कला-साहित्य

नविन कला मन्दिरको हिरक जयन्ति

श्रष्टासँगै पत्रकारलाई सम्मान
काठमाडौं । नवीन कला मन्दिरले आफ्नो  ६० औं वार्षिकोत्सव तथा हिरक जयन्तिका अवसरमा नेपाली संगीत क्षेत्रका श्रष्टा तथा पत्रकारलाई सम्मान गर्दै भव्य रुपमा मनाएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा विशेष कार्यक्रमको आयोजना गरी हिरक जयन्ति मनाएको हो ।

नविन कला मन्दिरले लामो समयदेखि नेपाली कला संगीतको उत्थान र जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विभिन्न आरोह–अवारोह पार गर्दै कला मन्दिरले नेपाली मौलिक पहिचान, लोक संस्कृृतिलाई जीवन्तता दिने कार्य गर्दै आएको छ । विगतमा जस्तै नेपाली लोक स्रष्टाहरुलाई हिरक महोत्सवको अवसरमा सम्मान गरिएको कला मन्दिरका अध्यक्ष निर्मल कुमार रिमालले बताए । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले प्रमुख आतिथ्यमा पानसमा वत्ति बालेर  शुरु भएको कार्यक्रममा विशिष्ट अतिथि बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा रहेका थिए । कार्यक्रममा प्रमुख अथितको हातबाट नेपाली गीत संगीत र कला क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका श्रष्टाहरुलाई नगद पुरस्कारसहित ताम्रपत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

सम्मानित हुने श्रष्टाहरुमा बरिष्ठ नृत्य निर्देशक भैरव थापा, संगीत, नाट्य तथा रंगकर्मी नाट्यकार प्रचण्ड मल्ल, लोक गायिका तथा गीत संकलक चन्द्रकला शाह, बरिष्ठ वाद्यवाधक प्रेमदेव गिरी, युवा संगीतकार विवी अनुरागी, प्राज्ञ पवित्रा घर्तिमगर, फिल्म निर्देशक नारायण रायमाझी, लोक गायक बमबहादुर कार्की लगायत श्रष्टाहरु सम्मानित भएका थिए ।

कार्यक्रममा श्रष्टासँगै पत्रकारहरुलाई पनि प्रसंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । नेपाली कला, गीत संगीत र साहित्यलाई दर्शकमा पु¥याउन उनीहरुले निभाएको भूमिकाको कदर गर्दै पत्रकारहरुलाई संस्थाका अध्यक्ष रिमाल लगायत विशिष्ट सांगीतिक संष्टाहरुले प्रशंसा पत्रसहित सम्मान गरेका थिए । सम्मानित हुने पत्रकारहरुमा सगरमाथा टेलिभिजनका पत्रकार कर्णराज पाण्डे, क्यामेरा पर्सन प्रशान्त प्रधान, नेपाल टेलिभिनका पत्रकार सुदर्शन आचार्य, पत्रकार तथा निर्देशक प्रकाश बराइली, कान्तिपुर टेलिभिन, रेडियो थाहा संचार लगायत विभिन्न सञ्चार माध्याममा आवद्ध पत्रकार सम्मानित भएका थिए ।
सम्मान कार्यक्रमपछि विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुसँगै दर्शकहरुले खचाखच भरिएको नाच घरको हल संगीत मय बनेको थियो ।

स्वागत गीतबाट शुरु भएको सांगीतिक माहोलमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो । कलाकारहरुले राष्ट्रिय भावनाले ओतप्रोत गीत गाए, नाचे र दर्शकको ध्यान आफूतिर खिच्न सफल बने । मनोरञ्जनको प्रमुख आकर्षकको केन्द्र मयुर नाच बनेको थियो । मयुर नाच देखाउँदा संगै चौरी गाईलाई गोठालोले बनमा चराउँदै गरेको जीवन्त अभिनयले सुनमा सुगन्ध थपेको थियो । त्यस्तै, लोक गायक बमबहादुर कार्कीले आफ्नो निकै नै पुरानो तथा चर्चित लोकगीत ‘भेटै नहुने खोला पारी निर्माया वारी म रुने’ बोलको गीत गाउँदा दर्शकको तालीले हल पुरै गुन्जयमान बनेको थियो । कार्यक्रमा लोक गीत, आधुनिक गीत र  हास्य व्यंग्यका प्रहसन हेर्दाहेर्दै दर्शकलाई करीब चार घण्टाको समय वितेका पत्तै नभएको माहोल सिर्जना भएको थियो ।