विचार

ओलाङ्चुङदेखि सौराहासम्मको यात्रा संस्मरण

-ससाङ लामा
डुङ्गा चालकले हामीलाई सुलुत्त परेको लामो काठे डुङ्गामा लस्करै राखे ।  पाँचै महादेशका पर्यटकहरु थिए होलान् । हाम्रा सहयात्रीहरु सबै एउटै डुङ्गामा बसेपछि हाम्रो फोटो कसले खिचीदेओस ? मन्द गतिको खोलाको धारमा सुल्किन्दै जाँदा दाँयाँ–बाँया प्रशस्त गोहीहरु देखिए । डिसेम्बर  महिना भएकोले हो कि, के हो ? वातावरण त्यति हरियाली थिएन, रौनकता देखिन, मन हर्ने कुनै बस्तु भेटिन । खोलाको रंगधरी कालो देखेँ । शायद भर्खर मात्र १० हजार फिट माथिको ओलाङ्चुङ यात्राको असर होला । कन्चन् निलो हिमनदी, भर्जिन डाँडा काँडा, स्वच्छ वातावरणको प्रभाव होला । तर खापेर लुगा लगाउनु परेको थिएन, टि सर्ट र स्पोर्ट ट्राउजरमा जिउ हल्का पारेर घुम्दै थिएं सौराहमा ! ‘लौ गैँडा देखियो’ भनेर हाम्रा पथ प्रदर्शकले डुंगा छेउ लगाउन ईशारा गरे । डुंगा त छेउलाग्यो, तर नजिकै एउटा भिमकाया गोही लमतन्न परेर लडिरहेको थियो । म डुङ्गाको पुच्छरमा थिएँ, मेरो पछाडि डुङ्गा चालक थियो । अचानक त्यो गोही फुर्तिसाथ डुङ्गाको पुच्छर छेउबाटै पानीमा स्वात्त पस्यो । आङ्गै सिरिङ्ग भयो ।

केही पर माउ र बच्चा गैँडा हामीतिर कण्डो फर्काएर चर्दै थिए । हामीतिर फर्कोस भनेर आवाज दियौँ, साइँ साइँ र सुइँ सुइँ पनि ग¥यौं । तर तिनले पिछुवाडा देखाउन छोडेन । आजित भएर हामी डुङ्गामा फक्र्यौं । डुङ्गाले हामीलाई गन्तव्यमा पु¥याएपछि डुंगा चालकलाइ धन्यवाद सहित हजारको नोट हाम्रोतर्फबाट थमायौं । एकजना गोराले नाथे ५० रुपयाँ पो दिंदै थियो ! टिठ पो लाग्यो । त्यसपछि पथप्रदर्शकले हामीलाई हात्ती प्रजनन केन्द्रमा लगे । एउटा भिमकाया हात्तीको नाम रोनाल्डो रहेछ । त्यसको नाम रोनाल्डो रहनुको कारण म भ्रमण वृतान्तको अन्त्यमा भन्नेछु । अत्यन्त रोचक र कुत्कुत्याउने कुरो छ...

समुद्री सतहभन्दा २०० फिट माथि रहेको सौराह, चितवनबाट उक्लेर १० हजार ७ सय फिट अग्लो ओलाङ्चुङगोलातिर म पाठकहरुलाई लैजान्छु । धरानबाट तमोर खोलालाई पछ्याउँदै, गडतिरको बाटो पैदल गयो भने, ओलाङ्चुङ ठ्याक्कै पुगिन्छ । १९६५ सालमा गएको प्रलयकारी पहिरोले गाउँको एक तिहाइ घर बगाएर लगेको थियो । हाम्रो घरसमेत त्यही पहिरोमा परेको थियो । म बालकै छंदा भएको यो घटना मनमा अमिट छाप बनेर बसिरहेको छ । त्यस पहिरोपश्चात तमोरमा थुप्रै पानी बगिसक्यो । त्यहाँ भएको भारतीय चेकपोष्ट हट्यो, श्री ५ को सरकारले भारतस्थित तिब्बती खम्बाहरुलाई हुल्यो, केही वर्षपछि ति पनि रातबिरात भागेर भारत पसे ।  सरकारको नाममा पुलिस चौकी, छोटी भन्सार र एउटा प्राथमिक पाठशाला थियो र अहिले पनि त्यो भन्दा बढी केही छैन । गाबिसलाई भनेर आएको सानो रकमले के मात्र टाल्नु ? विकासको नाममा बेलुकी ४ बजेदेखि राती १० बजेसम्म बल्ने बिजुली र ३ लाइन टेलिफोन पाएका छन् । अर्थोक जुगाडा आँफैले गरेका छन् । पञ्चायतको एकात्मे शासन अन्तर्गत त्यस क्षेत्रलाई सम्बेदनशील क्षेत्र भनेर विदेशी पर्यटकलाई जान बन्देज गराइएको थियो । दशकौं सम्बेदनशील क्षेत्र बनाइयो त्यो गाउँलाई तातो न छारोसित ।

