राजनीति

टुँडिखेलमा मोदीलाई गार्ड अफ अनर

काठमाडाैं, २८ बैशाख । नेपालको दुईदिने धार्मिक भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेसँगै राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् । भारतबाट एयर इन्डियाको विशेष विमानमार्फत जनकपुर आइपुगेका मोदी केहीबेर दिउँसाे काठमाडाैं अाएका हुन् । 

जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । काठमाडाैंमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए । काठमाडाैं अाएपछि माेदीलार्इ सरकारले गार्ड अफ अनरद्वारा सम्मान व्यक्त गरेकाे छ । त्यसपछि मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्रता गरेका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् ।

बेलुका उनले बत्तिसपुतलीमा रहेको होटल द्वारिकामा प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्दैछन् । अरुण तेस्रोको शिलन्यास पनि गर्ने तयारी छ । प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले स्वीच थिचेर यसको शिलन्यास गर्ने तयारी छ । यसअघि जनकपुरमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध त्रेतायुगदेखिको भएको बताएका थिए ।

“अगष्ट २०१४ मा पहिलोपटक प्रधानमन्त्रीको रुपमा नेपाल आएको थिएँ,” मोदीले आफ्नो सम्बोधन सुरु गर्दै भनेका थिए, “संविधानसभामा पनि मैले भनेको थिएँ म जनकपुर आउँछु । तर आउन ढिला भएकोमा क्षमा माग्छु । भद्रकाली एकादशीका दिन मलाई सीतामाताले दर्शन दिनुभएको छ ।” उनले आफू राजा जनकको राजधानी सीताको पवित्र भूमिमा आउने पहिलेदेखिकै इच्छा रहेको बताए । जानकी मन्दिरमा दर्शन गरेर मनोकामना पूरा गरेर जिवनमा धन्य भएको समेत उनले बताए ।

हिन्दीमा सम्बोधन गरेका मोदीले नेपाली भाषामा भने, “मेरो यसपटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रुपमा र एउटा तिर्थ यात्रीको रुपमा रहनेछ ।” उनले नेपाल र भारतबीचको मित्रता आजको होइन त्रेता युगको भएको बताएका थिए ।

“राजा जनकले अयोध्या र जनकपुर होइन भारत र नेपालालई बन्धनमा बाँधेका छन्,” मोदीले सम्बोधनका क्रममा भने, “यो राम सीताको बन्धन हो । रामेश्वर देखि पशुपति र लुम्बिनीदेखि बोधगयाको बन्धन हो ।” उनले यही बन्धनले आफूलाई जनकपुर ल्याएको बताएका थिए ।