विचार

कपिराईट कानूनको फन्दा

प्रदिप परियार थापा मगर
कपिराईट अर्थात प्रतिलिपीअधिकार सर्जकहरुले आफ्नो सिर्जनाको कमाई या रोयल्टीबाट आर्थिक रुपमा लाभान्वित हुने र आफ्नो रचना अनधिकृत रुपमा चोरी हुन र बिना रोयल्टी अर्कै ब्यक्ति या कम्पनीले लाभ लिने परिपाटी अन्त्य गर्ने कानून हो । पहिलो पटक सन् १८८६ मा स्वीजरल्याण्डको बर्नमा भएको ‘बर्न कोन्भेन्सन फर दि प्रोटेक्सन अफ लिटरेरी एन्ड आर्टिष्टिक वर्क्स’ले प्रतिपादन गरेको कपिराईट (प्रतिलिपि) अधिकार अमेरिका, नेपाललगायत १७२ देशहरुले मान्यता प्रदान गर्दै आआफ्नो मुलुकमा कपिराईट कानून निर्माण गरी लागू गरेका छन् । तर सूचना र प्रबिधिको विकाससँगै सर्जकको रचना सर्जकको अनुमतिबिना पाईरेसी उत्पादन गरी वितरण गर्ने र उक्त पाईरेसी गरिएको सृजना कृति उपभोक्ताले सित्तैमा उपायोग गर्ने क्रमले नयाँ रुप र रंग बदल्दै जारी छ । यसको ठूलो मारमा गीत संगीत र चलचित्र पर्न गएको तथ्यहरुले देखाउँछ । यद्यपि पाईरेसी गरिएको संगीत र चलचित्रको कपी किनेर या डाउनलोड गरी हेरेमा, उक्त फाइल अन्यलाई सेयर गरेमा या मुनाफा कमाएमा कडा कानूनी दण्ड सजाय अमेरिका र नेपालमा समेत तोकिएको अवस्था छ ।
कपिराईटसम्बन्धी बर्न महासन्धीले देखिने (तेन्जिबल) सृजनाहरु (गीत संगीत, फिल्म, चित्रकला, मूर्तिकला, पुस्तक आदि) निर्माण र सृजना गर्ना साथ कहि कतै दर्ता नगरी कनै स्वतस्फूर्त रुपमा कपिराईटअधिकारको हकदार हुने ग्यारेन्टी गरेको छ भने लेखक रचनाकारको रचना कृतिमा उसको जीवनकाल र मृत्युपछि ५० वर्षसम्म कपिराईट्सअधिकार रहने छ । अमेरिकाको सन् १९७६ को कपिराईट्स कानूनले लेखक सर्जकलाई जीवनकाल र जीवन पर्यन्त ७० वर्षदेखि १२० वर्षसम्म प्रदान गरेको छ ।
नेपालको हकमा’ प्रतिलिपिअधिकार ऐन, २०५९’ को परिच्छेद–३, प्रतिलिपि अधिकार संरक्षणको अवधि, दफा १४ मा ‘रचयीतालाई प्राप्त आर्थिक र नैतिकअधिकार रचयीताको जीवनभर र निजको मृत्यु भएकोमा मृत्यु भएको वर्षबाट पचास वर्षसम्म संरक्षित हुनेछ’ भनिएको छ । सोही ऐनमा ‘व्यवहारिक कलासम्बन्धी रचना र फोटोजन्य रचनाको आर्थिक तथा नैतिकअधिकार त्यस्तो रचना तयार भएको वर्षबाट २५ वर्षसम्म संरक्षित हुनेछ’ भनिएको छ ।
नेपालको ‘प्रतिलिपिअधिकार ऐन, २०५९’काअनुसार कपिराईटअधिकार वर्खिलापकार्य गर्ने ब्यक्तिलाई ‘कसूरको मात्राअनुसार १० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिबानावा छ महिनासम्म कैद वा दुबै सजाय हुनेछ र दोस्रो पटकदेखि पटकै पिच्छे २० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवानावा एक वर्षसम्म कैद वा दुबै सजाय हुनेछ । त्यसरी प्रकाशन वा पुनरुत्पादन गरेको वा वितरण गरेको वा पुनरुत्पादन गर्न प्रयोग गरिएका सामग्रीहरु जफत हुनेछ’ भनिएको छ । यसका साथै, ‘संरक्षित अधिकारको उल्लङ्घन गर्ने व्यक्तिबाट प्रतिलिपिअधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्तिसमेत भराई दिनु पर्नेछ’ भनिएको छ ।