भौगोलिक विकटता भएको, कुनै रणनीतिक महत्व नराख्ने त्यस ठाउँलाई के आधारमा सम्बेदनशील भनेर तोके, दैव जानुन् । ओलाङ्चुङ्गेहरु सीमापारि चीनमा विना भिसा ३० किलोमिटर भित्रसम्म निर्बाध रुपमा गै आएका छन् । उताका तिब्बतिहरु पनि फाट्टफुट्ट ओलाङ्चुङ्गसम्म आइरहन्छन् । काठमाडौँ र विश्वभर छरिएका ओलाङ्चुङ्गेहरु र ओलाङ्चुङबासीहरुको सक्रिय पहलमा ओलाङ्चुङदेखि चिनको सीमा ढिप्तालासम्म मोटर बाटो बनाउने कुरामा स्थानीय स्तरमा निर्णय भै उता र यता गरेर करिब ३ किलोमिटर बाटो खनिसकेका छन । बाटोको लम्बाई जम्माजम्मी १९ किलोमिटर हो । त्यो बाटो त्यस गाउँका लागि लाइफ लाइन हो भने, हाम्रो उत्तरी सीमामा अहिले, उहिलेको चाइना नभै सुपर पावर चीन पो छ त ! भ्रमणको कुरो गर्नु पर्ने, म त आर्थिक, सामाजिक, यातायातिक कुरो पो कोट्याउनु पुगेछु । लु, यसलाई यहीं बिटमारी भ्रमण वृतान्तमा एकोहोरिन चाहन्छु ।

न्युयोर्क–काठमाडौ–ताप्लेजुङ–ओलाङचुङ–सौराहा(चितवन)का लागि प्रस्थान गर्ने हामी जम्मा ६ जना यात्रु थियौँ । काठमाडौं पुगेको दुई दिनमै मलाई त उँधो–उँभो भैहाल्यो । भाइ र बुहारीले उनारुकै घरको छेउ छाउमा रहेको ग्राण्डी अस्पतालको इमर्जेन्सीमा लगे । ब्लड टेष्ट, युरिन टेष्ट गरेको रिपोर्ट आधा घण्टामै आइपुग्यो । मैले खाइरहेको जीवनजल नै निरन्तरता गर्नु भनी सेवाशुल्क ३ हजार रुपैयाँ ठटायो । उँभो चाहीँ बन्द भयो । ताप्लेजुङ्सम्मै उँधो चाहीँ भैरहेकै थियो । ताप्लेजुङमा तोङबा तानेपछि उँधो पनि बन्द भयो । ओलाङ्चुङ्गमा पुगेपछि त चङ्गा भैहालेँ । चुङदा उक्याव र वाङ्ला लामाले घरिघरि ग्लुकोज पानी पिलाएर असाध्यै माया गरे । हरहमेसा हातमा हाते फोन खेलाउने ति दुई जना सुकेटारमा पुगेपछि फत्र्याक्–फत्र्याक परेको देखेँ । नेट, इण्टरनेट केही पनि नभए पछि हातेफोन त क्यामरा मात्र भो । लागेको बानी, ओलाङ्चुङमा पनि हातेफोन थिच्दै थिए, ति दुई । घरि घरि देश विदेशमा फोनबाट कुरा गरिरहनुपर्ने वाङ्लाको छटपटाहट छर्लङ्गै देखिन्थ्यो । एक महिना फेसबुकै छुँदिन भनेर मैले मनमनै प्रतिज्ञा गरेको थिएँ र छुइन पनि । बित्दो केही थिएन क्यार ! त्यसमाथि चुङ्दाले फेसबुक अप्डेट गर्दै गरेकोले म कहाँँ छु भन्ने कुरा धेरैले थाहा पाइसकेका थिए । 

