विचार

नेपालका प्रथम शहिद

सन्दर्भ: लखन थापा मगर (द्वितीय) स्मृति दिवस

- त्रिलोकसिंह थापा मगर

१. पृष्ठभूमि
इतिहास साक्षी छ । गोर्खा जिल्ला निवासी कप्तान लखन थापा मगर (द्वितीय)ले वि.सं. १९२७ सालमा जङ्गबहादुर राणाको निरंकुश, हुकुमी, जहानियाँ तथा एक्तन्त्रीय शासन व्यवस्थाको विरूद्ध सशस्त्र विद्रोह गरेका थिए । लखन थापा मगरको विद्रोहको सम्बन्धमा प्रख्यात इतिहासकार प्रमोदशमशेर राणाले आफ्नो चर्चित पुस्तकमा यसरी लेखेका छन् :
 (The Gorkha uprising was a very significant because this was the first revolt against the dectorial rule of Rana. It was the revolt of people until then nobody had raised a finger against Rana rule=æ1995–50.)
त्यस्तै जङ्गबहादुर राणाका छोरा इतिहासकार पदमजंगबहादुर राणाले पनि लखन थापा (द्वितीय)बारे आफ्नो पुस्तकमा यसरी उल्लेख गर्नुभएको छ, ‘ ‘after assassinating Jung Bahadur to seize reins of Goverment and inaugurate the golden age of Nepalese history.’ (1974)  उक्त दुवै इतिहासकारहरूले लखन थापा (द्वितीय)ले राणा तानाशाही प्रणालीविरूद्ध गरेको विरोध तथा विद्रोह नेपालको इतिहासमा पहिलो ऐतिहासिक घटना थियो । साथै राजनीतिक एवम् सैद्धान्तिक पृष्ठभूमिमा विकसित थियो भनेर आफ्नो पुस्तकमा स्पष्ट संकेत गरेको पाइन्छ ।

२. जनविद्रोहका उद्देश्य
लखन थापा मगर (द्वितीय)ले जङ्गबहादुरको एक्तन्त्रीय एवम् पारिवारिक शासन प्रणालीको विरूद्ध शसस्त्र आन्दोलन गर्नुभन्दा अगाडि जनतालाई मानसिक रूपमा तयार गरेका थिए । जनयुद्धको लक्ष्य एवम् उद्देश्यहरू स्पष्ट रूपमा जनसमक्ष यसप्रकार राखेका थिए । ‘जङ्गबहादुरले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँ त्राहि–त्राहि पारिरहेको छ । छुवाछुत झन चकिर्एको छ । जङ्गेलाई हटाई नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ । नेपालमा सत्ययुग फिराउँ, मनकामना देवी माताले मलाई वरदान दिएकी छिन् । भाइ हो तयार होऔं’ (भीम भक्तमान सिंह २००५) उपरोक्त उद्देश्यअनुसार जंगबहादुरको विरूद्ध गरिएको शसस्त्र विद्रोहको राजनीतिक एवम् सैद्धान्तिक आधारहरू यस प्रकारका थिए ।
क)    षड्यन्त्र एवम् जालझेलबाट सक्ता प्राप्त गर्न सफल भएका जङ्गबहादुरले आफ्नो शासन पुस्तापुस्ता सम्म कायम राख्न अंग्रेजहरूसमक्ष नतमस्तक थिए । सो कुरा विचार गरी त्यही बेलादेखि नेपालमा विदेशी हस्तक्षेपको विरोध लखन थापा द्वितीयले शुरू गरेका थिए ।
