राजनीति

न्यायाधीशका सम्पत्ति सार्वजनिक गर्न कानुन ल्याइने

काठमाडाैं, ६ चैत । कानुनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशका आचरण शुद्ध राख्न उनीहरूले सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था ल्याइने घोषणा गरेका छन् । केही न्यायाधीशका आर्थिक आचरणका कारण समग्र न्यायालयप्रति अनास्था बढेको उल्लेख गर्दै मन्त्री तामाङले सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने गरी कानुन बनाइने बताए । आफूले न्यायालय सुधारको मुख्य काम यसैबाट सुरु गर्ने उद्घोषसमेत उनले गरे ।
‘न्यायाधीशहरूको आचरण कायम राख्न सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानुन बनाउनु मेरो प्राथमिकता हुनेछ,’ मन्त्री तामाङले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै भने, ‘आर्थिक रूपमा सबै पारदर्शी हुनुपर्छ, यसले समग्र न्यायालयकै गरिमा बढाउँछ ।’यो खबर आजको कान्तिपुर दैनिकमा छ ।