खेलकुद

एक दिवसीय आशा : पपुवा न्यूगिनीविरुद्ध नेपालले जित्नैपर्ने दबाब

काठमाडौं, १ चैत । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेटअन्तर्गत प्लेअफ खेलमा आज नेपाल र पपुवा न्युगिनीको सामना गर्दैछ । खेल नेपाली समय अनुसार सवा १ बजेपछि हुनेछ । समुह चरणका तीन खेलमा पराजित भएसँगै विश्वकप छनोटको यात्रा टुंगिएको नेपालका लागि एकदिवसीयको आशा भने बाँकी छ । 
नेपालले आजको खेलमा जित हात पारे एक दिवसीय मान्यता पाउने सम्भावना बलियो बन्नेछ । नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको खण्डमा र अर्को प्ले अफमा हङकङलाई नेदरल्याण्डले पराजित गरेमा नेपालले एक दिवसीय मान्यता पाउनेछ । 
तर, नेपाल पपुवा न्यनिगीसँग पराजित भएमा नेपालले इतिहास रच्ने सुनौलो अवसर गुमाउनेछ । नेपालले जितेमा र हङकङले नेदरल्याण्डलाई पराजित गरेमा नेपाल र हङकङ सातौँ स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, सातौं स्थानको विजेताले एक दिवसीय मान्यता पाउनेछ । 
आईसीसीले यो छनोटबाट तीन उत्कृष्ट एसोसियट राष्ट्रलाई ४ बर्षको लागि अस्थाई एकदिवसीय मान्यता दिने बताइसकेको छ । छनोटबाट एसोसियटमा दुई राष्ट्र युएई र स्कटल्याण्ड सुपर सिक्समा पुगिसकेका छन् । सुपर सिक्समा पुगेसँगै युएई र स्कटल्याण्डले एकदिवसीय मान्यता पाउने पक्का छ ।
अब छनोटबाट एक टोलीले मात्र एकदिवसीय मान्यता पाउने छन् । यस्तोमा नेपाल, पपुवा न्युगिनी, हङकङ र नेदरल्याण्डले प्ले अफ खेल्दैछ । प्ले अफ खेल्नेमध्ये नेदरल्याण्डको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेताको हैसियतले सन् २०२० सम्म एकदिवसीय मान्यता रहिरहने छ । त्यसैले अब नेपाल, पपुवा न्युगिनी र हङकङमध्ये एक टोलीले मात्र एकदिवसीय मान्यता पाउनेछन् । प्लेअफमा पुगेको चार मध्ये दुई टोली शीर्ष डिभिजनमा रहिरहने छन् भने पुछारको दुई टोली भने रेलिगेसन हुँदै डिभिजन – २ मा झर्ने छन्  ।
समूह चरणमा लगातार तीन खेलमा पराजय बेहोरेपछि नेपालले सोमबार हङकङलाई ५ विकेटले पराजित गरेको थियो । त्यसअघि समूह बिको नेपाल पहिलो खेलमा टेष्ट नेशन राष्ट्र जिम्बावेसँग ११६ रन, दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेट र तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो । 
छनोट खेलमा नेपालको समूहबाट जिम्बावे, अफगानिस्तान र स्कटल्याण्डले सुपर सिक्समा स्थान पक्का गरेका हुन् ।  यस्तै समूह ए बाट वेष्ट इण्डिज, आयरल्याण्ड र युएईले सुपर सिक्समा स्थान बनाउदै विश्वकप खेल्ने सपना कायम राख्न सफल भएका छन् ।  
एकदिवसीय मान्यता पाउँदा के हुन्छ ? 
एकदिवसीय मान्यता पाउनु भनेको नेपाल जस्तो देशको लागि क्रिकेटमा निकै ठूलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसि० ले वार्षिक ७ देखि ८ करोड रूपैयाँसम्म बजेट छुट्याएको हुन्छ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुन्छ।
यस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम खेल्ने नेपालका लागि नियमित रूपमा ठूला प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिता खेल्न पाउनेछ। साथै टेष्ट राष्ट्र सम्मिलित एसिया कप जस्तो ठूलो प्रतियोगितामासमेत नेपालको सहभागिता सहज हुनसक्छ। यस्तै नेपाल आईसीसीको एक दिवसीय वरियतामा पर्नेछ।