विचार

बहुल भाषावाद र राज्य व्यवस्थापन

विक्रम सुब्बा

के हो वहुलभाषावाद ? – कुनै पनि मुलुक वा समाजमा एउटा मात्र भाषा बोलिन्छ भने त्यसलाई ‘एकल भाषी मुलुक’ भनिन्छ । जस्तैः फ्रान्समा फ्रेन्च भाषा, थाइल्याण्डमा थाई भाषा, हंगेरीमा हंगेरियन भाषा, टर्कीमा जर्मन भाषा, ब्राजीलमा पोर्तुगिज भाषा, चेक रिपब्लिकमा चेक भाषा, चीनमा चिनिया (म्यान्डेरिन) भाषा, स्पेनमा स्पेनिस (थप ३ उपभाषिका समेत) भाषा, रसियामा रसियन भाषा र ईटालीमा ईटालियन भाषा, आदि ।
जुन जुन मुलुकमा एक वा एकभन्दा बढी भाषा बोलिन्छ त्यस्ता मुलुकहरूलाई ‘बहुभाषिक मुलुक’ भनिन्छ । जस्तैः सिंगापुर (अंग्रेजी, चिनीया, तामिल र मले) भाषा, भारत (पंजाबी, बंगाली, तामिल, महारष्ट्रियन, मारवाडी, कन्नड, आसामी, नेपाली, नागा) आदि, अमेरिका (अंग्रेजी, स्पेनिस, ईटालियन, जर्मन) आदि नेपाल (खस कुरा, नेपाल भाषा, मैथिली भाषा, भोजपुरी भाषा, अवधी भाषा, गुरुङ भाषा, मगर भाषा, लिम्बु भाषा, तामाङ भाषा, सतार भाषा, आदि) ।
कुनै मुलुकमा एउटा भाषा मात्र बोले त्यो ‘एकल भाषी मुलुक’ र एकभन्दा धेरै भाषा बोलिन्छ भने ‘बहुभाषिक’ मुलुक । तर, कुनै पनि बहुभाषिक मुलुकका मानिसले एउटाभन्दा बढी (२, ३, ४) भाषा सिक्नुपर्छ, बोल्नुपर्छ भन्ने नियम नै बनाएर लागु गरे ‘वहुलभाषावादी मुलुक’ कहलिन्छ । जस्तैः
१) सिंगापुरमा प्रायले अंग्रेजी, चिनिया, तामिल र मले भाषा बोल्दछन् किनभने स्कुलबाटै त्यस किसिमले सिकाउँने नीति लिइएको छ ।
२)    नेदरल्याण्ड्सका डचहरूको एकभन्दा धेरै भाषा सिक्ने परम्परा नै छ र हरेकले कम्तीमा ३ भाषा बोल्छन् । किनभने उनीहरूका अनेक उपनिवेश थिए र यूरोपमा पनि नेदरल्याण्ड्सबाट बाहिर निस्कने बित्तिकै अर्को भाषा बोल्नुपर्ने बाध्यता थियो र छ ।
३)    अमेरिकामा संवैधानिक रुपमा कुनै भाषालाई ‘राष्ट्रिय भाषा’ भनेर तोकिएकै छैन । अमेरिकामा जर्मन, स्पेनिस भाषा समेत धेरैले बोल्छन् र भनिन्छ ‘अबको १०० वर्षमा अमेरिकामा स्पेनिस भाषा बहुससंख्याले बोल्ने भाषा हुनेछ’, आदि ।
४)    भारतका पंजाबी (भाँगडा) गीत–नाच, राजस्थानी गीत–नाच, बंगाली गीत–नाच, गुजराती (डाँण्डिया) गीत–नाच सबैले बुझ्छन् । आदरपूर्वक हेर्छन्–सुन्छन् । अचम्म के छ भने भारतमा ‘हिन्दी’ कुनै जातिको ‘मातृभाषा’ होईन तर राष्ट्रभाषा बन्न पुगेकोछ । जातिय र भाषिक विविधताले जन्माएको भाषा हो हिन्दी ।
