खेलकुद

ईपीएलको उपाधिका लागि विराटनगर र भैरहवा भिड्दै

काठमाडौं, १५ पुस । एभरेष्ट प्रिमियर लिग –ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ । उपाधिका लागि प्रतियोगिताको अपराजित टोली विराटनगर वारियर्स र दोस्रो स्थानमा रहको भैरहवा ग्लाडियटर्स आमने सामने हुँदैछन् । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल बिहान ११ बजेबाट शुरु हुनेछ । लिग सबै खेल जित्दै शीर्षस्थानमा विराटनगर थियो भने भैरहवामा दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । 
लिग चरणमा भैरहवालाई हराएको विराटनगरले पहिलो क्वालिफायर्समा पनि सोही टोलीलाई पराजित गरेको थियो । यद्यपी अन्तिम एलिमिनेटरमा ललितपुरलाई हराउँदै भैरहवाले पुनः विराटनगरसँगको फाइनल भेट पक्का गरेको थियो । लिग चरणमा विराटनगरसँग ३५ रनले पराजित भैरहवा पहिलो क्वालिफायर्समा ८ विकेटले हारेको थियो । यस्तोमा विराटनगर भैरहवालाई फाइनलमा पनि पराजित गर्दै ह्याट्रिक जितको दाउमा हुनेछ । शुक्रबार आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा विराटनगरका कप्तान पारस खड्काले यसअघिको नतिजालाई हेरेर फाइनलको नतिजा अनुमान गर्न नसकिने बताए । ‘यसअघिका नतिजालाई बिर्सिएर राम्रो क्रिकेट खेल्ने तयारी गरिरहेका छौं’ कप्तान पारसले भने भने, ‘नतिजाको कुरा गर्ने हो भने हामी भैरहवाविरुद्ध दुई जितसहित आत्मविश्वासी छौं ।’
भैरहवाका कप्तान शरद भेषावकरले पनि निरन्तर राम्रो प्रदर्शन गरिरहेको विराटनगरको टप अर्डरलाई ब्रेक गर्ने योजनासहित मैदान उत्रिने बताए । ‘विराटनगरका सुरुवाती ब्याट्सम्यानले राम्रो प्रदर्शन गरिरहेका छन् । उनीहरुको जमेको जोडीलाई ब्रेक गराउनु हाम्रो लक्ष्य हुनेछ ’ उनले भने, ‘यसअघि दुई हारबाट पाठ सिकेर कमजोरी सुधार्दै राम्रो क्रिकेट खेल्ने हाम्रो योजना हो ।’ शरदले टोलीको ओपनिङमा समस्या भएपनि मिडिल अर्डर र लोअर मिडिल अर्डरले राम्रो खेलिरहेका बताउदै आवश्यक पर्दा सबै खेलाडीले शतप्रतिशत दिएर खेल्न सक्ने बताए । 
विराटनगरलाई अपराजित राख्दै फाइनलमा पु¥याउन हङकङका दुई क्रिकेटर बाबर हायत र अंशुमन रथको प्रदर्शन उच्च रहेको छ । प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडीको सुचीमा बाबर र अंशुमन पहिलो र दोस्रो स्थानमा छन् । फाइनलको इनिङ ब्रेकमा नेपाल आइडलका शीर्ष तीन प्रतिस्पर्धीले प्रस्तुती दिने आयोजकले जनाएको छ । राउण्ड रोविन लिगको आधारमा गत पुस ३ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न ६ शहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।