कला-साहित्य

कविता चोइटिएको घाम

- सितलपाटी–६, संखुवासभा
   हालः न्यूयोर्क


संसारकै मान्छेहरूको भीडले
खचाखच यो शहर...
कयौं पटक, हजारौं प्रहर
आफूले आफैलाई हराएँ यहिनेर
तर  हराउन सकिएन
दुःखले बाँच्नुको बाध्यता

जिन्दगीका तिता मीठा पलहरूको फेहरिस्ता टेक्दै
किरिङ मिरिङ भाग्य रेखाहरूलाई मिलाउन खोज्दै
‘अर्थ’को हजारौं बाटोहरूले गिजोली रहनुको
अर्को नाम  रहेछ सायद, ‘जिन्दगी’

हर प्रहर दुःखै दुःखको बाँसुरी बजी रहने
बिडम्बनाको देशबाट खुट्टा उचालेर
परदेश  आई पुगेको  ‘यायावर’
अलपत्र बाँच्नुको कहाली लाग्दो भीरमा
आशाको रातो गुराँस फक्री रहन्छ

हाँस्दैन कहिल्यै इन्द्रेणी पहाड
जन्मिरहन्छ, उदासी बिहान
सायद,
अभागीलाई त समयले पनि,
चोइटिएको घाम पठाउँदो रहेछ क्यारे ।