हामी बसेकै होम स्टे होटलमा एकजना जर्मन एष्ट्रोप्लोजिस्ट आफ्ना केही तरुना तन्नेरी शिष्यसहित बसेका थिए । हिमालय क्षेत्रको मानवशास्त्रीय अध्ययन र रिसर्च गर्ने हेतुले उनी आएका रहेछन् । अगेनाको वरिपरि तोङ्बा नारेर बसिरहेका थिए उनीहरु । बेलुकीको समय थियो । रिसर्च ग्रुपमा एकजना बंगाली महिला पनि थिइन् । हाम्रो सहयात्री छिमे ग्याजो दंग, बंगाली भाषी भेटेकोमा । उनी बंगालीमा छुरा भाको कुरो त त्यतिबेला मात्र थाहा भयो । अनि दुई जनाको शुरु भयो है बंगालीमा बात ! त्यसो त एकजना भर्खरको ठिटो किर्घिजियाबाट आएको रहेछ्र त्योसँग मैले रसियनमा कुराकानी गरें । 

हामी दुई नै त्यति बोलक्कड नभाकोले चाहिँदो मात्रमा बोलियो । तर ति दुई बंगालीमा मच्ची मच्ची, रमाइ रमाइ बात मारिरहेका थिए ।  हामी ६ जना सहयात्रीका अघोषित दायित्वहरु थिए । तेन्योङ लामाले धार्मिक कार्यको जिम्मेवारी लिए, जसानुसार ओलाङ्चुङ गोलाको गोम्बालाई रङ्ग रोगन गर्ने र गाउँदेखि गोम्बासम्मका १०८ काठे लिङ्गोमा प्रार्थना धाजा झुण्ड्याउने आदि थिए । वाङला लामा (छोक छिरिङ्ग) को काम चाहीँ यातायात व्यवस्थापन, चुङदा उक्यावको दायित्व चाहीँ आन्तरिक व्यवस्थापन, अम्रिकी ओलाङचुङ समाजको अध्यक्ष्यको हैसियतले छिमे ग्याजोको काम चाहीँ ओलाङ्चुङ्गेहरुलाई अम्रिकामा रहेका आफ्न गाउँलेहरुको सन्देश पु¥याउनु थियो । तेन्जिङ उक्यावले टोलीको नेतृत्व गरेका थिए र धेरैजसो उनको समय ओलाङ्चुङ (ढिप्ताला बाटो निर्माण सम्बन्धी विभिन्न सरोकारहरुसँगको महत्वपूर्ण भेटवार्तामा वित्यो । अनि मेरो काम चाहीँ हाम्रो भ्रमण वृतान्तलाई अक्षरमा उनेर प्रचार–प्रसार गर्ने । हाम्रो भ्रमण, एक पन्थ, दुई काज थिए– भ्रमण र गिभ ब्याक टु कम्युनिटी । 

ओलाङ्चुङै पुगिसकेपछि माथि चीनको सिमानासम्मै जाऊँ न त भनेर सल्लाह भयो । गइयो पनि । तर बीचबाटोबाटै फर्कियौँ । ओलाङ्चुङमा ५ दिन बस्यौँ ।  एकै दिनमा दुई ठाउँमा दिन्ज्याँग (रमाइलो भेटघाट) पनि ग¥यौँ । तोङबा त कति खाइयो, खाइयो, गिन्ती नै छैन । सीमित मानिसहरु मात्र भाको त्यस्तो सानो गाउँमा पनि आमा समुह र बाबु समुह देख्दा ताज्जुब लाग्यो । आमा र बाबु समुहहरुले, गाउँबाट निकै तल झरेर  हामीलाई खादा लगाएर, घेछ्याङ( बिदाईको छ्याङ) पिलाएर अलग अलग बिदाई गरेका थिए ।  दुबै समूहलाई खाली हात गाउँ फर्काउन पनि मिलेन । आन्तरिक व्यवस्थापनको जिम्मा लिएका चुङ्दाले हामी सबैको तर्फबाट धन्यवाद्को बिटो दुबै समूहलाई थमाएका थिए । 

थ्वाङ लसे अर्थात देउरालीमा पुगेर धाजा टाँगेर कि कि सो सो ल्ह ग्यलो भनिसके पछि चुङ्दाले हामी सबैलाई देउरालीको ओह्रालो भागपट्टी जान दिएर बाटोबीचमा स–साना ढुङ्गा थाक लगाएर बाटोको एकछेउदेखि अर्को छेउसम्म धर्सो तानेर बाटो छेके । कुनै अपवित्र शक्तिले यात्रुलाइ नपछ्याओस् भनेर त्यसो गरेको भन्छन् । यो उहिलेदेखिको चलन हो । 