ख)    जङ्गबहादुरको अत्याचारी शासनबाट मुक्ति पाउन तथा तानाशाही शासनमा आमूल परिवर्तन ल्याई नेपालमा सत्ययुग अर्थात् प्रजातान्त्रिक व्यवस्था स्थापित गर्न चाहन्थे भन्ने कुरा उक्त उद्घोषमा झल्किएको देख्न सकिन्छ ।

३. जनयुद्धका राणनीतिहरू
जङ्गबहादुरको पारिवारिक शासन प्रणालीविरूद्ध जनयुद्ध गर्न लखन थापाले युद्धका केही रणनीतिहरू पनि तयार पारेका थिए । जुन यसप्रकार थिए ः
क)    तत्कालीन नेपाली समाजमा व्याप्त रहेका गहिरो धार्मिक आस्था, पुनर्जन्मका धारणा, मनकामना देविमाथि अटुट विश्वास एवम् प्रगाढ निष्ठाको विषयमा लखन थापा द्वितीयले गहिरो अध्ययन गरेका थिए । यसैका लागि राणाशासनलाई ध्वस्त पार्न धर्म, दैविक शक्ति र माताको वरदान वा आदेश प्राप्त भएको छ आदि कुराहरू उल्लेख गरि जनचेतना जगाउन उनि सफल भए । उनको पक्षमा छरछिमेकी जिल्लाका धेरै मानिसहरू संगठित हुन थाले ।
ख)    जनताको स्वतःस्फूर्त सहयोग तथा सक्रियतामा गुरूङग, मगर, ब्राह्मण, क्षेत्री तथा अन्य जातिका समेत गरी दुई हजार युवाहरूको जन मिलिशिया अर्थात् विद्रोही सेनाको स्थापना एवम् संगठन गर्न उनी सफल भए । नेपालको इतिहासमा यो पहिलो जन मिलिशिया संगठन थियो । जुन राणाशासन प्रणालीको विरूद्ध खडा भएको थियो ।
ग)    त्यस्तै जनयुद्धलाई आवश्यक पर्ने भौतिक संरचना जस्तै हातहतियार, खाद्यान्न भण्डार आदिका संकलन तथा युद्धकला प्रशिक्षणको व्यवस्था पनि छोटो अवधिमा सम्पन्न गरिएको थियो ।
घ)    विद्रोहीहरूले बुङ्गकोटमा आफ्नै किल्ला निर्माण गरेका थिए । सो पाँचतले थियो । (जोशी र रोज सन् १९६६) आठ क्युविक चौडा र १६ क्युविक अग्लो पर्खालले घेरिएको किल्ला थियो । नेपालको इतिहासमा विद्रोहीहरूको यो पहिलो किल्ला थियो, जसको निर्माण लखन थापा (द्वितीय)को निर्देशनमा भएको थियो ।
ङ)    उक्त किल्लाको परिसरमा राजनीतिक तथा सैनिक प्रशिक्षण सञ्चालन गर्ने गरिएको थियो । लखन थापा द्वितीय तथा उनका अन्य सहयोगीहरूको राजनीतिक प्रवचन सुन्न छरछिमेकी जिल्लाहरूबाट युवाहरूको घुइँचो लागेको हुन्थ्यो ।
उपरोक्त सम्बन्धमा प्रख्यात इतिहासकार जनकलाल शर्माले आफ्नो मन्तव्य यसरी उल्लेख गर्नुभएको छ ‘गोरखा जिल्ला बुङगकोट भन्ने ठाउँमा जोशमनि मतका साधु लखन थापा द्वितीयले जङ्गबहादुरको निरंकुश शासनको विरूद्ध संगठन गर्न थाले र यो संगठन निकै जोडतोडका साथ लागेका कुरा जङ्गबहादुरले पनि थाहा पाए । यस्तो संगठनलाई समयमा नरोके मेरो भविष्य राम्रो छैन भन्ने विचार गरेर रातारात आठ पहरिया सिपाहीको दल गोरखातिर पठाए । (जोशमनि सन्त परम्परा साहित्य पृ.९०) पहिलोपटक जङ्गबहादुर राणाले गम्भीरतापूर्वक लखन थापा द्वितीयको संगठन गर्न सक्ने क्षमताप्रति आफ्नो ध्यान केन्द्रित गर्नुप¥यो ।

