विचार

धोती र टोपीबीच अभूतपूर्व एकताको सन्देश

मधेशी मोर्चाको पहिलो चरणको राजमार्ग र नाका केन्द्रित आन्दोलनको विश्राम पछि मधेशी मोर्चासहित आदिवासी जनजाति समुदायलगायतका २९ दलीय सहभागिता रहेको संघीय गठबन्धनले जेठ २ गतेदेखि शुरु गरेको सिंहदरबार र बालुवाटार घेराउ विरोध कार्यक्रमले देशमा एउटा अभुतपूर्व एकताको सन्देश दिन सफल भएको छ । शासकले मधेशी र आदिवासी जनजातिबीच दूरी बढाएर लामो समयदेखि खेल्न सफल भए पनि पच्छिलो समय यो देशको ७० प्रतिशतभन्दा बढी जनसंख्या ओग्ट्ने मधेशी र जनजातिको अभूतपूर्व एकताले राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा नै एउटा ऐतिहासिक एकता र राष्ट्र निर्माणको संकेत गरेको छ ।
मधेशी र आदिवासी जनजातिबीच धेरै समान विषयहरु छन, जसले यस पटक यि दुवै समुदायका व्यक्तिहरुलाई एक ठाँउमा आउन बाध्य बनाए । विगतमा इतिहास छ, राज्य सत्तामा बसेर शासन गर्नेहरुले जहिले पनि मधेशीविरुद्व आदिवासी जनजाति र आदिवासी जनजातिबिरुद्ध मधेशीलाई विभिन्न बहानामा लडाएर आफ्नो दुनो सोझो गरेका थिए । यस पटक पनि शासकहरुले यि दुई समुदायबीच एकता हुनै नसक्ने अड्कल नकाटेको होइन, तर ठीक विपरित सबैलाई आश्चर्य चकित पार्दै मधेशी र जनजातिबीच एकता भयो, यो एकता दुई समुदायबीचको एकता मात्र थिएन, धोतीविरुद्ध टोपी र टोपीविरुद्ध धोतीको जुन धृणा युक्त सदियौंदेखिको युद्ध थियो, यो अभुतपूर्व एकताले त्यसलाई गलत साबित गर्दै मधेशी र जनजाति समुदाय यो देशको सबैभन्दा ठूलो राष्ट्रबादी भएको प्रमाणितसमेत गर्न सफल भएका छन् । संख्यात्मक रुपमा गठबन्धनको कार्यक्रम सांकेतिक मात्र थियो, तर यसले दिएको सन्देश लाखौं जनता सडकमा उराउनुभन्दा सयौं गुणा बढी सशक्त र ओजिलो थियो । यसको ओजले हिजोको दिनमा ओली सरकारले आन्दोलनकारीमाथि राष्ट्रघाती र विदेशीको इशारामा चलेको आन्दोलनको आरोप त लगाउन पाएनन नै, प्रहरी प्रशासन लगाएर दमन गर्न पनि सकेनन् । काठमाडौं केन्द्रित आन्दोलनप्रति साँचिच्कै सबै अन्तराष्ट्रिय निकाय तथा आमसर्वसाधारण पनि निकै गम्भीरतापूर्वक नियालेका थिए, हिजोको दिनमा मधेशी मोर्चाको आन्दोलनलाई अराष्ट्रवादीको बिल्ला भिडाएर दमन गर्न सफल भएका सरकार गठबन्धनको शान्तिपूर्ण धर्ना र जुलुसले उल्टै आलोचनको सिकार हँुदै सरकारमाथि सयौं प्रश्नहरु खडा गर्ने अवस्था सृजना भयो  
हिजोको दिनमा नाका केन्द्रित आन्दोलन हुँदा सामाजिक सन्जालमा ठूलाठूला राष्ट्रियताका कुरा गर्नेहरु र तथाकथित नागरिक समाजको अनुहार पनि उदांगो भयो, नाका केन्द्रित आन्दोलनको ताका मधेशी मोर्चाका नेतालाई काठमाडौं केन्द्रित आन्दोलन गर्न सल्लाह दिँदैं त्यसो गरेको खण्डमा काठमाडौंवासीले पनि मधेशी मोर्चाको जायज मागलाई पूर्ण रुपमा समर्थन गर्ने हावादारी आश्वासन दिएकाहरु एकाएक काठमाडौं केन्द्रित आन्दोलन शुरु भएपछि गुप्तबासभित्र पसेका छन् ।
हिजोका दिनमा मधेशी मोर्चाले आन्दोलनका नामा अपनाएका तरिकाहरु गलत भएका होलान तर आज मधेशी र जनजातिको सहकार्यले यो आन्दोलनको औचित्य पुष्टि गर्न सफल भएका छन्, केहि सीमित दलको निजी स्वार्थमा आएको नेपालको नयाँ संविधानमा त्रुटी छन्, त्यसलाई सम्बोधन गरेन भने यो देश एउटा नयाँ द्वन्दमा फस्ने प्रायः निश्चित छन् ।
