विचार

सिसिफसजस्तो नहोस् जनजाति आन्दोलन

राजेन्द्र महर्जन

नेपाल त्यस्तो देश हो, जहाँ एउटै देशभित्र पनि एक थरी समुदाय संविधानबाटै सुपरिभाषित भएको छ, अरु सबै थरीचाहिँ संविधानको परिधिभन्दा बाहिर अपरिभाषित समुदायमा पारिएका छन् । ती अपरिभाषित समुदायमा कोही कानुनबाट त कोही ऐन र नियमबाट परिषाषित हुने तहगत संरचना पारिएको छ, नयाँ वर्णव्यवस्थाका रुपमा । एकथरीको भाषा राज्यको भाषा, सरकारी कामकाजको भाषा, अदालत, शिक्षा, मिडिया र सम्पर्कको भाषा भएको छ । अरु सबैका भाषा भने राष्ट्रभाषाको रुपमा दर्ता गरिए पनि तिनको प्रयोग कहाँ कसरी हुन्छ, कसैलाई थाहा छैन । त्यस्तै, एकथरीको धर्म र संस्कृति सनातन धर्म–संस्कृतिको नाममा संरक्षण र संवर्धन गरिँदैछ भने अरुका धर्मलाई ‘अन्यकरण’ (अदराइजेसन) गरिँदैछ । यस्तै अन्य थुप्रै मुद्दा छन्, जुन आदिवासी जनजातिका जीवन, पहिचान, अस्तित्व र विकाससँग सम्बन्धित छन्, जुन द्वन्द्व समाधानको पुडियाका रुपमा ल्याइएको नयाँ संविधानबाट हल गरिनुको साटो झनै बल्झाइएको छ । तर पनि पनि यी मुद्दामा किन अभियान, संघर्ष र आन्दोलन नभएका होलान् त ? सडकमा भएका आन्दोलन पनि आन्दोलनजस्ता किन नदेखिएका होलान् हँ ?

केही कारण: केही अनुमान
एक, यसको एउटा कारण हो, आदिवासी जनजाति समुदायका मनमस्तिष्कमा पनि नयाँ संविधानवादीहरुका विचारको वर्चस्व स्थापित हुनु । विश्वकै उत्कृष्ट भनी प्रचारित नयाँ संविधानले सबै जाति, भाषा र समुदायलाई समान अधिकार दिएको संविधानवादी भाष्य (न्यारेटिभ)को दुस्प्रभाव आदिवासी जनजाति समुदायमा पनि परेको छ । विशेषतः सात प्रदेश बनाउने संवैधानिक बोककबोलपछि आफ्ना लागि भाग सुरक्षित हुने विश्वस्तताले अनेक प्रश्नलाई ढाकछोप गरेको छ ।

यसले प्रदेशको पहिचानजन्य नामकरणबारे, ती प्रदेशमा निश्चित हुनैपर्ने विविध अधिकारबारे संविधानको मौनताबारे उनीहरुको बेवास्तालाई निश्चित गरेको छ । आदिवासी जनजाति आन्दोलन, त्यसका अभियन्ता र संगठनमा संविधानवादी भाष्यलाई चिर्ने औकात, क्षमता र दृष्टिको अभाव देखिएको छ । यस्तो अवस्थामा त्यसले संविधानवादी भाष्यको ठाउँमा प्रतिवर्चस्वको वातावरण बनाउन नसक्नु अनौठो होइन ।
दुई, नेपालको आदिवासी जनजाति आन्दोलन थोक मागमा मात्रै चलिरहेको छ, जबकि सुरुमा खुद्रामसिना मागमा संघर्ष हुन्छ र तिनै संघर्षका अनेक खोल्साखोल्सी मिसिएर आन्दोलनरुपी नदीको रुप धारण गर्ने हो । उदाहरणका लागि, मातृभाषामा स्कुलकलेजमा पढ्न पाउने, प्रहरी–प्रशासन र अड्डा–अदालतमा प्रयोग गर्न पाउने, जागिर, रोजगार र आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने अधिकारबारे अभियान छेडियो भने आन्दोलनको थालनी हुनसक्छ । यस्तै अनेक मुद्दामा हुने अलग अलग पहल, विमर्श, संघर्षकै गोरेटो र घोडेटो मिसिँदा विशाल मार्गको रुपमा आन्दोलन हुने हो ।