५)    नेपालका मधेसीहरू मध्ये १) हिन्दी, भोजपुरी, नेपाली, २) हिन्दी, मैथिली, नेपाली, र ३) हिन्दी, अवधी, नेपाली भाषा बुझ्ने र बोल्नेहरूमा वर्गीकरण गर्न सकिन्छ । त्यस्तैः काठमाण्डौ उपत्यकामा बसोबास गर्ने नेवार जातिहरुमा नेवारी, नेपाली, अंग्रेजी र हिन्दी भाषा बोल्ने(बुझ्ने कम्पिटेन्सी बढेको देख्न सकिन्छ भने धरान, विराटनगर, बुटवल, भैरहवा, पोखरा, नेपालगंज जस्ता शहरहरूमा आफ्नो मातृभाषा, हिन्दी, नेपाली र अंग्रेजी भाषामा मानिसहरूको, विविध कारणले, कम्पिटेन्सी बढ्दै गएको देखिन्छ । काठमाडौंका चुरौटेहरू चुरौटे, उर्दु, हिन्दी, नेवारी र नेपाली भाषा मजाले बोल्छन् । यसरी नेपाली समाज ‘बहुल भाषी’ समाजका रुपमा रुपान्तरित हुँदै गएको छ भन्ने देखिन्छ ।
६)    भन्ने पनि गरिन्छ कि जनस्तरमा विविध भाषा बोल्ने र एकार्कालाई बुझ्ने, आदर गर्ने प्रचलन छ, बरु सरकारी स्तरबाट एक भाषा, एक धर्म, एक सँस्कृतीको (अलिखित) नीति अपनाइको छ ।

बहुलभाषावादका फाइदाहरू ः
१) आफ्नो बाहेक अरुको भाषा पनि बोल्ने मानिसको दृष्टिकोण फराकिलो हुन्छ र ‘म मात्र ठीक, अरु सबै बेठीक’ ठान्ने कठमुल्ला (धारणा बदलेर) ‘मेरो सन्दर्भमा म ठीक तर अरुको सन्दर्भमा अरु नै ठीक’ भनि धारणा परिवर्तन गर्न सहयोग पुग्छ जसले गर्दा कुनै एक भाषिक मानिसले अर्को भाषिक मानिसप्रति आदर गर्ने मानसिक तथा सामाजिक वातावरण बन्छ । परिणामस्वरुप सामाजिक सदभावना बढने र द्वन्द कम हुने ।
२) आफ्नो बाहेक अन्य भाषाको समेत सम्मान गर्ने ‘एटिट्युड’को विकास हुने जसले गर्दा अन्य कुनै पनि भाषा सिक्दा पूर्वाग्रह नराख्ने भएकोले छिटो सिक्ने ।
३) समाजमा आफ्नो भाषा बोल्ने बाहेकका भाषाभाषी वक्तासँग पनि सञ्चारमा प्रभावकारिता बढ्ने जुन कुनै पनि व्यक्तिको सीपमूलक पुँजी नै हो ।
४) आफ्नो भाषा बाहेकको शब्द ज्ञान बढ्ने जसले गर्दा साँस्कृतिक (अनुवाद हुनै नसक्ने) शब्दहरू समेतको मर्म बुझ्ने क्षमताको विकास । जस्तैः ‘सोल्टिनी’, ‘खुकुरी’, ‘धर्म’, ‘मुन्धुम’, ‘देउसीभैलो’, ‘तीज’, ‘दोहोरी’, ‘ऊ’, ‘ओम मणि पद्मे हुँ’, ‘गाउँ खाने कथा’ जस्ता संस्कृतिजन्य शब्दावलीहरू अंग्रेजीमा ठ्याक्कै अर्थपूर्ण किसिमले अनुवाद हुनै सक्दैनन् । प्रयः गरे नजिक–नजिक त पुग्ला तर ठ्याक्क–दुरुस्त अनुवाद हुन्न ।
( तर, कुनै अंग्रेजले गुरुङ र मगर भाषा राम्रो सिक्यो भने ‘सोल्टिनी’को मर्मपूर्ण अर्थ बुझ्छ) नेपालको इतिहास राम्रोसँग नबुझ्ने कुनै अंग्रेजले ‘खुकुरी’ शब्दमा लुकेको नेपालीको दुश्मनलाई छपाछप काटेर विजयी–बहादुरी हुने रोमाञ्चित साँस्कृतिक–इतिहास खुकुरी शब्दमा लुकेको कुरा बुझ्न सक्दैन र ठाडो अनुवाद 'Nepali knife' को रुपमा मात्र अनुवाद गरे ‘खुकुरी’भित्र लुकेको नेपालीई तिहास नै हराउँछ ।  तेस्तै, लिम्बु भाषामा राम्रो कमाण्ड नहुनेले ‘मुन्धुम’ शब्दको मर्म बुझ्न सक्दैन । बुद्ध धर्म नबुझ्नेले ‘ओम मणि पद्मे हुँ’को मर्म–अर्थ बुझ्न सक्दैन । त्यस्तै, खस नेपाली संस्कृति–संस्कार राम्रो बुझ्ने अंग्रेजले ‘तीज’ शब्दको मर्म–अर्थ बुझ्दछ । (उसले ‘गाउँ खाने कथा’लाई ठाडो अनुवाद गरेर Village eating storyभन्दैन, अथवा ‘जिल्ला खाने पानी आयोजना’ लाई पनि ठाडो शब्दमा'A water project which eats up the district' भनेर अनुवाद गर्दैन ।)
