- शैलेश श्रेष्ठ, न्यूयोर्क
समयसँगै सपनाको रंग, आयतन अनि आकार पनि फेरिएको छ, मेरो मानसपटलमा धिमा स्मृतिहरु जीवित छन माथिल्ला गाउँका जेठा राईदाईहरु सिजनमा पैसा कमाउन भोटाङ्ग जान्थे । माथिल्ला गाउँका खड्का मामाहरु नागाल्याण्ड अनि डिम्मापूर पुगेर भारु आर्जन गरेका कथा लोभलाग्दो गरि वर्णन गर्थे, ति स्कूले वर्ष र उमेरहरुमा उनीहरुले पैसा कमाएको कथा सुन्दा पढ्नु पर्ने त्यो उमेरमा मनको अन्तरकुन्तर खै कता हो कता नजानिँदो गरि द्रब्य लालच पैदा हुन्थ्यो । बाटोमै जोडिएको सेतो तीन तले घर अनि देख्नलाई प्रसस्त खेतबारी भएपनि हाम्रो घरमा नगद आर्जन अनि आयस्ता दुनियाले सोंचेको जस्तो हुँदैनथ्यो । मावली तिरका मामाहरु अनि घरका काका, दाईहरु सर्पको मणी र जंगलमा पाईने भनिएको कथिएको कालो गुजरगानोको कल्पना अनि कथा बुन्थे । कुरामा, कथाहरुमा अनि गाउँखाने कथाहरुमा पैसाकै बखान अनि बयान हुन्थ्यो ।
मेरो उमेर वर्गकालाई यस्तो लाग्थ्यो कि जीवनको अन्तिम अर्थ अनि सत्य नै ‘पैसा’ हो त्यसो हुनुमा अभाबको पीडा र नियमित आम्दानीको अभाब नै कारक थियो, त्यो सत्य ढिलै भए पनि म अहिले पो बुझ्दैछु । नामको पछाडि श्रेष्ठ लेखे पनि अनि जातले नेवार भएपनि बन्द ब्यापार हाम्रो पुस्ताले त के मेरो पाँच पुस्ता अघिको बाजे–बराजुले पनि गरेनछन । जातले नेवार भएपनि हामी माझ किराँतको पर्वते संस्कारमा हुक्र्याें अनि बढ्यौं । माझ किराँतका बस्तीहरुमा सिजन आएपछि गल्लावालको आँखा लाग्थ्यो । ब्रिटिस लाहुरे बन्ने सपना हामी किस्ताबन्दीमा देख्थ्यौं तर गल्लावालको आँखा परि हाल्ने आकर्षक कद र शारीरिक दक्षता भने मसँग थिएन त्यसैले होला म आफ्नो शरीर र औकात नापेर उचित बिकल्पहरुको खोजी गर्थें । तर कालान्तरमा आफूले कहिल्यै नदेखेको सपना अनि सम्भावनाको संसारमा मैले आफूलाई बलात अवतरण गरें ।
थुप्रै रुचीहरुलाई मैले गन्तब्य ठानेर अघि बढाए पनि कुनै कर्मको पनि तार्किक अवतरण गर्न सकिन । म यसपाली दशकौंपछि त्यहि स्वप्निल रंगीन सपनाहरु देख्ने देखाउने मेरो जन्मथलो भोजपुर जिल्लाको दावाँ बजार पुगेँ । बाटो, बस्ती अनि मानिसहरु निक्कै फरक लाग्यो । फरक देखिए पनि बिरानो चाँही लागेन । सपनाकोको स्वरूप, आयतन अनि रंगमा आमुल परिवर्तन भएछ । अरुहरुको कर्म अनि कमाईको कथा सुनेर हामी मुस्किलले काठमाडौँ पढ्न जाने अथवा बेलायती लाहुरे बन्नेसम्मको सपना बुन्थ्यों तर हिजो आज हाम्रै वर्ग अनि उमेरका मान्छेहरुको सपना ‘ग्लोबल’ बनेछ । करिब तीस बर्षअघि आफूले पढेको पाठशाला सिध्देश्वर माध्यमिक बिद्यालयको कक्षा कोठाहरु चाहार्ने अहोभाग्य मिल्यो । आफ्नो अमेरिकी जीवन, जिजिविषा अनि यषणाहरुका छोटो फेहरिस्त बताउने अभिप्रायले मैले केहि मिनेट राष्ट्रका भविष्य भनिएका अनि मानिएका बिद्यार्थी बहिनी(भाईहरुसँग आत्मीय भलाकुसारी गरें । अमेरिकाबाट आएको भनेपछि उनीहरुमा थप जिज्ञाशा अनि अपेक्षा हुने गर्दोरहेछ ।
त्यो सायद अमेरिकाले स्थापित गरेको आकर्षण हुन सक्छ । उनीहरुसँग परिचयात्मक वार्तालापको क्रममा म निक्कै भाबुक बनें । मेरा आँखाहरु रसाएको अनुभूति म आफैले गरें । मैले मेरो आफ्नो लामो अमेरिका बसाईलाई पश्चाताप र गर्वको बीचमा राखेर प्रस्तुत गरें किनकी यथार्थ यहि हो । कक्षा नौ र दशमा भाईहरुभन्दा बहिनीहरुको संख्या बढी थियो त्यो मेरो लागि अतिरिक्त खुसीको क्षण थियो । उनीहरुलाई मैले आफ्नो पहिलो जिज्ञाशा तेस्र्याएँ ‘तपाईहरुलाई अमेरिका जान मनपर्छ ?’ अधिकांसको जवाफ थियो ‘मनपर्छ ।’ तत्काल मैले फ्लासब्याकमा मैले आफूले सपना देख्दाका ति दिनहरु सम्झिएँ । अधिकांशले त्यस्तो सपना पाल्नु कुनै आश्चर्य थिएन किनकी हामीले नै त्यस्तो सपनाहरुलाई अनावश्यकरुपमा मलजल गरिदिएका छौं । छोटो समयमा उनीहरुलाई मैले यति मात्र भन्ने साहास गरें ‘भाई बहिनीहरु, तपाईहरुको सपना भनेको उच्च शिक्षा हाँसिल गर्नु र असल नागरिक बन्नु हो त्यति भईसकेपछि अहिलेको परिवर्तित बहुआयमिक विश्वमा तपाई जहाँ गए पनि सामाजिक र आर्थिकरुपमा समृद्ध अनि सुरक्षित हुनुहुनेछ । मेरा छोरा–छोरी अमेरिकामा पढ्छन अथवा मेरा छोरी–ज्वाईं अमेरिकामा काम गर्छन भनेर धक्कु लगाउने सामाजिक संस्कार भएको हाम्रो नेपालमा आम मानिसले सपनामा अमेरिका बुन्नु अनु सजाउनु कुनै अचम्मको कुरो हुँदै होइन तर दुखेको अमेरिका, अप्ठेरोमा जबर्जस्ती बाँचेको अमेरिका अनि भोगेको यथार्थ अमेरिकाको सानो अंश अनि चित्रको बयान नसुनाउनु चाँही हाम्रो कपट अनि बेईमानी हो । अमेरिकाको यथार्थमा हामी पुड्कै भए पनि मातृभूमी अवतरण गरेपछि हाम्रो स्वरूप अनि आयतन बडेमानको हुन्छ । त्यसैमा हामी उदात्त रमाउँछौं ।
पाठशाला घुमघामपछि मैले आदरणीय शिक्षकहरुसँग छोटो अन्तरंग आत्मीय अन्तरक्रिया गर्ने अभिलाषा राखें मेरो अन्तरमनको व्यग्र चाहनालाई यथोचित सम्मान गर्दै उहाँहरुले तत्काल एउटा गोलमेच भलाकुसारीको बन्दोबस्त मिलाउनु भयो । कृषि विषयलाई उच्च प्राथमिकता र प्रधानताका साथ पाठ्यक्रममा राखिएको रहेछ । एक्काईसौं शताब्दीको युग र चुनौतीलाई सामना गर्न सूचना अनि सञ्चारलाई स्वीकार नगरी अबको युग छिचोल्न सकिन्न भन्ने यथार्थ मेरो स्कूलले पनि मनन गरेको रहेछ त्यसैले होला कम्प्यूटरको बारे शिक्षा दिन कम्प्यूटर कक्षा पनि सञ्चालन गर्ने गरिएको रहेछ । मेरो जिज्ञाशालाई सम्बोधन गर्दै कक्षा शिक्षक गणेश श्रेष्ठले अप्ठेरो मानेर गुदी यथार्थ बताउनु भयो कि यथेष्ट कम्प्यूटर र बुजुली बत्ति नभएको कारण उक्त कक्षा प्रयोगात्मक नभएर सैदान्तिक मात्र हुने गर्दो रहेछ । दावाँ स्कूल आगो लागेर जलेपछि हामी संसार भर छरिएर रहेका पूर्वबिद्यार्थी र शुभचिन्तकहरुले आआफ्नो गच्छेअनुसारको सहयोग संकलन गरेर योस्तर अनि स्वरुपको स्कूल हामीले निर्माण गरेका थियौं । हामीले गरेको सानो सहयोग प्रति आमशिक्षक अनि बिद्यार्थीहरु निक्कै आभारी हुनु भएको मैले अनुभूत गरें ।
करिब १२ सय बिद्यार्थीहरुले पठन पाठन गर्ने यो स्कूललाई केहि संख्यामा कम्प्यूटर तथा ल्यापटपको जोहो गर्न सके मेरो जन्मथलोका भाइबहिनीहरुले तिनीहरुको सपना अन्त कहीँ बिसाउनु पर्ने थिएन । जानी नजानी अमेरिकाको हेजेमोनिक दम्भ देखाई सकेपछि अनि बोली सकेपछि मैले आफूलाई यथार्थमा निरिह पो महसुस गरें । मेरो स्कूलको त्यो दुःख हेरी सकेपछि ‘लु म मेरो स्कूलको लागि दश थान ल्यापटप प्रयोजन गरिदिन्छु ।’ भन्न सकेको भए पो दशकौं अमेरिका बसेको सार हुन्थ्यो तर न हाम्रो अमेरिकी लाहुरे जीवन हामीले खोक्रो आडम्बर बाँडेको जस्तो समृद्ध छ न त अमेरिका ति साना नानीहरुले सजाएको कोमल अनि निश्छल सपनाहरु जस्तो छ । बरु अमेरिका र हाम्रो औसत अमेरिकी जीवन त यस्तो छ ‘अरुले देख्दा, हेर्दा अनि सुन्दा असाध्य राम्रो अनि सुन्दर तर आफैले भोग्दा कठिन अनि जटिल ।’ त्यसैले त मैले दशकौंको अमेरिकी जीवन र भोगाईहरुलाई उतारेर बेला बखत सम्प्रेषण गरेको छु ‘यो अमेरिका होइन, आ–मरिखा पो हो तर गरिखाने साहसी श्रमजीवी ईमान्दारहरुका लागि चाँही आ–गरिखा पनि हो
Email: info@sampreshan.org
Comments