खेलकुद

ब्राजिल, अर्जेन्टिना र पोर्चुगल विजयी

काठमाडौं, १० चैत । विश्वकप तयारी स्वरुप शुक्रबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल, अर्जेन्टिना र पोर्चुगल विजयी भएका छन् । खेलमा साविक विश्वकप विजेता जर्मनी स्पेनसँग १–१ को बराबरीमा रोकिएको छ । स्पेनका रोड्रिगो मोरेनोले टोलीलाई अग्रता दिलाए पनि थोमस मुलरले बराबरी गोल गरेका थिए ।
विश्वकपको बलियो दाबेदार मानिएको ब्राजिलले रुसलाई ३–० ले हराउन सफल रह्यो । ब्राजिलका लागि मिरान्डा, फिलिप कौटिन्हो र पौलिन्होले दोस्रो हाफमा गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाले इटालीलाई २–० ले हरायो । अर्जेन्टिनाका लागि एभर बानेगा र म्यानुयल लान्जिनीले गोल गरेका थिए ।
त्यसैगरी जेसे लिन्गार्डको गोलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई १–० ले हरायो । त्यस्तै पोर्चुगल र इजिप्टको रोमाञ्चक खेलमा पोर्चुगल २–१ ले विजयी रह्यो । मोहम्मद सालाहको गोलमा अग्रता लिएको इजिप्टलाई क्रिस्टियानो रोनाल्डोले निराश पारे । रोनाल्डोले इन्जुरी समयमा दुई गोल गर्दै रोमाञ्चक जित सुनिश्चित गरेका थिए ।
अर्को दाबेदार मानिएको फ्रान्स भने कोलम्बियाविरुद्ध ३–२ ले पराजित हुन पुग्यो । ओलिभर जिरुड र थोमस लेमारको गोलमा अग्रता लिएको फ्रान्सले पछि ३ गोल खान पुग्यो । कोलम्बियाका लागि लुइस मुरियल, फाल्काओ र जुवान क्विन्टेरोले गोल गरेका थिए ।