अहिले गठबन्धनमा आबद्ध दलहरुले काठमाडौंका विभिन्न ठाँउहरुमा विरोधका शान्तिपूर्ण कार्यक्रमहरु गर्दै आफना मागहरु बारे जनतालाई सुसूचित गराई रहेका छन् । विस्तारै विस्तारै आन्दोलनप्रति जनताको सहभागिता पनि बढ्दै गएका छन् । मधेशको राजमार्ग र नाका हुँदै काठमाडौंको सिंहदरबार पुगेको यो आन्दोलनलाई अब पनि तार्किक निष्कर्षमा पु¥याउन सकिएन र यो अवसरलाई सरकार सन्चालन गरी रहेका दलहरुले सार्थकतामा परिणत गरी समस्या समाधान गर्न सकेनन भने यो आन्दोलन भोलिको दिनमा भयावह हुने संकेतहरु नागरिक समाजका अगुवा, आमसर्वसाधारण तथा चियापसलमा जताततै चिन्ता व्यक्त गरेको देखिन्छ ।
जब जनतालाई शान्तिपूर्ण आन्दोलनप्रति र आफ्नै देशको शासन व्यवस्थाप्रति अविश्वास उत्पन्न हुन्छ, राज्यको अपनत्व र मातृत्वको आभाष पाउँदैन त्यति बेला देशको अवस्था कस्तो हुने हो आँक्लन गर्न सकिदैंन ।
राज्य र सरकारले अब पनि कुनै पनि बहानामा पुनः यो आन्दोलनलाई नाकामा पुग्न दिनु हुँदैन, तत्काल सरकारमा रहेका दलहरुले समस्या समाधानका विभिन्न उपायहरु खोज्न तिर लाग्नु पर्दछ र सबैलाई न्युनतम चिक्त बुझाएर देशको समस्यालाई हल गर्नु टड्कारो देखिन्छ ।
काठमाडौं केन्द्रित आन्दोलन केबल यो अधिकार प्राप्तिको आन्दोलनको संकेत थिएन, यो समाजिक, राजनीतिक तथा साँस्कृतिक आन्दोलनको झलक थियो । मिथिलाञ्चलका चर्चित गायक तथा दन्त चिकित्सक डा. आभाष लाभको प्यारोडी एउटा गीतले त साँच्चिकै मधेशीको पीडालाई सजिलै बुझ्ने शैलीमा सर्बत्र चर्चा पायो, गायक लाभसँग पंक्तिकारले सोधे, आभाष जी, यो गीत किन ? उनले उत्तर दिए, धोती कुर्ता र गम्छा लाएको छ भन्दैमा मर्सया र धोती भन्न कहाँ पाइन्छ, म त नेपालको छोरा मलाई म जस्तै माया चाहिन्छ, ।
उत्ता, आदिवासी जनजातिले दोहोरी गीतको तालमा छमछमी धोती र कुर्ता लगाएका मधेशीसँग हातमा हात, काँधमा काँध मिलाएर नाँच्दै गाउँदै आफ्नो अधिकारको लागि सडकमा बिना थकान देखाएको आफ्नोपनले सर्लाहीकोभित्री भागबाट आन्दोलनमा स्वतः स्फुर्तरुपमा हातमा नेपाली झण्डा बोक्दै, यो देश आफ्नो भएको र यो देशको एक इन्च माटो यता उता हुन नदिने चेतावनीको शैलीमा नेपाली हुनुमा गर्व गरेको देख्दा साँचिच्कै यो देशको राष्ट्रियताको ठेकेदार ठान्नेहरु जनतालाई भिडाएर आफनो दुनो सोझो गरेको बुझ्न जो कोहीले पनि सजिलै बुझ्न सकिन्छ । परिवर्तनको पक्षमा आफ्नो कलम चलाउँदै आउनु भएका चर्चित स्तम्भकार खग्रेन्द्र संग्रौला आन्दोलनकारीको मागप्रति समर्थन जनाउँदै लेखेका छन् “हिजो राष्ट्रवादी भन्थे–नाका बन्दगर्ने, दुख दिने ? आज भन्छन् –सिंहदरबार घेर्ने ? अन्यायमा परेकाले अब वायुमण्डल छेक्नमात्र बाँकी रह्यो। हैट्, मान्यवर !”
गठबन्धनको काठमाडौं केन्द्रित हुँदै गर्दा मधेश जानकार तुला नारायण साह पनि संग्रौलाको भनाईमा थप्दै लेख्नु हुन्छ, “कहिले बदलिन्छ काठमाडौं ? कुनै बेला एउटा ली बोकेको प्रहरी देखेर आफ्नै गाउँघरमा डराउने मधेसीका सन्तानहरू आज सिंहदरवार र बालुवाटारमा बन्दुक बोकेका प्रहरीहरूसँग झडप गर्ने हिम्मत जुटाएका छन् । मधेस बदलिँदै गरेको प्रमाण हो यो । मधेसीहरूको मनोविज्ञान बदलिएको छ । अब बदलिने पालो काठमाडौंको हो । हेरौँ कहिले बदलिन्छ काठमाडौं ?”

