राजनीति

एकता टुङ्ग्याउन आज संयोजन समितिको बैठक बस्दै

काठमाडौं, २ फागुन ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच पार्टी एकतालाई अन्तिम रुप दिन बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ । ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच मंगलबार भएको भएको छलफलका यस्तो सहमति भएको हो ।
पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याउने र सरकार गठन अगावै एकीकृत पार्टीको खाका तयार पार्ने लक्ष्यका साथ दुई पार्टीका अध्यक्षले निरन्तर संवाद गर्दै आएका छन् । गएको असोज १७ गते पार्टी एकतासहित वामगठबन्धन गरेका दुई दल एमाले र माओवादीबिच पछिल्लो दिनमा एकताको पक्षमा ठोस प्रगति नभएपछि विभिन्न कोणबाट आशंका व्यक्त भएका थिए । सोमबार र मंगलबारको छलफलपछि एकताले मूर्त रुप लिएको नेताहरुले बताएका छन् ।
आगामी महाधिवेशनसम्म एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अंगीकार गरेको माओवाद र जनताको बहुदलीय जनवादमा रहेका समान धारणालाई एकीकृत गर्ने विषयमा समेत नेताहरुबिच सहमति भएको जनाइएको छ । यस्तै पार्टीका शीर्षनेताको विषयमा सहमति भएको छ भने स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा रहने नेताका सम्बन्धमा पार्टी एकता संयोजन समितिले कार्यदल बनाएर हल गर्ने विषयमा नेताहरुबिच सहमति भएको बताइएको छ । तर यी विषयमा शीर्ष नेताले सार्वजनिक रुपमा केही बताएका छैनन् ।

एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।