५) बहुलभाषीहरू एउटै धार्मिक र साँस्कृतिक दृष्टिकोण मात्र सही अरु सबै गलत ठान्ने धार्मिक–साँस्कृतिक कठमुल्लाधीश हुँदैनन् । किनभने उनीहरू ‘जसरी मलाई मेरो सँस्कृति प्यारो छ अरुको सँस्कृति पनि उनीहरुलाई उत्तिकै प्यारो हुन्छ’ भन्ने कुरालाई मर्मसहित महसुस गर्छन् ।
६) एक भाषी कठमुल्लाधीशहरू भन्दा बहुलभाषी मानिसहरूको सोच्ने, काम गर्ने तरिका लचिलो (Flexible) हुन्छ जसले सामाजिक सद्भाव बढाउँन सहयोग पुग्दछ ।
७) नेपालका ४० लाख मानिस अहिले आफ्नो मातृ भाषा बाहेक नेपाली, हिन्दी, उर्दू, अंग्रेजी वा ईजराईली, अरबी, मले, कोरियन, जापनिज आदि भाषा सिक्न, बोल्न र विदेश गएर कमाउँन बाध्य भइरहेका छन् । अहिले आएर होटल तालिम केन्द्र, विश्व भाषा कलेज, कन्फ्युसियस केन्द्र र केही निजी क्षेत्रका स्कुलहरूले चिनिया भाषा पनि सिकाउन थालेका छन् । यसरी नेपाल विस्तारै बहुलभाषी समाजको रुपमा विकसित हुँदैछ ।

बहुलभाषा नीतिको अर्थ –
राजनीतिः नेपालमा भर्खर भर्खर नीजि स्कुलहरू खुल्दैगर्दा नेपाली पनि बोल्ने र अंग्रेजीमा पनि कमाण्ड भएका ‘दार्जिलिङ’का शिक्षकहरू खोजि–खोजि ल्याइन्थे । तेस्तै गरेर नेपालमा भर्खर–भर्खर ‘ट्राभल एजेन्सी’हरू खुल्दा पनि दार्जिलिङको इंग्लिस स्कुलका प्रडक्टहरूलाई खोजि–खोजि कर्मचारीका रुपमा ल्याइन्थ्यो ।
एउटा नेपाली मानिस जोसँग काम गर्ने सीप हुनुका साथै कोरियन भाषा पनि बोल्छ भने, कोरियन भाषा नबोल्नेको तुलनामा, उसले कोरियामा काम पाउँने चान्स त बढने नै भयो । यही कुरा ईजरायल, मलेशिया, कतार, जापान जस्ता मुलुकहरूमा पनि लागू हुन्छ ।
नेपालकै ‘प्रोजेक्ट’हरूमा अंग्रेजी परररर... बोल्नेहरूले छिट्टै जागिर पाउँछन् । जर्मन सहयोगको प्रोजेक्टमा नेपाली, अंग्रेजी र जर्मन भाषा समेत बोल्नेले छिट्टै जागिर पाउँछ र अझ बढी तलब पनि पाउँछ । यही कुरा जापानले सहयोग गरेका प्रोजेक्ट, फ्रेन्चहरूले सञ्चालन गरेका प्रोजेक्टहरू लगायतमा पनि लागू हुने गरेको छ ।
स्वीट्जरल्याण्डको एउटा अध्ययनले बहुलभाषी व्यक्तिले, एकल भाषीलेभन्दा उच्च तलब पाएको, बढी उत्पादनशील भएको, उसको जीडीपी समेतमा १०५ बढेको भन्ने देखाएको छ । आगीरडागको अध्ययन अनुसार अमेरिकामा एक भाषीले भन्दा बहुल भाषीले वर्षको ३ हजार डलर बढी कमाई गरेको समेत देखाएको छ ।