समस्या समाधान कसरी हुन्छ भने सवालमा साह अगाडि थप्नु हुन्छ, “देशलाई थप द्वन्दबाट जोगाउने हो भने, नयाँ संविधानलाई कार्यान्वयन गराउने हो भने, समृद्धि र विकासको राजनीतिलाई अगाडि बढाउने हो भने, मधेसमा पृथकतावादी धारलाई निस्तेज पार्ने हो भने मधेसी र जनजातिको मागलाई सम्बोधनका लागि अहिलेको संविधानको पुनर्लेखन वा व्यापक संशोधन नगरी सुखै छैन । हामी कामना गरौँ, ढिलो नहुँदै एमाले, कांग्रेस र एमाओवादीका नेताले परिस्थितिको गम्भीरता बुझून् । ”
अधिकारकर्मी तथा अधिवक्ता दिपेन्द्र झा पनि मधेशी र जनजातिको आन्दोलनबाट उत्साहित हुँदै आफ्नो सामाजिक सन्जालमा लेखे “जाग सिंहदरवार जाग ढिलो हुन थाल्यो । धोती र टोपी मिलेर आज गरेको सिंहदरवार घेराउ आन्दोलनले नेपालको पुरानो एकल जातीय राष्ट्रियताको परिभाषा फेर्न बाटो खोलेको छ । मधेशको अधिकारको आन्दोलन विखण्डनवादीको आन्दोलन हो भने आरोपलाई निराधार प्रमाणित गरेको छ । कसैले उचालेको आन्दोलन होइन, आफ्नो हकअधिकारका लागि सडकमा आएका हुन् । सिंहदरबार कुम्भकर्णको निद्राबाट तत्काल जाग । धेरै ढिलो नगर, जनता सडकमा आएका छन् । संख्या थोरै वा धेरै छ भनेर गिन्ति गर्ने बेला होइन । यस्तो आन्दोलनमा संख्याभन्दा पनि दिन खोजेको सन्देश महत्वपूर्ण हुन्छ । यसकारण मुठिभर आन्दोलनकारी भनी बेवास्ता नगर । तत्काल वार्ताका लागि विश्वासिलो आधार बनाउ । हुनलाई दिनको सुरुवातमा प्रहरी र आन्दोलनकारीबीच केही समय झडपसमेत भएको थियो । तर पछि दुवै पक्षले शहनसीलता अपनाएकै हुन् । मानवअधिकारवादीहरुको पनि बाक्लै अनुगमनले आन्दोलनमा दुवै पक्षलाई सहनशील बनाउन मदत गरेको छ ।”
मधेशी र जनजातीको एकताले यो देशको राष्ट्रियता बलियो बनाउने कुरामा दुई मत हुन सक्दैन । यो दुवै समुदाय नेपालको सबैभन्दा ठुला राष्ट्रवादी हुन, त्यसका लागि उनीहरुले तथकाथित जनताको रगत चुस्ने एकल जातीय राज्य सत्तालाई निरन्तरता दिने सगोत्रीहरु भन्दा कैयन हिसाबले यो देशको आदिमकालदेखि कुनै नदिनाला बेचेर होइन, कुनै व्यक्तिगत स्वार्थमा लिप्त भएर पनि होइन, प्रधानमन्त्री कुर्सीको लागि पनि होइन, केवल नेपालको चन्द्र सूर्य झण्डा विश्वको इतिहासमा फहराइ राख्न आफ्नो ज्यानका आहुति पनि दिएका छन् । दक्षिणी सीमा नाकामा दिनप्रति दिन बर्दी र बन्दुकबिना सीमानाकाको एक इच्च जग्गा सार्न नदिने मधेशी जनतालाई अराष्ट्रवादी भन्नु केवल झुठो आरोप बाहेक केही हुन सक्दैन ।
अब ओलीलगायतका सगोत्रीहरुले आफू मात्रै यो देशको सबैभन्दा ठूलो राष्ट्रवादी भएको स्वाङ पार्नुको कुनै तुक छैन । तत्कालिन अवस्थामा जेलनेल गएकै कारणले राष्ट्रवादी हुने होइन । राष्ट्रवादी हुनलाई कसैलाई सकैलाई प्रमाणपत्र र परीक्षा दिई रहनु पर्ने पनि होइन तसर्थ एक र अर्कामाथि हिलो छ्याप्ने काम आजैदेखि बन्द गरी समस्या समाधानको दिशा तर्फ जानु बुद्धिमानी हुनेछ ।