यहाँ सबैखाले माग र मुद्दाबीच छ्यासमिस गर्ने, सबैलाई एकसाथ उठान गर्ने, ‘आए आँप गए झटारो’को रणनीति लिने र त्यसका लागि व्यापक जनमत निर्माणमा ध्यान नदिने रोग बलियो रुपमा फैलिएको छ । यसैको दुस्परिणामस्वरुपमा नयाँ संविधानमा रहेका केही प्रतिगामी र यथास्थितिवादी प्रावधानको चिरफार गर्ने र जनमत सिर्जनाका आधारमा नयाँ शिराबाट संघर्ष थालनी गर्ने काममा कमजोरी भएको देखिन्छ ।
तीन, नेपालको आदिवासी जनजाति आन्दोलन पहिचान र वर्गका मुद्दामा सैद्धान्तिक रुपमा अस्पष्ट भएको कारणले पनि अलमलिएको र पिछडिएको देखिन्छ । आर्थिक रुपमा गरिव र सर्वहारा वर्गको कुरा उठाउने नेपालका वामपन्थी दल र तिनका बुद्धिजीवीहरुले पहिचानको मुद्दालाई ‘डायलुट’ गर्न पहिचानको आन्दोलन भनेको वर्गीय मुक्ति र माक्र्सवादी सिद्धान्तको विपरीत उठाइएको विखण्डनवादी र उत्तरआधुनिक वैदेशिक अवधारणाका रुपमा प्रस्तुत गर्दै आएका छन् । हुन त माओवादीले जनयुद्धको उत्तरार्धमा पहिचान र वर्गका मुद्दा र माग स्थापित गर्दागर्दै पनि त्यसलाई सैद्धान्तीकरण गर्न नसक्दा, त्यसप्रति वैचारिक प्रस्टता र प्रतिबद्धता जनाइराख्न नसक्दा, त्यसलाई युद्धमा जनसमर्थन प्राप्तिको अस्त्रको रुपमा मात्रै दुरुपयोग गर्दा त्यस्ता अनर्थकारी आरोपको पनि बलियोसँग खण्डन हुन सकेन । यसरी माओवादी र आदिवासी जनजाति आन्दोलनले उठाएका र स्थापित गरेका अवधारणालाई व्यवस्थित गर्ने कामको अगुवाइ कुनै पनि आन्दोलनबाट भएन, न त यसका अभियन्ता र बौद्धिक तप्काबाटै भयो । यसको अर्थ वर्गवादीहरुले थालेका पहिचानविरोधी विमर्शलाई चिर्ने र पहिचानकै कारण गरिब र सीमान्तकृत वर्गमा फेरिने राजनीतिक, आर्थिक र सांस्कतिक आयामबारे चिरफार गर्ने तथा त्यही चिरफारका आधारमा जनमत बनाउने काममा कमजोरी भएको छ ।
चार, वैचारिक सैद्धान्तिक र रणनीतिक रुपमा मात्रै होइन, आदिवासी जनजातिको संगठन, त्यसको नेतृत्वको निर्माण, त्यसको पहलकदमीमा ठूलो भ्वाङ देखिएको छ । धेरैजसो राजनीतिक पार्टीविशेषसँग आबद्ध आदिवासी जनजातिका संगठन र तिनका अगुवाहरुमा स्वायत्तता, स्वतन्त्र पहल र मौलिक चिन्तनको खडेरीजस्तै पाइएको छ । पार्टीबाट निर्देशित र नियन्त्रित त्यस्ता संगठन र व्यक्तिहरुका मोर्चा र तिनको पहल पनि तिनै सरुवा रोगको शिकार हुनु स्वाभाविकै हो । मोर्चाका अगुवाहरुमा आदिवासी जनजातिका मुद्दाको स्थापना र मागको पूर्तिमा भन्दा पनि राजनीतिक नियुक्ति, आर्थिक सेवासुविधा तथा प्रख्याति प्राप्तिमा रुचि र पहल देखिएको छ । यसैको फलस्वरुपमा जनजातीय संगठन र मोर्चाका नेताहरुलाई सरकार र दलहरुबाट सम्मिलन गरिने –‘कोअप्ट’ गरिने क्रम तीव्र भएको छ । मन्त्री, सभासद वा राजदूत हुने लोभले तानिएने क्रममा आफ्ना मुद्दा र माग नै सडकमा अलपत्र छाड्ने वा विस्थापित गर्ने काम आपराधिक स्तरमा जारी छ ।

तितो सत्य के हो भने विभिन्न संगठन र मोर्चामा भएका अगुवाको हैसियत मात्रै होइन, तिनमा नभएका अगुवा, अभियन्ता र बौद्धिकहरुका साख पनि खस्केको छ, एनजिओकर्मको निरन्तरता र सेवासुविधाप्रतिको मोहका कारण । मुद्दा र मागको स्थापना र पूर्तिमा भन्दा तिनका आधारमा आफ्नो प्रोफाइल र करियर विकास एवं विस्तार गर्ने संस्कार–संस्कृतिबाट आन्दोलनलाई निकै बेफाइदा भएको छ ।

आदिवासी जनजातिका मुद्दा र माग मानवअधिकार र समावेशी लोकतन्त्रसँग जोडिएको अवस्थामा वैदेशिक संस्थाबाट एक जमानामा सीमित सहयोग नभएको होइन । तर अगुवा र बौद्धिकहरु त्यही सहयोगमा लुटपुटिँदा पहिचानको आन्दोलनलाई नै डलरवादी आन्दोलन भन्ने मौका एक थरीका लागि मिलेको थियो । जबकि यहाँ राज्य र गैरराज्य स्वयं डलर वा विदेशी सहयोगमा चलिरहेको छ, जबकि तिनै आलोचकहरु राज्य र विदेशी शक्तिको अनुदानमा क्रियाशील संस्थामा आबद्ध छन् । यस्ता कुतर्क र आलोचनालाई चिर्ने तथा आन्दोलनसँगै आफ्नो साख बढाउने काममा संगठन एवं मोर्चासँगै ती संगठन र मोर्चाभित्र–बाहिरका अगुवाहरु चुकेका कारण आन्दोलन कमजोर रहेको छ ।