अमेरिकी कपिराईट्स कानूनका अनुसार कपिराईट्सको उल्ङ्घन गरेमा साधारण तया अमेरिकी डलर ७५० देखि ३० हजार डलरप्रति उल्लङ्घन जरीवाना तोकिएको छ । जानीजानी नियतवस (विलफूल) उल्लङ्घन गरेमा प्रति उल्लङ्घन १ लाख पचार हजार डलरदेखि ३ लाख पचास हजार डलर नगद र ५ वर्षसम्म कैद सजाय तोकिएको छ ।
अमेरिकी कपिराईट कानून कडा हुँदाहुँदै पनि अनधिकृत रुपमा गीतसंगीत र चलचित्रहरु डाउनलोड गरी सुन्ने, हेर्ने अवस्थामा भने कमी आएको छैन । बहुचर्चित अमेरिकी गायक, संगीतकार केन वेस्टको सन् २०१६ मा रिलिजभएको म्यूजिक एल्बम ‘दि लाईफ अफ पाब्लो’ ५ लाख पटक पाईरेटेड कपी गरिको कुरा बीबीसीले जनाएको छ । म्यूजिक वाच ईङ्कको सन् २०१६ को फेब्रुअरी २२ को रिपोर्टअनुसार अझै पनि ५७ मिलियन अर्थात ५ करोड ७० लाख अमेरिकीहरुले बिना लाईसेन्सको म्यूजिक सुन्ने गरेको उल्लेख गरेको छ । उक्त रिपोर्टमा सन् २००४ मा ४१ मिलियन अमेरिकिहरुले अबैधनिक रुपमा म्यूजिक डाउनलोड गरेको र सन् २०१५ मा चाहिँ २२ मिलियन अमेरिकीले अबैधनिक रुपमा म्यूजिक डाउनलोड गरेको म्यूजिक वाचले जनाएको छ ।
सीएनएनको सन् २००९ को जुन १९ तारिखको रिपोर्टअनुसार अमेरिकाको मिनेसोटा राज्यनिवासी महिला जेमीथोमस रसेटलाई उक्त राज्यको फेडेरल कोर्टले उनले २४ वटा गीतहरु पियर टु पियर फाईल सेयरिङ साईट काजाबाट सित्तैमा डाउन्लोड गरी अन्यसँग सेयर गरेको आरोपमा अमेरिकी डलर १. ९२ मिलियन (१९ लाख २० हजार डलर) जरिवाना तोकेको थियो । ति महिलालाई रेकर्डिङ इण्डष्ट्री एसोसिएशन अफ अमेरिकाले हालेको मुद्दामा प्रति गीतको ८० हजार अमेरिकी डलर दण्ड जरिवाना गरेको हो ।
त्यसैगरी, न्यूयोर्क टाईम्सको सन् २००९ को जुलाई ३१ को समाचारअनुसार बोस्टन युनिभर्सिटीका बिद्यार्थी जोएल तेनेनबमलाई मासाचुसेट्स राज्यको अदालतले अबैधानिक रुपमा म्यूजिक डाउनलोड गरी सेयर गरेकोमा अमेरिकी डलर ६ लाख ७५ हजार जरीवाना तोक्दै ४ वटा म्यूजिक लेबलहरुलाई तिर्न आदेश दिएको थियो । जोएलले सन् १९९९ देखि २००७ बीच ८०० गीतहरु डाउनलोड गरेको स्वीकार गरेका थिए भने अदालतले ३० वटा गीतको लागि ७५० डलरदेखि ३० हजार डलरसम्म जरिवाना तोकेको थियो ।
उता हड्सन क्रोनिकल्सले ‘रेकर्डिङ इण्डष्ट्री एसोसिएशन अफ अमेरिका’को रिपोर्टलाई उदृत गर्दै सन् २००४ देखि २००९ बीच अबैधानिक रुपमा ३० बिलियन (३० अर्ब) गीतसंगीत सित्तैमा डाउनलोड गरिएको र उक्त अबैधानिक डाउनलोडबाट म्यूजिक इण्डष्ट्रीलाई १२ अर्ब अमेरिकी डलर घाटा र ७१ हजार जनाको नोकरी गुम्न पुगेको जनाएको छ ।
