागत रुपमै ‘नेपाल अमेरिका पत्रकार संघ (नेजा)’ ले प्रेस बिज्ञप्ति नै जारी गर्नु झनै बिडम्बना थियो । आयोजक र मिडियाकर्मीहरु ‘भात’ काण्डमा फँस्न पुगेको कारण प्रवासी नेपालीको सरोकारको विषयमा सम्मेलनमा जारी गरिएको ११ बुँदे घोषणा पत्रले निर्दिष्ट गरेको दूरगामी उपलब्धिनै ओझेलमा पर्न पुग्यो ।

अमेरिकी मूलधारको मिडिया र शक्ति
अमेरिकामा हामीले सिको गर्नु पर्ने कुरा धेरै छन् । अमेरिकी मूलधारको मिडिया यति ब्यावसायिक र शक्तिशाली छ कि ‘भात’ काण्ड घट्ने त कुरै भएन । यहाँको सञ्चार क्षेत्रले १९औं शताब्दीमै ब्यावसायिकता हाँसिल गरेको इतिहास छ । अमेरिकी संविधानको सन् १७९१ को पहिलो संशोधन (फर्सट् एमेण्ड्मेण्ट)बाट वाक स्वतन्त्रता (फ्रिडम् अफ एक्प्रेसन) सुनिश्चित गरिएको थियो । अमेरिकी सञ्चार क्षेत्रले यो संबैधानिक ग्यारेण्टीलाई आत्मसात गरेका हुन् । अहिले विश्व चर्चित अमेरिकी पत्रिका ‘न्यूयोर्क टाइम्स’को स्थापना सन् १८५१ मा भएको हो । सन् १८४६ मा अमेरिकी मिडियाहरुको सहकारी साझा सञ्चार संस्थाको रुपमा स्थापना गरिएको ‘एसोसिएटेड प्रेस (एपी)’ मा हाल झण्डै १४०० अमेरिकी दैनिक पत्रिकाहरुको स्वामित्व रहेको छ । बिजनेस इनसाइडर डट कमका अनुसार सन् २०१२ मै अमेरिकाका ६ वटा मुख्य मिडिया हाउसहरुको अमेरिकाको ९० प्रतिशत मिडियामा स्वामित्व रहेको थियो ।

सञ्चारसंहिता र सञ्चार क्षेत्रको जिम्मेवारी
पत्रकारले कुन संहिता या आचरण पालन गरेर समाचार प्रवाह गर्ने कुरा ब्यावसायिक पत्रकारिताको अभिन्न अंग हो र हुनु पर्दछ । सन् १९०९ मा स्थापित ‘सोसाईटी अफ प्रोफेसनल जर्नलिस्ट’ संस्थाले ४ वटा संहितालाई अघि सारेको छ ः (१) सत्यतथ्यको खोजी गर र रिपोर्ट गर, (२) कमभन्दा कम हानी गर, (३) स्वतन्त्र भएर रिपोर्ट गर, र (४) जवाफदेही र पारदर्शी बन ।
पत्रकार र सञ्चार क्षेत्रले जिम्मेवार भएर, सञ्चारसंहिताले निर्देशित गरेको मूल्यमान्यतामा रहेर समाचार संकलन र प्रवाह गर्ने हो भने यसको साख बढ्ने र पाठक संख्या बढ्ने हुन्छ । ब्यावसायिकताको पहिलो पाईलो हामीले माथि उल्लेखित सञ्चारसंहितालाई पालन गरेर पत्रकारिता गरौं । ‘भात’ भन्ने कुरा भोज भतेर, बिहे ब्रतबन्धमा पनि अपुग हुन सक्छ । त्यसो भयो भन्दैमा बिहे नै खत्तम त हैन नि ।  ‘भात’लाई विषय नबनाऔं । समाजले पनि ‘टेक ईट ग्राण्डेट’ गरेर पुरातन मानसिकताबाट मिडियालाई हेर्न बन्द गरौं र मिडियाकर्मीहरुले ‘भात’को प्रसंगलाई उछालेर आफैं समाचारको स्रोत र खिसिट्युरीको विषय नबनौं ।

अतिथि सम्पादक प्रदीप परियार थापा मगर ‘युएस नेपाल अनलाईन डट कम’ का प्रधानसम्पादक र  जातीय विभेद र छुवाछुतको अन्त हाम्रै पालामा’ (इण्डअफकास्ट डट कम) का अभियन्ता पनि हुन् ।