पाँच, आदिवासी जनजाति आन्दोलन कुनै टापुमा संचालन गरिने र स्थापित गरिने मुद्दा होइन, न त आकाशे माग नै हो । यहाँका सबै सीमान्तकृत, बहिष्कृत र उत्पीडित वर्ग, वर्ण, लिंग, क्षेत्रका जनतासँग यी मुद्दा र मागको सालनाल जोडिएको छ कुनै न कुनै रुपमा । त्यसैले कुनै न कुनै अलगथलग टापु बनाएर तिनको औचित्य स्थापना र मागको सुनुवाइ सम्भव छैन । अतः यी सबै तह र तप्काका मागमा आफ्नो सम्यक धारणा बनाउनु, उनीहरुसँग आफ्ना माग र मुद्दाको तालमेल मिलाउनु, उनीहरुलाई पनि आफ्ना मुद्दा र मागमा सहमत गराउनु तथा सहकार्यको अवस्था सिर्जना गर्नु जनजाति आन्दोलनका संगठन, मोर्चा, अगुवा र बौद्धिकहरुको मुख्य काममध्ये एक हो । यस मामिलामा धेरै हदसम्म चुकेको छ, कम बेसीमा मात्रामा दलित, महिला र मधेसीका सवालमा ।

आम रुपमा जनजातिहरुले पनि बाहुन क्षेत्रीले जस्तै दलितमाथि छुवाछूत र भेदभाव गर्ने गरेको दलितको गम्भीर गुनासोले पहिचानमा आधारित प्रदेशको निर्माणमा समेत दलित समुदायका अभियन्ताहरुको समर्थन प्राप्त गर्न नसकेको यथार्थ बिर्सन मिल्दैन । त्यस्तै, पहिचान प्रबल हुने स्थितिमा महिलाहरुलाई प्रथाजन्य पुरातन संस्कृति र संस्कारले बाँधिराख्ने हो कि भन्ने महिलाहरुका आशंकाले पनि उनीहरुको समर्थन र सहयोगलाई नकारात्मक रुपमा प्रभाव पारेको तथ्य हेक्का राख्न लायक छ । र, मधेशीको हकमा पहाडी राष्ट्रवादको झण्डा बोकेर हिँड्ने जनजातिहरुबाट आफूहरु उत्तिकै प्रताडित भएको मधेशीहरुको गुनासोले पनि दुई उत्पीडित समुदायबीचको सहकार्यमा बाधा हालेको तथ्य अहिलेसम्म पनि पछ्यारहेकै छ ।

केही संकेत : केही जरुरत
यसबीचमा यी सबै तह र तप्काका अगुवा र बौद्धिकहरुबीचको अन्तक्र्रिया बढ्न थालेपछि आशंका र गुनासोमा केही कमी आएको हुनसक्छ, तर जनस्तरमा त्यसको सम्बोधन गर्ने खालका सांगठनिक पहल, सुधारका कार्य र सहकार्यका अभियान भएको पाइँदैन । खस–आर्यसँगै पहाडी जनजाति र मूलतः मधेसीहरुको बाहुल्य रहेको संघीय समाजवादी फोरमका निर्माण तथा ती तीनै समुदायको सहभागिता हुनेगरी संघीय गठबन्धनमार्फत मधेशदेखि राजधानीसम्म संघर्षको विस्तारले यस कार्यमा केही टेवा दिएको हुनसक्छ ।

यस्तो अवस्थामा तत्कालै ससाना मुद्दा र मागमा आधारित संघर्ष, त्यसको अगुवाइ गर्ने नयाँ खालको समावेशी र जुझारु संगठन, पार्टीको अंकुश वा राज्यको नियन्त्रणबाहिरका स्वायत्त मोर्चाको निर्माणसँगै स्वतन्त्र बौद्धिक अभियन्ता र अगुवाहरुको क्रियाशीलता अत्यावश्यक छ । र, यसैको सबैभन्दा महत्वपूर्ण पाटोका रुपमा, जिउँदोजाग्दो दैनिक जीवनका मुद्दामा आधारित भुइँतहका संघर्ष र आन्दोलनबाट नयाँ युवा नेतृत्वको आगमन र सिर्जनाको आवश्यकता अति जरुरी भएको छ । तिनीहरुले माथि जनाइएका र अहिलेसम्म नदेखिएका समस्याको निराकरणका लागि पहल गर्न सक्छन् । अब पति त्यसो सकिएन भने मानवअधिकार र समावेशी लोकतन्त्रसँग जोडिएका मागमा हुने आन्दोलनले सिसिफसको नियति भोगिरहनुपर्ने अभिशप्त अवस्था कायम रहने देखिन्छ ।

ट्विटरमा @rmaharjan72