४. समानान्तर सरकार तथा समावेशी मन्त्रिपरिषद्
क) वि.सं. १९२७ सालमा जङ्गबहादुरको एकलौटी शासन प्रणालीको विरूद्ध लखन थापा मगर द्वितीयले समानान्तर सरकारको स्थापना गरेका थिए । सो सरकारमा विभिन्न जाति एवम् जनजातिका प्रतिनिधिहरू मन्त्री बनाइएका थिए । ज्ञान दिलदास ब्राह्मण र कालु लम्सालसमेत मन्त्री पदमा थिए । जनताको आग्रहमा र अनुरोधमा लखन थापा द्वितीय यसको मुख्तियार अर्थात प्रधानमन्त्री आफै भए । नेपालको इतिहासमा यो पहिलो समावेशी तथा समानात्तर सरकारको मन्त्रिपरिषद् गठन भएको थियो ।

५. राज्यभित्र अर्को राज्यको स्थापना
क) जङ्गबहादुरले खटाई पठाएको आठ पहरियाले पेश गरेको रिपोर्टको विवरणअनुसार राज्यभित्र अर्को राज्यको स्थापनाको प्रमाण प्राप्त भएपछि उनी ज्यादै विचलित भए । तुरून्तै आफ्नो भाइ तथा नेपाली सेनाका सेनापति धीरशमशेरलाई सो विद्रोहको दमन गर्न आदेश दिए । सेनापति धीरशमशेरलाई लखन थापाको विद्रोही सेनासँग युद्ध जित्न हम्मेहम्मे परेको थियो । विद्रोही जनसेनातर्फ गोलाबारूद सकियो । युद्ध रोकियो । लखन थापा द्वितीय सजिलैसँग तिब्बतमा राजनीतिक शरण लिन सक्थे तर राष्ट्रभक्त तथा स्वाभिमानी लखन थापाले आफ्नै मातृभूमिमा हाँसीहाँसी मृत्युलाई स्वीकार गरे । पहिलो पटक प्रजातन्त्रको बीउ रोप्ने क्रममा शहादत प्राप्त गरे । नेपाली सेनाको इतिहासमा यो पहिलोपटक मुलुकभित्रको विद्रोह दमन गर्न, दबाउन सेनापतिलाई आफै कमाण्ड सम्हाल्न पुग्नुपरेको थियो ।

६. अन्य विद्रोह
क)    लखन थापा मगर द्वितीयले जनस्तरबाट गरेको जनविद्रोभन्दा पहिले तथा त्यसपछि पनि जङ्गबहादुरलाई मार्ने प्रयास तथा षड्यन्त्र भएको पाइन्छ । जङ्गबहादुरको असाधारण रूपले बढेको शक्ति र प्रतिष्ठा स्वम् उनकै भाइ तथा नातागोताहरूका मनमा द्वन्द्व उत्पन्न गर्न पर्याप्त थियो । फलस्वरूप जङ्गबहादुरको युरोप यात्राले जातिच्युत भएको कुराको प्रचारको आडमा उनलाई अपदस्थ गरि मार्ने षड्यन्त्र रच्न थाले । सत्ताबाट च्यूत भएका चौतरिया, काजी, भाई भरदारहरूले पुनः सत्ता प्राप्त गर्न, बदलाको भावना, पारिवारिक, व्यक्तिगत रिसइवी र इष्र्या आदि कारणहरूले गर्दा जङ्गबहादुरको हत्या गर्ने गराउने असफल षड्यन्त्र गरेका थिए । राजा सुरेन्द्रको हत्या गरेर