कला-साहित्य

सपना र सत्य म

साङ्केन वान्तावा

भारिकाभारी सल्लाको पतकर बोकेर
शेल्मेको गोठमा चौरी पालेर बस्ने मान्छे
घङ्गरु र चुत्रोको घारि फाडेर
खोरिया खरबारिमा रमाइ बस्ने मान्छे

अचानक एकदिन, बहुरङ्गी सपना सजिएर
आँखामा खै के के चाहना पलाएर मनमा
खोरियाको आलु नखनि
भस्मेमा कोदो नरोपी
काफलको बोट र बुकीफूललाई
लत्याइ राखेर फेङ्माचुली मुलडाँडालाई समेत
नाघेर आईपुगे राजाधानी !

देखिरहेछु  राजाधानी छातीमा
थोत्रा सिलवरको बटुको फिजाइएको छन्
जहाँ लडिरहेकाछन् हजारौ भोका पेटहरु
नजिकै भजन गाउदैछन्
आँफैले देवताको डमी बनाएर
उसैसित तर्सिरहेका भक्तजनहरु रोइरहेछिन
बर्सेनी दर्जनौ आयोजना हुने सुन्दरी प्रतियोगितामा
शरिरको लम्बाइ चौडाइ नापेर
कथित बिजेता घोषणा पश्चात
उधरो क्राउन शिरमा सजाइ
पुनस् गुमनाम भएकी एक सुन्दरी,
कोही बनिरहेछन्  यहाँ - महात्मा साँधु !
कसैलाई बोलाईन्छन् यहाँ - नगर बधु !

सपनाकै पासोमा जिन्दगी झुन्ड्याइरहेछन
स्वप्निल आँखाधारिहरु राजाधानी भित्र !
खै म के बन्न आए यहाँ बिर्सिए
रहर र सारा सपनाहरु सम्झिरहेछु ,
केवल आफ्नो गाउँ उता मेरो अनुपस्थितिमा,
शेल्मे सुसाउदै होला, खोरिया उजाड होला
 फेङ्माचुली मुलडाँडा बाटो हेर्दै होला
अब त बहुरङ्गी सपनाहरु कुल्चेर
फर्किन्छु गाउँ, बाच्नु छ गाउँकै माटोमा
 देख्नु छ गाउँकै सपना !!!

हाल: काठमाडौ