कला-साहित्य

११ जना श्रष्टाहरूको ‘जियालो’ सार्वजनिक

काठमाडौं, बैशाख । ११ जना कविहरूको सहलेखनमा तयार पारिएको जियालो महाकाव्य सार्वजनिक भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले एक भव्य समारोहकाबीच महाकाव्य लोकार्पण गर्नुभएको हो । दाङ जिल्लामा क्रियाशील साहित्यिक संस्थाहरू – राप्ती साहित्य परिषद् केन्द्र , लेखक सङ्घ दाङ , प्र ले स दाङ , दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान, देउखुरी साहित्य तथा संस्कृति मञ्च र सिस्नुपानी नेपाल दाङ्को संयुक्त आयोजनामा भएको कार्यक्रममा उक्त महाकाव्य लोकार्पण गरिएको हो । 

महाकाव्यकार वसन्तकुमार शर्मा नेपालदेखि बुनू लामिछानेसम्मका आधा शताब्दी उमेर अन्तरालका स्रष्टाहरूका सहकार्यमा रचित ‘जियालो’ मा कविहरू– लक्ष्मीकुमार कोइराला, डा. मधुसूदन लामिछाने, बाजुराम पौडेल , गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, गणेश घिमिरे ‘मार्मिक’ , डम्बर घिमिरे , खगेन्द्र खोल्साघरे , उपमा आचार्य र मुकुन्दप्रसाद शर्मा चालिसेको सहभागिता रहेको छ ।   प्रा.स्थानेश्वर गौतमको समीक्षकीय भूमिकालेखन यस कृतिभित्र रहेको छ । ११ जिल्लाको प्रतिनिधित्व गरेका ११ जना स्रष्टामध्येकी कान्छी सर्जक बुनू लामिछाने जन्मिएको दाङ जिल्लामा सार्वजनिक गरिएको यस महाकाव्यलाई एघारै जिल्लामा विभिन्न कार्यक्रम गरी स्वागत गरिने भएको छ । 

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष पुरुषोत्तम खनालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रा. गदाधर पौडेल र हरिलाल पाण्डेले कृतिमाथि प्रकाश पार्नुभएको थियो । स्रष्टाहरूका तर्फबाट बुनू लामिछाने ,डम्बर घिमिरे ,लक्ष्मीकुमार कोइराला, उपमा आचार्य र वसन्तकुमार शर्मा नेपालले आ आफ्ना प्रस्तुति राख्नुभएको थियो । 

आयोजित संस्थाहरूका तर्फबाट ११ जना स्रष्टाहरूलाई सम्मान गरिएको थियो । उक्त समारोहमा कवि उत्तमकृष्ण मज्गैयाँले सम्मानित स्रष्टाहरूको परिचय प्रस्तुत गर्नुभएको थियो । सोही समारोहमा जियालोका समीक्षक स्थानेश्वर गौतमलाई  जियालो निर्माण महासमितिले चौसल्लासहित पुरस्कारले सम्मान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कुलप्रसाद कोइराला , अतिथि नारायणप्रसाद शर्मा , सभापति पुरुषोत्तम खनालले आ आफ्ना मन्तव्य राख्दा ‘जियालो’ महाकाव्य र यस कार्यक्रमको ऐतिहासिक महत्ता प्रकट गर्दै दाङमा भएको यस कार्यक्रमले दाङबासीलाई विशेष गौरवान्वित पारेको कुरा व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कवि नारायण नेपालले गर्नुभएको थियो भने प्र. ले.स. दाङका अध्यक्ष शरद अधिकारीले अतिथिहरूको स्वागत गर्नुभएको थियो ।