खेलकुद

नेपाललाई ऐतिहासिक उपलब्धि, क्रिकेटमा एक दिवसीय मान्यता

काठमाडौं, चैत। नेपाली क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको मान्यता पाएको छ । विश्वकप यात्रा टुंगिए पनि आईसीसी विश्वकप छनोटको पहिलो प्लेअफ खेलमा नेपालले पपुवा न्यूगिनीविरुद्ध शानदार जित हात पार्दै अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको मान्यता पाउन सफल भएको हो । नेपालको जितले मात्र एक दिवसीयको टुंगो लाग्ने अवस्था थिएन । उता अर्को खेलमा नेदरल्याण्डले हङकङलाई ४४ रनले पराजित गरेसँगै सातौं स्थानका लागि हुने खेल खेल्नु अगावै नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको सुनिश्चितता गरेको हो । नेपालले एक दिवसीय मान्यता पाएसँगै ट्वान्टी–ट्वान्टी क्रिकेटको मान्यता पनि पाएको छ । त्यतिमात्र नभएर नेपाल रेलिगेशनबाट समेत जोगिएको छ ।
नेपालले पपुवा न्युगिनीलाई पहिलो प्लेअफमा ६ विकेटले पराजित गरेको हो । जिम्बावेको वल्ड हरारियन्स स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि सहज जित हात पा¥यो । पपुवा न्युगिनीले दिएको १ सय १५ रनको सामान्य चुनौति पछ्याउदै ब्याटिङ गरेको नेपालले २३ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए । नेपालको जितमा मुख्य भूमिका खेलेको दीपेन्द्रले अविजित ५० रन बनाएका थिए ।  त्यस्तै, आरिफ शेखले २६ र कप्तान पारस खड्काले २० रन बनाएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले २७.२ ओभरमा सबै विकेटको क्षतिमा १ सय १४ रन मात्रै बनाउन सक्यो । पपुवा न्युगिनीका कुनै पनि खेलाडीले १९ रन भन्दा बढि बनाउन सकेनन् । पपुवा न्युगिनीका कार्लस अमिनी १९ जासन किलाले १५ रन बनाए पनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।  
पपुवा न्युगिनीका किप्लिन डोरिगा र सेसी बाउले समान ११–११ रन बनाए । त्यस्तै, कप्तान असद भाला र चड सोपरले समान १०–१० रन बनाएर आउट भएका थिए । नेपालको धारिलो बलिङ सामु पपुवा न्युगिनीका कुनै पनि खेलाडी टिक्न सकेनन् । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ४–४ विकेट लिए । दीपेन्द्रले ४.२ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए भने सन्दीपले ८ ओभर बलिङ गर्दै २९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, नेपालका लागि सोमपाल कामी र करण केसीले समान १–१ विकेट लिए ।  प्ले अफमा पपुवा न्यूगिनीलाई पराजित गरे नेपाल सातौं स्थानको लागि हुने प्ले अफमा पुगेको छ । अब नेपाले सातौं स्थानको लागि हुने प्ले अफमा नेदरल्याण्डको सामना गर्ने छ । आईसीसी विश्व क्रिकेट प्लेअफमा पुगेका चार मध्ये दुई टोली शीर्ष डिभिजनमा रहिरहने छ । पुछारको दुई टोली भने रेलिगेसन हुँदै डिभिजन–२ मा झर्नेछन् ।
दिपेन्द्र र सन्दिप चम्किए 
नेपालका लागि विहीबार भएको खेलमा नेपालका लेग स्पिनर सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । सन्दिपले ८ ओभरमा २९ रन दिँदै ४ विकेट लिन सफल भएका थिए । नेपालको जितमा बलिङ र ब्याटिङ दुवैतर्फ दिपेन्द्र सिंह ऐरी नायक रहे । दिपेन्द्र सिंह ऐरी र आरिफ शेखको ६७ रनको साझेदारीले नेपालले गति लिएको थियो । आरिफ २६ रनमा आउट भएका थिए । ५८ बलमा ५० रनको शानदार अवजित अर्धशतकीय पारी खेल्दै दिपेन्द्रले नेपालको जित सुनिश्चित गराएका थिए । उनी प्लेयर अफ दि म्याच समेत बने ।  दिपेन्द्रले ४ विकेट लिँदै शान्दार बलिङ गरे । उनले आफ्नो ४ ओभर २ बलमा १४ रन खर्चेका थिए । नेपालको पेस बलरद्वय सोमपाल कामी र करण केसीले पनि समान एक–एक विकेट लिएका थिए । 
त्यसो त सन्दिप नेपालका उदीयमान खेलाडी हुन् । अघिल्लो महिना अर्थात फागुनमा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ पनि सन्दिपले शानदार प्रदर्शन गरेका थिए । प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचिको पहिलो स्थानमा रहेका सन्दीपले ५ खेलबाट १६ विकेट लिन सफल भएका थिए । त्यसताका केन्याबिरूद्ध पाँच विकेट लिएपछि सन्दीपले ‘लिस्ट ए’ क्रिकेटमा उत्कृष्ट बलिङको कीर्तिमानी समेत कायम गरेका थिए । सन्दिपको प्रदर्शनलाई नेपालीले मात्र नभएर आइसीसीले समेत प्रशंसा गरेको थियो । सन्दिपलाई टोलीमा अनुबन्ध गरेको आइपीएलेको दिल्ली डेयरडेभिल्सले पनि सन्दिपको सम्पूर्ण खेललाई नियालिरहेको छ । उसले नेपाली खेलाडी सन्दीपको प्रदर्शनलाई लिएर प्रशंसा गर्नुका साथै आईपीएमा समेत राम्रौ स्थान दिने संकेत देखाएको छ । दिल्लीले सन्दिपलाई ३२ लाखमा आफ्नो टोलीमा अनुबन्धित गरेको हो । 
एक दिवसीय मान्यता पाउँदा के ? 
आईसीसीबाट एकदिवसीय क्रिकेटको मान्यता पाउनु नेपाली क्रिकेटका लागि निकै नै महत्वपूर्ण उपलब्धि हो । एकदिवसीय मान्यता पाउने राष्ट्रले आईसीसीको वरियतामा रहनुको साथै ठूला प्रतियोगिताहरु खेल्ने थुप्रै अवसर पाउँछन् । यस्तै आईसीसीबाट आउने आर्थिक सहायतामा वृद्धि हुन्छ । आईसीसीले यो छनोटबाट तीन उत्कृष्ट एसोसियट राष्ट्रलाई ४ बर्षको लागि अस्थाई एकदिवसीय मान्यता दिने बताइसकेको छ । छनोटबाट एसोसियटमा दुई राष्ट्र युएई र स्कटल्याण्ड सुपर सिक्समा पुगिसकेको छ । सुपर सिक्समा पुगेसँगै युएई र स्कटल्याण्डले एकदिवसीय मान्यता पाउने पक्का छ । अब छनोटबाट एक टोलीले मात्र एकदिवसीय मान्यता पाउने थियो जसमा नेपालले फड्को मारेको छ ।