चलचित्र

सलमान खान जेल चलान

काठमाडौं, २३ चैत । सन् १९९८ मा कालो हरिणको शिकार गरेको मुद्दामा भारतको जोधपुर अदालतले सुनुवाई गर्दै बलिउड  नायक सलमान खानलाई ५ वर्ष जेल सजाय सुनाएको छ ।

सलमानलाई दोषी ठह¥याउँदै अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो । यही काण्डमा मुछिएका बलिउडका अन्य कलाकार सैफअलि खान, तब्बु, सोनाली बेन्द्रे, र निलम भने निर्दोष ठहर भएका छन् । यही मुद्दामा परेका स्थानीय व्यवसायी दुश्यन्त सिंह पनि निर्दोष ठहरिएका छन् । २० वर्ष लामो घटनामा फैसला सुनाउँदै चिफ जुडिसियल म्यजिस्ट्रेट देव कुमार खत्रीले ह्याविच्यूअल अफेन्डर (अभ्यासका क्रममा अपराध) भएको बताए ।

सलमानमाथि वन्यजन्तु संरक्षण ऐनमा मुद्दा परेको थियो । फिल्म ‘हम साथ साथ है’ सुटिङका क्रममा सलमान खानले हरिणको शिकार गरेका थिए । सलमानलाई अदालतले ५ वर्ष जेल र १० हजार भारतीय रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । सजाय सुनाए लगत्तै सलमानलाई प्रहरीले हिरासतमा लिएको छ । 

सलमान खान दोषी ठहरिए सँगै अडकल काट्न थालिएको छ कि अब उनको प्रोफेशनल प्रोजेक्ट रोकिन सक्छ । साथै, करोडौं रुपैयाँ फस्न सक्छ । तर, अझै बेलका लागि सलमानसँग माथिल्लो अदालत जाने विकल्प पनि रहेको छ । सलमान अहिले धेरै प्रोजेक्टसँग जोडिएका छन् भने केहीमा जोडिने सम्भावना छ । अदालतको फैसलाले सलमानलाई व्यावसायिक नोक्सान हुने छैन तर उनको छबिमा भने धक्का पुग्ने निश्चित छ ।
सलमान खानलाई जोधपुर सेन्ट्रल जेल लगिएको छ । जोधपुर स्पेशल कोर्टको बाहिर सुरक्षा ब्यवस्था कडा बनाइएको छ । सलमानलाई तीन वर्षको सजाय सुनाइएको भए मुख्य न्यायिक दण्डाधिकारीको अदालतबाट जमानत मिल्न सक्थ्यो र दोषी सावित र सजाय सुनाए पनि उनी घर जान सक्थे । 

तर, सीजेएम देव कुमार खत्रीले सलमानलाई पाँच वर्षको जेल सजाय सुनाएपछि उनलाई हिरासतमा लगिएको हो । वन अधिकारी ललित बोराले यस मुद्दामा जोधपुरको लूणी पुलिस थानामा १५ अक्टोबर, १९९८ मा सलमान खानको विरुद्धमा एफआईआर दर्ता गराएका थिए । एफआईआरका अनुसार, सलमान खानले १२ अक्टोबर, १९९८ मा दुई कालो हरिणको शिकार गरेका थिए ।