विचार

राष्ट्रियता,राष्ट्रवादको मुद्दा र मधेसी जनजातिको आन्दोलन

अनन्त अनुराग

विगत लामो समयदेखि मधेशी र आदिवासी जनजातिले जारी राखेको आन्दोलनको मुख्य मुद्दा राष्ट्रियता र राष्ट्रवाद हो । मधेशी र जनजातिले विभिन्न लिखितम् मागहरु सरकार समक्ष प्रस्तुत गरेपछि यसको चुरो कुरो राष्ट्रियता र राष्ट्रवाद नै हो । विगत लामो समयदेखि नेपालको राजनीतिमा दुई प्रभावशाली विचारका अवधारणाहरु स्थापित भएका छन – राष्ट्रवाद र मधेशवाद । यी दुबै मान्यताहरु स्वभावैले र जन्मजात नै एक अर्काको विरुद्धमा रहेका छन र विगतको केहि समयदेखि नेपालको राजनीतिमा एक अर्कासंग निरन्तर संघर्षमा छन् । राष्ट्रवाद र मधेशवादको अवधारणामा पछिलो समय आदिवासी जनजातिहरुको पनि सहयोग र समर्थन रहेको छ । मधेश केन्द्रित दलहरु रुपमा जेजस्ता मुद्दाहरुमा केन्द्रित भएर आन्दोलन गरे पनि उनीहरुको मूल संघर्ष अहिलेको राष्ट्रवादसँग नै हो । नेपालको राष्ट्रवाद आफैमा जटिल राजनीतिक समस्या हो । तर समस्याको लामो कालखण्डसम्म पनिसमाधान भएन भने यो संकटको रूप अख्तियार गर्छ । तब उसलाई संरचनागत परिवर्तनद्वारा नै समाधान गर्न सकिन्छ । मधेश आन्दोलन यो संकटको समाधान गर्न नै राज्यको संरचनागत परिवर्तन गर्न खोजेको हो ।  
नेपालका भौगोलिक राष्ट्रवाद (Territorial Nationalism) को सन्दर्भमा मधेश अलग थलग र अपहेलित मात्रै हैन कि यसलाई भारतको स्थानीय प्रतिनिधिको रुपमा विपरीत (Other) को रुपमा अथ्र्याएको छ । यो मनोविज्ञानमा निर्माण भएको राष्ट्रवादमा राष्ट्रियताको सवालमा मधेशीमाथि आशंका गर्नु र मधेश आन्दोलनलाई नेपालको राष्ट्रियताको लागि खतराको रुपमा आंकलन गर्नु महेन्द्रवादी चिन्तन र विचार स्वाभाविक नै हो ।
नेपाल लोकतान्त्रिक मुलुक भए पनि राज्यका संरचना (Institutional) र राजनीतिक अभ्यास (Practice) अहिले पनि भौगोलिक र सामाजिक हिसाबले  श्रेणीवद्ध राष्ट्रवादको पूर्ण प्रभावमा रहेका छन । यसबाट उच्च जातका आर्य खस इतरका मधेशी, आदिवासी जनजाति र दलित जस्ता अन्य समुदायहरु उत्पीडन र विभेदको शिकार भएका छन ।
पहाड़का जनजाति र दलितहरु नेपालको भौगोलिक राष्ट्रवादका अन्तर्निहित अंश भए पनि श्रेणीवद्ध नेपाली समाजमा निम्नस्तरको अवस्थितिले यिनीहरुलाई मधेशीको जस्तो अलगाव भोग्नु नपरे पनि तिरस्करण र दमनको शिकार हुनु परेका छन ।
संघीय गठबन्धनको निर्माण र आन्दोलनमा पहाडका जनजाति समुदायहरुको सहभागिताले राज्य र राज्य सत्ताका समर्थक पक्षले आन्दोलनमाथि लगाउदै आएका दुई आरोपबाट यो मुक्त हुनेछ । पहिलो मधेश आन्दोलनलाई जातीय र क्षेत्रीय आन्दोलनको रुपमा व्याख्या गरिन्छ भने दोस्रो यसलाई भारतको इशारामा सञ्चालित भन्ने गरिन्छ । अबको आन्दोलनमा जनजातिहरुको सहभागिताले गर्दा यसलाई बदनाम गर्न त्यति सजिलो हुने छैन । यसको संकेत काठमाडौं केन्द्रित आन्दोलनको बारेमा राष्ट्रिय मिडियाहरुको सन्तुलित रुपबाट पनि थाहÞा पाउन सकिन्छ ।
यो आन्दोलनले नेपालको राजनीतिमा भैरहेको लोकतन्त्रको जनीयकरण वा समुदायीकरणको प्रक्रियामा प्रभाव पार्ने छन । नेपालको राजनीतिमा राज्य र पहाड़ केन्द्रित दलहरुको चरित्र र गतिविधिले गर्दा मधेशमा लोकतन्त्रको समुदायीकरणको प्रक्रिया शुरू भै सकेका छन । यसलाई यसपालीको निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड यूनियनको निर्वाचनको परिणाममा हेर्न सकिन्छ ।  
अहिलेको राजनीतिक दिशाप्रति केवल मधेश केन्द्रित दलका केही नेता–कार्यकर्ताहरुमा मात्रै आशंका र अविश्वास छैन । मधेशका बुद्धिजिबी, शुभचिन्तक र पत्रकारहरुमा पनि यो असमन्जस र आशंका देख्न सकिन्छ । उनीहरुको बुझाईमा मधेशी र पहाड़को जनजातिहरुको फरक प्रकृतिको विभेद र राज्यसँग उनीहरुको भिन्न प्रकृतिको सम्बन्धको अयामले उनीहरुलाई भिन्न–भिन्न प्रकारका राजनीतिक प्रवर्गको रूपमा निर्माण गरेका छन ।

