चलचित्र

रियल जोडी चलचित्रमा पनि सँगै

काठमाडौं, १२ चैत । यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’ टिम फेरि नयाँ फिल्म निर्माणमा जुटेको छ । ‘डामाडोल’ नाम राखिएको फिल्ममा ‘दुई रुपैयाँ’ कै प्रमुख कलाकार दोहोरिने भएका छन् । अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेता आशिफ शाह लिड रोलमा रहने कन्फर्म भइसकेको छ । 

नायिका छनौट हुन बाँकी रहेको खबर बाहिरिरहँदा फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का अनुवन्धित भएको खबर स्रोतले दिएको छ । हालसालै चलचित्र विकास बोर्डमा नाम दर्ता गराउने क्रममा निर्माण टिमले निश्चल र स्वस्तिमाको नाम प्रमुख कलाकारको रुपमा लेखाएको छ । यो जोडी रियल लाइफमा श्रीमान् श्रीमति हुन् । ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीतमा स्वस्तिमाले नृत्य गरेकी थिइन् जुन अहिले युट्युबमा ५ करोडभन्दा बढी पटक हेरिएको छ । 
चलचित्रका निर्देशक असिम शाहले भने ‘विकास बोर्डमा एक जना नायिकाको नाम राख्नु पर्ने भएका कारण स्वस्तिमाको राखेका हौं । तर अहिले त्यो फाइनल भने भइसकेको छैन ।’ फिल्मको यतिबेला स्क्रिप्टको काम भइरहेको र बैशाख १५ बाट चलचित्र टोली छायांकन जाने भएको बताइएको छ । जी ट्वान्टी वान पिक्चर्स र ब्ल्याक हर्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘डामाडोल’ लाई असिमले नै निर्देशन गर्नेछन् ।