काठमाडौं । जन्मदा बालक भएर जन्मे पनि समयसँगै बालिकाको स्वभाव लिएर हुर्किएकी गरिमा (न्वानरनको नाम गौरव) को कथा हो यो । पुरुष ज्ञानेन्द्रिययुक्त शरीर भए पनि स्वभाव तथा प्रकृति स्त्रीको छ । तर, समाजले उनको यो नियति बुझ्न सक्दैन । राम्रो दृष्टिकोणमा हेरिँदैन उनलाई । स्कुलमा समेत स्वतन्त्र रूपमा पढ्न पाउने वातावरण मिल्दैन । आफ्नै काका समेत दुश्मन भएर उभिन्छन् । उनले कहिले पिट्छन् त कहिले मानसिक यातना दिन्छन् । उनलाई मन पराउने दिपक पनि एकाएक टाढिन्छन् ।
चरम मानसिक र शारीरिक यातना भोगेकी गरिमाले पटक पटक आत्महत्याको प्रयास गर्छिन् । तर, आमाको न्यानो मायाले उनलाई मर्नबाट जोगाउँछ । उनको समस्यालाई नजिकबाट बुझ्ने आमा बाहेक कोही हुँदैन । आमाले पनि कुनै उपायबाट छोरीको जड समस्या समाधान गर्न सक्दिनन् । परिवारका अन्य सदस्यहरूले समेत मनोविज्ञान बुझेर समाधान गर्न सक्दैनन् । उल्टै विवाह गरिदिएर ढुक्क हुन चाहन्छन् । पारिवारिक दबाबले उनले विवाह गर्छिन् । तर, समाजलाई छोप्न खोजे पनि प्रकृतिलाई ढाँट्न सक्दिनन् गरिमाले । श्रीमतीलाई भावनात्मक रूपमा माया गर्छिन् तर शरीरले भरपुर साथ दिन सक्दिनन् । यो थप पीडा बनिदिन्छ जीवनमा ।
बाँच्ने क्रममा हिम्मत जुटाउँदै जान्छिन् । आफूजस्तै साथीभाइको संगतले जीवनमा सङ्घर्ष गर्ने साहस जुटाउँछिन् । आफ्नो स्वभावअनुसार (महिला बनेर) जीवनयापन गर्दै जाँदा मन केही शान्त हुन्छ तर बेला बेलामा समाज, परिवारबाट पाउने हेलाअपमानले उनको मन चिरिन्छ ।
मानव समाजमा विविधिता छ । विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, परम्परामा भिन्नता छ । मानिसका जीवन जिउने तरिकाहरु पनि फरकफरक छन् । यसलाई स्वभाविक पनि मान्नुपर्छ । तर यही समाजका अल्प संख्यक मानिसलाई बहुसङ्ख्यकले ओझेलमा पारेको स्थिति छ । तिनीहरुको स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारलाई बेवास्ता गरिएको स्थिति छ । तिनै ओझेलमा पारिएका अल्प संख्यकमध्ये तेस्रो लिङ्गी पनि एउटा समुदाय हो, जो नारकीय जीवन जिउन बाध्य छ । राज्यबाट कानुनमा केही अधिकारहरु सुनिश्चित गरिए पनि व्यवहारिक जीवनमा केही परिवर्तन पाइँदैन । समाजले पनि उनीहरुको अस्तित्वमाथि औँला ठड्याइरहेको स्थिति छ । जन्म दिएका बुबाआमाबाट समेत उनीहरु अपहेलित हुनु परेको स्थिति छ । यही कारणले उनीहरु मानसिक रुपमा विक्षिप्त छन् । उनीहरुलाई राज्यले उचित संरक्षण गर्न सकेको छैन । रोजगारीको पहुँचमा उनीहरु पुग्न सकेका छैनन् । समाजले वास्तविक कुरा बुझ्न सकेको छैन । विस्तारै विस्तारै यी अल्प समुदायका सदस्यहरु संगठित हुँदै छन् । त्यो पनि सहरबाजारमा मात्रै । पर्याप्त छैन । दूरदराजका कतिपय सदस्यहरु पीडित छन् । आफ्नो पीडा न पचाउन सक्छन् त कसैलाई सुनाएर मन हलुका पार्न सक्छन् । अभिभावकहरु प्नि हिनताबोधमा बाँचिरहेको स्थिति देख्न सकिन्छ । यो सबै अनविज्ञताको कारणले यस्तो भएको हो । चेतनाको कारणले यस्तो समस्या आएको हो । यही कथावस्तु बोकेको छ जिउँदो आकाश नाटकले । जिउँदो आकाश शीर्षकको यो नाटकले यौनिक अल्प संख्यकमा रहेका तमाम व्यक्तिहरुको कथा पस्केको छ ।
दोलखाको चरीकोटमा जेठ २६ देखि ३० सम्म सञ्चालित राष्ट्रिय नाटक महोत्सवको अवसरमा सहभागी विराट मैथिल नाट्यकला परिषद्को प्रस्तुति जिउँदो आकाश शीर्षकको नाटक दर्शकले अत्यन्त मन पराए । नाटककार मदनदास श्रेष्ठ र रमेशरञ्जन झाले भने, “जिउँदो आकाश नाटकले नयाँ विषयवस्तुको उठान गरेको छ । यौनिक अल्प सङ्ख्यकको समास्यालाई नयाँ ढङ्गबाट व्याख्या गरेको छ” । उक्त सोलो पफर्मेन्सका कलाकार तथा निर्देशक रोशनकुमार मेहताले नाटकमाथि न्याय गरेका छन् । यस नाटकमा सरल भाषाशैलीमा गहन विचार सम्पे्रषण गरिएको छ । यसका नाटककार चन्द्रप्रसाद पाण्डेय हुन् ।
Comments