राजनीति

राजनीतिक परामर्शमा जुटे प्रधानमन्त्री

काठमाडाैं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ वटै प्रदेशका मुख्य मन्त्रीलाई राजनीति परामर्शका लागि बोलाएका छन् । संवैधानिक व्यवस्थाअनुसार ७ वटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्न लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेदेखि हुने छलफलमा एक प्रदेशबाट मुख्यमन्त्रीसहित ३ जनालाई बोलाएका छन् । ७ वटै प्रदेशका गरी २१ जनालाई बोलाइएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
मुख्यमन्त्रीसँगै प्रदेश सचिव र मुख्य न्यायाधीवक्तालाई पनि आमन्त्रण गरिएको छ ।  एउटै किसिमको कार्यशैली र शासकीय व्यवस्था कायम गर्न मुख्यमन्त्रीहरुसँग परामर्श गर्न लागएको राजनीतिक सल्लाहकार रिमालले  बताए । 
“प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्रीहरुसँग परामर्श गर्ने संवैधानिक व्यवस्था छ, सोही व्यवस्थाअनुसार प्रधानमन्त्रीले छलफल गर्न लाग्नुभएको हो, तर यो पहिलो भेट हो,” रिमालले भने ।
संविधानको धारा २३२ (२) मा ‘नेपाल सरकारले राष्ट्रिय महत्वका विषयमा र प्रदेशहरुबीच समन्वय गर्नुपर्ने विषयमा प्रदेश मन्त्रीपरिषदलाई संविधान र संघीय कानून बमोजिम आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित प्रदेश मन्त्रिपरिषदको कर्तव्य हुनेछ,’ भन्ने व्यवस्था रहेको छ ।