कला-साहित्य

कविता संग्रह भविष्यवाणी प्रकाशित

काठमाडौं, असार । ड्रिम्स म्यागेजिनले आयोजना गरेको भविष्यवाणी अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका उत्कृष्ट २० कविताहरु समावेश गरी पुस्तक ‘भविष्यवाणी’ प्रकाशित भएको छ । वल्र्ड वारियर्स र नेपाल लिट्रेचर फेष्टिबलको संयुक्त प्रयासले भविष्यवाणी अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका कविताहरुले पुस्तकको रुप पाएको हो ।

विकल्प आर्ट सेन्टरमा शनिबार एक कार्यक्रमकाबीच कविता प्रतियोगिताको निर्णाक मण्डमा रहेका प्रशिद्ध कवि विप्लव प्रतीक, नेत्र एटम तथा स्नेश सायमीले भविष्यावाणीको पुस्तक विमोचन गर्नुभएको हो । ड्रिम टिमकी सदस्य तथा गायिका आयशा राई गुरुले गीतबाट कार्यक्रमको शुरुवात गरेकी थिइन् ।

ड्रिम्स म्यागजिनले गत २०७२ साल बैशाख १२ को विनाशकारी भूकम्पले निम्त्याएको विपतले देश थलिएका बेला सुन्दर भविष्य अझैं बाँकी छ भन्दै भोलिका कविता आज लेख्न आह्वान गरेको थियो । उक्त प्रतियोगितामा देश तथा विदेशबाट करिब २ सय कविता समावेश भएका थिए । समावेश कविता मध्ये उत्कृष्ट २० कवितालाई भविष्यवाणी पुस्तकमा स्थान दिएको छ ।

उत्कृष्ट २० मध्येपनि  ‘जुग फेरिने दिन’ कविताले सवोत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो । जसका लागि कवयित्री गरिमा रानाले नगद ५०,००० पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेकी थिइन् ।  त्यसैगरी, ‘म ज्याकरान्डाको फूल’ कविताका लागि कवि लक्ष्मण श्रेष्ठले दोस्रो स्थान प्राप्त गर्दै नगद २५,००० र ‘भविष्यवाणी’ कविताबाट कवि रामनाथ खनालले तस्रो स्थान हात पार्दै नगद १०,००० पुरस्कार प्राप्त गरेका थिए ।

ड्रिम्स म्यागेजिनका संस्थापक ओजेश सिंहले कविता प्रतियोगिताको अर्को श्रृंखला पनि छिट्टै नै गरिने जानकारी दिनुभयो । यद्यपि अर्को श्रृंखलाको थिम र विषयबारे भने अहिले नै केही जानकारी दिइएको छैन ।