चलचित्र

नेपाल अगावै जापानमा ‘लिलिबिली’

काठमाडौं, २३ चैत । नेपाली चलचित्र ‘लिलिबिली’को वल्र्ड प्रिमियर जापानबाट शुरु भएको छ । जापानको राजधानी टोकियोस्थित नकानो जिरो हलमा भएको रेड कार्पेट प्रिमियरमा मुख्य कलाकार एवं निर्माण युनिटको उपस्थिति रहेको थियो ।
चैत ३० गते नेपाल रिलिज हुने फिल्मको प्रिमियरमा अभिनेता प्रदिप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाहीले दर्शकसँग बसेर फिल्म हेरेका हुन् । प्रिमियरलाई डेस्टिनी क्रियसन जापानले आयोजना गरेको हो । निर्माता शाहीले जापानको दर्शक प्रतिक्रियाले उत्साहित बनाएको बताए । ‘हामीले दर्शकको आशालाई निराशामा परिणत गरेनौं जस्तो लाग्छ । हामीले मिहिनेत गरेर राम्रो सिनेमा बनाएको थियौं। जसको नतिजा सुखद हुन्छ ।’ मिलन चाम्स निर्देशित फिल्ममा प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठको पनि अभिनय रहेको छ ।
त्यसो त नेपाल प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई तीव्र बनाएको छ । केही दिन अघि मात्र निर्माण पक्षले चलचित्रको मोफसल यात्रा सकाएर राजधानी फर्किएको हो । अहिले चलचित्रको प्रचारका लागि मोफसलमा कन्सर्ट गर्ने लहर नै चलेको छ । यस्ता खालका प्रचारले चलचित्रलाई फाइदा पनि पुगेको छ । दर्शकसँग कलाकार प्रत्यक्ष जोडिने भएकाले पनि हलमा दर्शक आउने अपेक्षा गरिन्छ । यस्ता टुर गरिएका चलचित्र हेर्न दर्शक हलमा आउने गरेका छन् । यसले चलचित्र निर्मातालाई प्रत्यक्ष फाइदा पनि पुगेको छ । पछिल्लो समय कन्सर्र्ट ट्रेण्ड चलचित्रको प्रचारको उपयुक्त माध्यम बनेको पनि छ । 
चितवनबाट सुरु भएको कन्सर्ट पूर्वका विभिन्न शहरमा पुगेर सकिएको हो । चितवन, दमक, धरान, विर्तामोडमा गरिएको कन्सर्टमा दर्शकको उपस्थिति बाक्लो रहेको थियो । यूवापुस्तामा राम्रो फ्यान बटुल्न सफल चलचित्रका मुख्य नायक प्रदिप खड्कालाई हेर्न दर्शकको भीड लाग्यो । यो टुरमा प्रदिपको साथमा नायिका जसिता गुरुङ, निर्देशक मिलन चाम्स, निर्माता सुदिप खड्का, नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल सहभागी भएका थिए ।
मोफसलको प्रचार सफल भएको भन्दै अब काठमाण्डौबाट नै प्रचारलाई पनि निर्माण पक्षले आक्रामक बनाएको छ । चलचित्रमा प्रदिप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । गोविन्द शाही, सुदिप खड्का, मिलन चाम्सले मिलेर बनाएको चलचित्रमा अर्जुन जीसीको सम्पादन, चन्द्र पन्तको एक्सन, सुदिप बरालको छायांकन छ । चलचित्रको छायांकन नेपालसँगै बेलायत र स्कटल्याण्डमा गरिएको हो ।