थुप्रै खोला, नाला, जङ्घार तरियो । वारपार एउटै मात्र फलेक राखेको झोलुङ्गे पुललाई फराकिलो झोलुङेपुलले विस्थापित गरिसकेछ । उमेरले सबैभन्दा जेठो भएपनि पैदल हिँडनुमा म पनि कम्ता रहिन रहेछु । आइया र उइयु केही पनि नभनी बिहानदेखि बेलुकीसम्म लगातार दुई दिन हिंड्यौँ । लुङ्थुङ, लेलेप, तापेथोक् हुँदै छिरुवा पुगेपछि त्यहाँ हामीलाई लिन बोलेरो जिप आएको थियो । लुङ्थुङदेखि नै वाङ्ला लामाले फुन गरेर गाडी मगाएका थिए । छिरुवादेखि ताप्लेजुङ्सम्मको झाँक्री हल्लाइ यात्रा गज्जब थियो । झाँक्री बस्दा झाँक्री त्यति हल्लिदैन होला, जति हामी जिपभित्र हल्लिन्दै थियौं । ताप्लेजुङ् पुग्दा सल्याक्कै पो भाका थियौँ । हाम्रो पूर्व योजनानुसार न्युयोर्क फर्कनु अघि मुस्ताङ जाने कुरो थियो ।

भर्खर मात्र त्यत्रो १० हजार फिटमाथि पुगेर आयौँ, फेरि त्यस्तै जाडो खान मुस्ताङ किन जाने ? बरु सौराह, चितवन जाउँ भनेर मैले कुरो राखेपछी सबैले त्यसमा सदर गरे । वाङ्ला लामाले आफ्नो ट्राभल नेटवर्क मिलाई ताप्लेजुङ्बाटै भरतपुरको फ्लाइट बुक गरे । ताप्लेजुङ्बाट उडेर काठमाडौँ बिमानस्थलमा ओर्लनासाथ भोलिको भरतपुर फ्लाइट रिकन्फर्म गर्न आन्तरिक टर्मिनलको एअरलाइन्स अफिसमा वाङ्ला र म गाका थियौं ।  एकजना स्टाफ फोनमा कसैलाई भन्दै थिए– ‘भोलिको पोखराको दुई जना खुलित्त’, ‘भैरहवाको एकजना खुलित्त’ ! म हाँसो थाम्न नसकेर बाहिर निस्केँ । एअरलाइन्सको त्यो ‘खुलित्त’ कोडको अर्थ के होला ?!

अं त अघि शुरुमा म सौराहको हात्ती रोनाल्डोको कुरो गर्दै थिएँ । त्यो जंगली हात्ती जसलाई स्थानीयहरुले रोनाल्डो नामाकरण गरेका थिए, त्यो बर्षमा एकचोटी त्यस प्रजनन् स्थलमा आउँदो रहेछ । लाते भकुण्डो खेल्दा विश्व प्रसिद्व फुटबल खेलाडी रोनाल्डोले लगालग गोल छिराए जस्तै त्यो जंगली हात्तीले पनि त्यस प्रजनन स्थलमा भाका सबै पोथी हात्तीहरुलाइ एक्लैले भ्याउँदो रहेछ, गोल गर्दो रहेछ, समागम गर्दो रहेछ । त्यहीँ भएर होला, रौसे सौराहिलीहरुले त्यसलाई रोनाल्डो नाम दिएछन् । साराका सारा पर्यटकहरु कतिखेर त्यो रोनाल्डोले गोल गर्छ भनेर क्यामाराका लेन्स तेस्र्याएर, चनाखो भएर, धैर्यताकासाथ उभ्भेर पर्खिरहेका थिए । हामी पनि पर्खि बस्यौँ, रोनाल्डोले गोल गर्ला कि भनेर, तर बजियाले गोलै गरेन । 

यात्रा वृतान्त लेख्दा भौगोलिक विवरण लेख्ने उहिलेको चलन अब खुइले भैसक्यो । त्यस्तो विवरण चाहिए, गुगलले गटटटट... दिइहाल्छ अचेल । अबको यात्रा वृतान्तमा यात्रासित सम्बन्धित मानवीय मुल्य, मान्यता र संवेदनालाई केलाइनु पर्छ । मानिसकै सेरोफेरोमा टेकेर यात्रा विवरण पस्किनुपर्छ । कुनै ल्याण्डमार्कको चित्रण गर्दा त्यसको निर्माणमा भएको मानवीय योगदानको चर्चा हुनुपर्छ । त्यस ल्याण्डमार्कबारे लेखकको निजी घोत्ल्याइँ प्रस्तुत गर्नुपर्छ । पुरानो पाराको भौगोलिक विवरण सहितको यात्रा संस्मरण लेख, अहिलेको इण्टरनेटे युगमा अस्वीकार्य नै हुन्छ वा पाठकहरुले पढिदिन्दैन् ।