राज्य र राष्ट्रवादको चरित्रको रूपान्तरणमा केन्द्रित मधेश आन्दोलनको फरक धरातल रहेका आदिवासी जनजातिहरुको आन्दोलनसँग स्वाभाविक र दीर्घकालीन गठबन्धन हुन सक्दैन भन्ने उनीहरुको बुझाई हुन ।
मधेश आन्दोलनको बारेमा शासनसत्ताका समर्थकहरु जति भ्रम र अन्योल सृजना गर्न खोजे पनि यो आफ्नो एजेडामा स्पष्ट छ । मधेश आन्दोलनका केही मागहरु आंशिक रुपमा संविधान संसोधनद्वारा सम्बोधन गर्ने प्रयास गर्ने भएका छन तर आन्दोलनको आधार माग – प्रदेशको सीमाङ्कन र स्वायत्ताको बारेमा राज्य उदासीन देखिन्छ । धेरैको बुझाईमा मधेश केन्द्रित सघन र निर्णायक संघर्षले मात्र यी बाँकी मागहरु संबोधन गर्न राज्यलाई बाध्य पार्न सकिन्छ ।
नेपालमा धेरै राष्ट्रवादहरु मिलेर नेपाली राष्ट्रियता बनेको हो । नेपालको राजनीतिक घटना क्रम र परिवर्तनहरुले लामो समयदेखि खस आर्यले अन्य समुदायमाथि लादेको महेन्द्रीय चिन्तनको राष्ट्रवादहरु अझै पनि अवशेषको रुपमा देखिन्छ । राजनीति, समयकाल परिवर्तन भए पनि पात्र र प्रवृत्तिले परिवर्तनलाई स्वीकार नगर्दा अहिले देखिएको समस्या दिनप्रति दिन बढ्दै गएको हो । नेपालमा महेन्द्रीय राष्ट्रवादले एक खास वर्ग र समुदायलाई स्थापित गरेका थिए । सो क्रम निरन्तर अहिले पनि देशको विभिन्न निकायमा प्रष्ट देखिन्छ । मधेशी आदिवासी जनजातिले धेरै के नै पो मागेका छन् र, हाम्रो अनुहार, हाम्रो भाषा, हाम्रो सँस्कृतिलाई स्वीकार गरी देऊ त भनेका छन नि ? हाम्रोअनुसार हरेक क्षेत्रमा देख्ने गरी फराकिलो राष्ट्रवाद बनाई देऊ भनेको त हो नि । अब या देशमा दाउरा सुरुवाल र ढाका टोपीको राष्ट्रवादले देशको अस्तीत्व कायम राख्न सक्दैन । अब यो देशको राष्ट्रवाद बलियो बनाउन सबै वर्ग समुदाय जातजातिको कला, सँस्कृति, भेषभुषा, रहन सहन, खानपानलाई सहर्ष स्वीकार गर्न सकेमा मात्र हामी सबैको नेपाली राष्ट्रियता बलियो हुने छ । होइन भने, आफूमात्र लाई यो देशको राष्ट्रियताको ठेक्केदार ठान्ने शैली र सोचले देश विस्तारै दुरगामी दुश्चक्रममा फस्दै गएको देखिन्छ । एक अर्काको अस्तित्वलाई स्वीकार गर्न सके मात्र हामी बलियो राष्ट्रियता निर्माण गर्न सक्छौं  । परम्परागत चिन्तन र शैली त्याग गर्न सबै पक्ष तयार हुनु पर्दछ । यो देशको राष्ट्रियता कुनै एक व्यक्ति र समुदायले बचाएको हँुदै होइन, हामी सबै मिलेर यो देशको राष्ट्रियता विगतदेखि वर्तमानसम्म बचाएकै हो ।

(स्वराज फाउण्डेशन नामक संस्थाद्वारा प्रस्तुत गरेको राष्ट्रियताका अवधारणाका केही अंश समावेश गरिएको छ ।)