जङ्गबहादुरलाई फसाउने षड्यन्त्र विसं १९०२ मा वीरध्वज बस्नेतले गरेका थिए । त्यस्तै जङ्गबहादुरका आफ्नै भाई जनरल बद्रीनरसिंह कँुवर, छोरा जनरल जयबहादुर कुँवर, काजी करवीर खत्री, महिला साहेवजादा उपेन्द्रविक्रम शाह तथा कप्तान भोटु सिंह बस्नेत आदिले पनि सत्ता प्राप्तिका लागि विसं १९०७ मा जङ्गबहादुरको हत्या गर्ने असफल योजना र षड्यन्त्र गरेका थिए । करवीर खत्रीलाई जाति च्युत गरिए । एक वर्षपछि उनलाई दण्डदेखि मुक्त गरिए । जनरल बद्रीनरसिंह कुँवरको छोरा केदार नरसिंहलाई पाल्पाको हाकिम बनाइएको थियो । उहाँ आफ्नो छोरासँग पाल्पामा गएर बस्न थाले । कप्तान भोटु सिंह बस्नेतलाई आजिवन कैदमा राखी चितवन पठाइए । चितवनको औलामा उनी धेरै दिन बाँच्न सकेनन् ।
ख) छलकपट, जालझेल तथा षड्यन्त्रबाट जङ्गबहादुरको उदय हुनुका साथै उनको प्रति व्यक्तिगत विद्रोह एवम् विरोध पनि शुरू भइसकेको थियो । वास्तवमा ती विद्रोह विरोध तथा षड्यन्त्र केवल सत्ता प्राप्तिका लागि मात्र थिए । त्यसको कुनै जनआधार एवम् सैद्धान्तिक आधार थिएन । एक मात्र उद्देश्य जङ्गबहादुरलाई अपदस्त गर्ने, सत्ताबाट हटाउने, हत्या गर्ने र पछि सत्तामा पुग्ने दरबारिया षड्यन्त्र मात्र थियो ।
ग)    वि.सं. १९१४ सालमा फौजी आफिसरहरूलाई विरूद्ध उत्तेजित र भडकाउने अभियोगमा जमदार काजीमान गुरूङलाई उनकै पल्टनका सहयोगी सिपाहीहरूद्वारा टुडिखेलमा निर्ममतापूर्वक हत्या गर्न लगाइयो । यो घटना लखन थापाको जनविद्रोहभन्दा केही वर्षअगाडि नै भएको थियो । जमदार गुरूङको विद्राहको उद्देश्य प्रस्ट नभएको साथै जनताको सर्मथन र सहभागिता पनि नरहेको देखिन्छ । पल्टनको घेराभित्र रहेको सो विद्रोह नितान्त व्यक्तिगत आवेशमा रहेको बुझिन्छ । यस विद्रोहको कुनै राजनीतिक आधार पनि देखिँदैन । तैपनि जमदार काजीमान गुरूङले देखाएको साहसको राज्यले उचित कदर गर्नुपर्दछ ।
घ)    सन् १८५१ को मुलुकी ऐन लागू भएपछि जनजातिहरूको सामाजिक स्तर तल झरेको थियो । जङ्गबहादुरको अधिनायकवादी शासन व्यवस्थाबाट जनजातिहरू रूष्ट एवम् असन्तुष्ट थिए । यसै क्रममा लखन थापा द्वितीयको जनयुद्धको अनुसरण गर्दै विसं १९३३ सालमा गोर्खाका शुकदेव गुरूङले आफूलाई ‘सरकार, बौद्ध बादशाह’ घोषित गरी जंगबहादुर शासनविरूद्ध विद्रोह मच्चाउन शुरू गरे । उनलाई जङ्गबहादुरले पक्रन लगाई जेलमा राखे र वि.