आईपीवाचा डगको रिपोर्टअनुसार सन् २०१५ मा अमेरिकाको अदालतमा ५ हजार ८३० पेटेण्ट राईट्ससम्बन्धी मुद्दा परेको थियो भने स्ट्यानफोर्ड युनिभर्सिटीको रिपोर्टअनुसार कपिराईट्ससम्बन्धी सन् २०१६ मा ३२ वटा मुद्दा परेका थिए ।
नेपालमा कपिराईट्स उल्लङ्घन सम्बन्धमा निक्कै कम मुद्दा पर्ने गरेको एक प्रतिबेदनले जनाएको छ । नेपाल प्रतिलिपिअधिकार रजिष्ट्रारको कार्यालय, राष्ट्रिय वातावरण तथा स्वास्थ्य अध्ययन केन्द्र र सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयद्वारा तयार पारिएको ‘काठमाडौं उपत्यकाभित्र चलचित्रजन्य रचनाको अनाधिकृत प्रयोगको सम्बन्धमा गरिएको अध्ययनको प्रतिवेदन –२०६६÷०६७’का अनुसार ‘सर्वोच्च अदालतमा प्रतिलिपि अधिकारसम्बन्धी ६ वटा निवेदन परेकोमा १ वटा मात्र चलचित्र सम्बन्धीभएको अध्ययनबाट खुल्नआएको उल्लेख गरेको छ ।
कपिराईट्स कानूनलाई कडाईका साथ लागू नगर्दासम्म सर्जकहरु मारमा पर्ने निश्चित छ । अर्को तिर, नयाँनयाँ प्रबिधिको माध्यमबाट गीतसंगीत र चलचित्रसित्तैमा सुन्ने, हेर्ने, पाईरेसी सफ्टवेयरहरुको प्रयोग गर्ने क्रम जारी नै छ । पिटुपी सेयरिङ हुँदै स्ट्रीम (रिपिङ गर्ने प्रचलनले म्यूजिक इण्डष्ट्रीलाई थपमार पार्न गएको छ । तर सर्जक कम्पनीहरु अमेरिकामा कतिसम्म सजग छन् भन्ने कुराको दृस्टान्त यो पंक्तिकारको एक क्लाईण्टको निवासको इण्टरनेटबाट सन् २०१६ मा निर्माण र रिलिज गरिएको चलचित्र ‘मोना’ अबैधानिक रुपमा सेयर गरिएको भन्दै फायोस ईण्टरनेट सर्भिस दिने भेराइजोन कम्पनीले डिसेम्बर २८ तारिख २०१६ मा वार्निङ ईमेल पठाएको छ । उक्त ईमेलमा उक्त अबैधानिक प्रयोगसम्बन्धी नोटिस ब्राउसरको ल्यान्डिङ पेजमा देखाईने र यसबारे कम्प्लेन आई रहे ईन्टर्नेट स्पिड कम गरिने जनाईएको छ ।
अमेरिकी कपिराईट कानून कडिकडाउ लागू हुने हुँदा अमेरिकामा पाईरेटेड सामाग्री प्रयोग गर्दा ठूलो क्षति बेहोर्नु पर्ने कुरा माथि उल्लेखित घटनाहरुले पनि प्रष्ट गर्दछ । ९९ सेन्टदेखि १ डलर २९ सेन्ट पर्ने एउटा गीतलाई सित्तैमा डाउनलोड गर्दा र सेयर गर्दा ७५० डलरदेखि ८० हजार डलरसम्म हर्जाना तिर्नु पर्दछ । सर्जकको मिहिनेत र प्रतिभालाई मारेर मनोरञ्ज नलिने मानवघाती र आत्मघाती काम आजैबाट त्यागौं नत्र कपिराईट कानूनको फन्दामा फस्नुहोला ।

अतिथि सम्पादक प्रदीप परियार थापा मगर ‘युएस नेपालअनलाईन डट कम’ का प्रधान सम्पादक र ‘जातीयविभेद र छुवाछुतको अन्त हाम्रै पालामा’ (इण्डअफकास्ट डट कम) का अभियन्ता पनि हुन् ।