सं. १९३३ को चैतमा उनी जेलमा नै मरे । त्यस्तै लखन थापा द्वितीयको अनुसरण गर्दै विसं १९३४ सालमा सुपति गुरूङले आफूलाई बौद्ध बादशाह घोषित गरी जङ्गबहादुरले मार्न खोजे तर उनी जिन्दगीभर भूमिगत रहेर बसे । वास्तवमा जङ्गबहादुरको विरूद्ध जनजातिका युवाहरूद्वारा गरिएको विरोध एवम् विद्रोह साहसिक पाइला थियो । तर, जन सहभागिता, संगठन तथा स्पष्ट लक्ष्यको अभाव थियो । उक्त विद्रोह मुख्यतः व्यक्तिगत आवेशबाट प्रेरित रहेको देखिन्छ । तैपनि जनजातिका उक्त शहादत प्राप्त शहीदहरूको राज्यले उचित सम्मान गर्नुपर्छ ।
ङ)    सुदूरपश्चिमाञ्चल आछाममा राणाकालीन कर्मचारीहरूले विशेषगरी ठकुरी चौतारियाहरूमाथि गर्दै आएको अत्याचारलाई साहेबज्यु बलदेव शाह उर्फ बाँकेवीरलाई खपी नसक्नु भयो । त्यसमाथि श्री ३ जङ्गबहादुर राणाले श्री ५ राजेन्द्रलाई बन्दीगृहमा राखी अडकलेको माना खानुपर्ने व्यवस्था गरेबापत राजपरिवार एवम् ठकुरीहरू राणाहरूसँग आगो भएका थिए । यसै सन्दर्भमा बलदेव शाह उर्फ बाँकेवीरले लुकीछिपी हमला गर्ने गरेका थिए । फलस्वरूप जङ्गबहादुरको निर्देशनअनुसार विसं १९०६ सालमा लुकीछिपी रहेका बाँकेवीरलाई रूद्रसिंह स्वाँरले उनको टाउको काटी हत्या गरेका थिए । वास्तवमा यो ऐतिहासिक घटना राणाहरूले राजपरिवार र ठकुरी रजौटाहरूलाई सताउने, दुःख दिने तथा होच्याउने व्यवहारबाट उब्जिएको थियो । पारिवारिक द्वन्द्व, चौतारिया ठकुरी तथा राणाहरूको बीचको वैमनस्य एवम् व्यक्तिगत रिसइवीमा आधारित घटना हो । तैपनि त्यसबेला बाँकेवीरले राणाहरूको विरूद्ध ठूलो साहस देखाएको हुँदा उनको कदर राज्यले गर्नुपर्ने हुन्छ ।

७. पहिलो जनयुद्ध
क) तुलनात्मक रूपमा हेर्ने हो भने लखन थापा द्वितीयको नेतृत्वमा उठेको जनविद्रोह जङ्गबहादुरको अधिनायकवादी शासन प्रणालीको विरूद्ध थियो । जहानियाँ एवम् तानाशाही शासन प्रणालीलाई हटाएर प्रजातन्त्रको स्थापना गर्नको लागि थियो । उक्त जनविद्रोहको स्पष्ट लक्ष्य, उद्देश्य तथा योजनाबद्ध संगठन थियो । जनताको सहभागिता, सहयोग एवम् जनस्तरबाट राजनीतिक लक्ष्य प्राप्तिका लागि तानाशाही शासनविरूद्ध उठेको जनयुद्ध थियो । कुनै व्यक्तिगत, पारिवारिक स्वार्थ, लोभ, लालचा, रिसइवीबाट सो जनविद्रोह प्रेरित थिएन । लखन थापा द्वितीय आफू राजा बन्ने चाहनाबाट पनि प्रेरित थिएन । जनताले उनीलाई असीम माया तथा श्रद्धा गरेर राजासरह मान्न थालेका थिए । राजनीतिक पृष्टभूमि एवम् सैद्धान्तिक धरातलमा निरंकुश एवम् जहानियाँ शासनविरूद्ध जनस्तरमा उठेको यो विद्रोह नेपालको इतिहासमा पहिलो जनविद्रोह एवम् जनयुद्ध थियो ।

८) कप्तान लखन थापा मगर द्वितीयको सैनिक एवम् राजनीतिक क्षमता
क) वर्तमान समयमा सेनामा ज्येष्ठता, शैक्षिक, योग्यता, आन्तरिक र वैदेशिक प्रशिक्षण, नेतृत्व र कार्यदक्षताका आधारमा प्रायः पदोन्नति गर्ने गराउने चलन रहेको छ । जङ्गबहादुरको हुकुमी शासन व्यवस्थामा बच्चा जन्मिँदै जर्नेल, कर्नेल तथा कप्तान हुन सक्ने चलन थियो । जङ्गबहादुर आफै कप्तानीबाट प्रधानमन्त्री भएका हुन् । कप्तान लखन थापा मगर द्वितीय भारतको अलमोडामा प्रारम्भिक शिक्षा प्राप्त गरेका मगर जनजातिका युवक थिए । अधिकांश मगर जनजाति रहेको पल्टन पुरानो गोरखगणमा भर्ना भए । आफ्नो सामरिक क्षमता, योग्यता, अनुभव, उपयुक्त एवम् सही निर्णय लिन सक्ने नेतृत्व र कमाण्ड गर्न सक्ने शीपको प्रदर्शन गरेको हुँदा १४ वर्षको छोटो अवधिमा एउटा सिपाहीबाट कप्तान हुनुमा उनीलाई कुनै अप्ठ्यारो भएन । हुकुमी शासनबाट हुकुम नै पदोन्नतिको मुख्य आधार थियो । स्थानीय जनश्रुति र लोकचर्चामा पनि उनीलाई कप्तान भनेर सम्बोधन गरिएको पाइन्छ ।
ख) विक्रम संवत् १९२० मा राजा सुरेन्द्र विक्रमका पालामा जङ्गबहादुर राणा प्रधानमन्त्रीले राजपुत र ठकुरीहरूलाई प्रदान गरेको वित्तीय सुविधासम्बन्धी लालमोहरमा भनिएको छ ‘संवत् १९११ मा तिब्बतसँगको युद्ध र १९१४ मा लखनऊसँगको युद्धमा सहयोग गरेबापत  ‘खस’लाई क्षेत्रीसरह मगर र गुरूङलाई कर्नेल पदमा पदोन्नति गरिएको छ ।’ (रेग्मी १९७०) यसरी मगर, गुरूङलाई पनि पदोन्नति गर्ने बाटो खुलेको देखिन्छ । अतः लखन थापा द्वितीय आफ्नो क्षमता तथा कुशलताको आधारमा जागिरको छोटो अवधिमा कप्तान दर्जासम्म पुगेको अनुमान सजिलैसँग गर्न सकिन्छ ।
ग) कप्तान लखन थापा मगर द्वितीय साधारण, सामान्य, शक्तिहीन, योजनारहित, लक्ष्यहीन र लहडी स्वभावका व्यक्ति नभई अत्यन्त प्रतिभाशाली युवा थिए । उनी आफ्नै पुख्र्यौलीहरूको पल्टन गोरख गणमा सम्मिलित भए । सेनामा जागिर खाएर राणाहरूको दमन, अत्याचार एवम् हैकमको अनुभव गरिसकेका थिए । कोतपर्व काण्डमा ठूलो ओहदामा बसेका मगर भारदारलाई उठ्न नसक्ने गरी प्रायः हत्या गरिएको थियो । सो घटनाबारे उनले राम्रैसँग मनन गरेका थिए ।
घ) भारतीय स्वतन्त्रता संग्राम वि.सं. १९१४ (सन् १८५७) को सिपाही आन्दोलनको विविध पक्षमा गहकिलो एवम् नजिकबाट अध्ययन एवम् अवलोकन गरेका थिए । फ्रान्सेली विद्वान् टिलौइनले आफ्नो कार्यपत्रमा लेख्नुभएको छ,  ‘Lakhan  Thapa  was  among  those Nepalese who were in contact with there rebel perhaps found in them a model for his own political programme.’ (2000)  आजादी एवम् तानाशाही तथा निरंकुशता एवम् प्रजातन्त्रको अन्तर र महत्वलाई लखन थापाले राम्रैसँग बुझेका थिए ।
ङ) स्वतन्त्र एवम् स्वाभिमान स्वभावका लखन थापा मगर द्वितीयको मुटुमा अंग्रेज साम्राज्यवाद तथा जङ्गबहादुरको अधिनायकवादी शासन प्रणालीको विरूद्ध विद्रोह तथा विरोधको ज्वाला एकसाथ दन्किएको थियो ।
च) उपर्युक्त कारणहरूले गर्दा उनी घरबिदामा गए । बिदा सकिए पनि उनी सेनाको जागिरमा फर्किएनन् । राणाहरूको तानाशाही तथा अत्याचारी शासन व्यवस्थाबाट देश एवम् देशवासीहरूलाई मुक्ति दिलाउने लक्ष्य लिई गोर्खा जिल्ला जस्तो अति दुर्गम क्षेत्रमा राजनीतिक र सैनिक संगठन गर्न गराउन थाले । बुङगकोट गाउँलाई आफ्नो शसस्त्र आन्दोलनको आधार शिविर बनाए । वास्तवमा नेपालको इतिहासमा यो पहिलो ऐतिहासिक घटना हो । तर, विडम्बना इतिहासकार बालचन्द्र शर्माले आफ्नो पुस्तकमा यस ऐतिहासिक घटनालाई  ‘लखन थापाको उत्पात’  लेखेर खिल्ली उडाएका छन् । ? 
छ) नेपालको इतिहासमा केवल तागाधारी शासकहरूको बनावटी कथा, प्रशस्तीगान, गुणगान तथा प्रशंसाहरू मात्र लेखेको पाइन्छ । अर्कोतिर राज्यको विस्तारबारे चर्चा परिचर्चाहरू मात्र गरेको देखिन्छ । आदिवासी जनजातिको, शोषित, उत्पीडित समुदायका प्रतिभाशाली ऐतिहासिक व्यक्तिहरूका सम्बन्धमा विस्तारमा अथवा विस्तृत विवरणहरू लेखिएको पाइँदैन । सकेसम्म होच्याउने प्रयास गरेको देखिन्छ । उदाहरणका लागि राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०४० सालमा प्रकाशित नेपाली बृहत् शब्दकोषमा लखन थापा द्वितीयलाई ‘महत्व नभएका ठट्यौली कुरा गर्ने व्यक्ति’  भनेर उल्लेख गरिएको छ । त्यस्तै इतिहासकार बालचन्द्र शार्मले ‘हास्यास्पद किसिमको विद्रोह र प्राचीन नेपाल’ २०३१ वैशाख २७ मा एउटा लुच्च मगरले श्री ३ महाराजधिराजका गाथमा दगा गर्न आफ्ना तहमा चल्ने मानिसहरूसँग मतजत गरी... ?   आदि भनेर उल्लेख गरिएको छ । (प्रथम शहीद लखन थापा स्मारिका २०६७ फाल्गुन ७ गते ) त्यस्तै इतिहासकार बीपी सिंहले पनि लखन थापा द्वितीयको बारे यसरी टिप्पणी गर्नुभएको छ,  ‘सैनिक जागिरबाट गएल परी हाजिर नभई जङ्गबहादुरविरूद्ध अभियान थालेको देखिन्छ ।’  (कान्तिपुर दैनिक साउन, ६, २०६८)
ज) जनजाति आदिवासी तथा उत्पीडित समुदायका प्रतिभाशाली तथा ऐतिहासिक महान् व्यक्तित्वहरूको सम्बन्धमा केही इतिहासकारहरूबाट नियोजित भ्रमित प्रचार भई आएको पाइन्छ । अर्कोतर्फ, एउटा साहसी तथा प्रतिभाशाली मगरको छोरो लखन थापा द्वितीय कुनै जात, धर्म, वर्ण, लिङ्ग र समुदायका निम्ति बलिदान भएका थिएनन् । सिंगै नेपालका लागि आफ्नो प्राणको आहूति दिएका थिए । नेपालको इतिहासमा यो पहिलो बलिदान र शाहदत प्राप्त गरेको ऐतिहासिक घटना थियो ।
९. राज्यको विभेदपूर्ण नीति :
क) लखन थापा मगर द्वितीयले आफ्नो निजी स्वार्थ तथा आवेशमा आएर निरंकुश शासन प्रणालीविरूद्ध आवाज उठाएको देखिँदैन । शोषित, पीडित, थिचो एवम् उत्पीडित पारिएका जनताको स्वतन्त्रता तथा हकहितको सुरक्षा गर्न उनले सशस्त्र विद्रोह गरेका थिए । जनस्तरमा जनतालाई राजनीतिक रूपले जागरूक गरेका थिए । जोशमनी धार्मिक सम्प्रदायलाई राजनीतिक दलका रूपमा प्रयोग गरेर जनतालाई जनसंघर्ष गर्न उत्प्रेरित गरेका थिए । जनताको स्वतः स्फूर्त सक्रिय एवम् सहयोगबाट राजनीतिक तथा सामाजिक परिवर्तनका लागि अघि बढेका थिए । यसै सन्दर्भमा सूर्यमणि अधिकारीले लेख्नुहुन्छ, ‘लखन थापा द्वितीयलाई नेपालमा जागरणका अग्रणीका रूपमा प्रायः विद्वान्हरूले स्वीकार गरेका पाउँछौं ।’  (वि.सं. २०५४)
ख) नेपालको पहिलो शहीद लखन थापा मगर द्वितीयको निर्ममतापूर्वक हत्या गरिएपछि पनि उनका परिवारका सदस्य तथा समर्थकहरूमाथि कठोर दमन, अत्याचार एवम् हिंसा यथावत् चलिरहेको थियो । ‘तैपनि स्थानीय जनताले उनको सम्मानमा वि.सं १९३३ सालमा घण्टा बनाई देवीलाई चढाएका हुन् भन्ने भनाइ छ ।’  (वैद्य २०२९) जनताको माया उनीप्रति कति थियो यसबाट पनि प्रमाणित हुन्छ ।
ग) त्यस्तै १३० वर्षभन्दा पनि बढी समयदेखि स्थानीय जनताले लखन थापा द्वितीयलाई भयँरी देउताका रूपमा पौष पञ्चमीको दिन अत्यन्त भक्तिभाव एवम् श्रद्धापूर्वक पूजा गर्ने तथा सम्झना गर्ने चलन बुङगकोट गाउँमा यथावत् कायम नै छ । यति धेरै ऐतिहासिक प्रमाणहरू हुँदाहुँदै पनि राज्यस्तरबाट विसं २०५६ फागुन ११ गते अर्थात् लखन थापाले सहादत प्राप्त गरेको १ सय २३ वर्षपछि मात्र जनदबाबमा शहीद घोषणा गर्नेबाहेक अरू केही गरेको छैन । प्रथम शहीदको घोषणा गरेर उनको शालिक शहीदगेट काठमाडौंमा स्थापित गर्न सकेको छैन । के यो राज्यको विभेदपूर्ण नीति होइन ?

निष्कर्ष :
जनताको छोराले जनताका लागि जनताको समर्थनमा कसैको अगाडि आफ्नो शिर निहुराएनन् बरू आफ्नो ज्यानको आहूति दिए । उनले निर्मम हत्यालाई स्वीकार गरे । त्यस्तै कारणहरूले गर्दा लखन थापा द्वितीय नेपालको इतिहासमा प्रथम शहादत प्राप्त प्रथम शहीद हुन् । 
लेखक मास्टर मित्रसेन स्मृति प्रतिष्ठान काठमाडौंका अध्यक्ष हुन् ।