नेपालकै मैथिली वा भोजपुरी वा अवधी वा थारु वा डोट्याली वा जुम्ली वा तामाङ वा नेवारी भाषा लगायत नेपाली र अंग्रेजी भाषा समेतमा कामाण्ड भएको मानिसलाई गैर सरकारी संस्था वा प्रोजेक्टहरूले ग्राह्यताका साथ स्थानिय स्तरमा कर्मचारीका रुपमा लिने गरेकै छन् । अब प्रदेश नं. १ मा राई, लिम्बु भाषा समेत नेपाली र अंग्रेजी भाषामा कमाण्ड भएकाले काम पाउँने सम्भावना बलियो हुन्छ भने त्यस्तै हरेक प्रदेशमा पनि नेपाली, अंग्रेजी र स्थानीय भाषा जान्ने मानिस, काम पाउँन, प्राथमिकतामा पर्ने नै भए ।
चितवन जिल्ला अदालतले ११ (अंग्रेजी, नेवारी, थारु, गुरुङ, हिन्दी, अवधी, मैथिली, तामाङ, चेपाङ, भोजपुरी र मगर) भाषाका दोभाषे तोकेर राखेको (कान्तिपुर दैनिक, २२ चैत्र २०७२) कुरा पढ्न पाइयो । यी दोभाषेहरूले खस नेपाली बोल्न नजान्ने ‘पक्ष’ र ‘विपक्ष’का कुरा आफ्ना भाषामा भन्न लगाएर खस नेपाली भाषा मात्र बुझ्ने न्यायाधीश र वकिलहरूलाई अनुवाद गरी बुझाउँने भए । यो नेपालको निम्ति व्यबहारिक उपाय हो । यो किसिमको सेवा नहुँदा ‘गाई म¥यो र काटेर खायौं’ भन्ने कुरालाई तामाङले ‘गाई मा¥यो र काटेर खायो’ (तामाङको बोलीमा खस नेपालीको ‘म¥यो’ भन्न पर्दा ‘मा¥यो’ हुन जान्छ । ( जसका कारण नेपालीमा उच्चारणमा ‘अ’ आउँछ तर, त्यही शब्द तामाङमा उच्चारणमा ‘अ’ नभएर ‘आ’जस्तो स्वर ध्वनि हुन आउँछ । त्यसैले ‘म¥यो’ भन्न खोज्दा ‘मा¥यो’ हुन जान्छ । भनेकै भरमा गाई मारेको कबुल गरेको ठहरियो र जेल सजाय भोग्नु परिरहेकोछ । यो किसिमको दोभाषेहरूको व्यवस्था अब हरेक जिल्ला अदालत लगायत अन्य सबै तह र सबै सेवा प्रदायक अड्डाहरूमा हुनुपर्दछ । यसको निम्ति नीति बनेमा नीजि क्षेत्रबाट हरेक जिल्लास्तरमा कम्ंपनीहरू खुलेर तालिम प्राप्त गरी सेवा दिने काम हुनेछ । अहिलेलाई यस्तो सेवा वकालती सेवा प्रदायक (नोटरी सेवाजस्तै) कम्पनीहरूबाट सेवा दिन सुरु गरे पनि हुन्छ ।
नेपालमा अब प्रान्तहरू बन्नेछन् । प्रान्तहरूले आफ्ना छुट्टै ऐन पनि बनाउनेछन् । यो प्रकृयामा, उदाहरणको निम्ति, लिम्बु, राई, तामाङ, नेवारी, गुरुङ, मगर, शेर्पा, थारु, मैथिली, भोजपुरी, अवधी, डोट्याली, आदि भाषामा निहित प्रथाजन्य कानुनहरू त्यही भाषामा बुझ्नेहरूले नै प्रान्तीय कानुन बनाउँदा प्रथाजन्य कानुनलाई पनि ‘कानुन बनाउँने स्रोत’का रुपमा लिन सक्नेछन् । प्रथाजन्य कानुन नबुझ्नेले त उही ‘हिन्दू विधि शास्त्र’ वा पाश्चात्य कानुनका स्रोतहरूलाई आधार मान्लान् र कानुन बनाउलान् जुन व्यबहारिक हुँदैन । परिणामस्वरुप द्वन्द बढने भयो ।
स्नायुविज्ञैनिक अध्ययन गर्दा पनि– मस्तिष्क घात भएकाहरूको उपचार शिलशिलामा बहुलभाषीहरूले आफ्नो भाषाका विर्सेको शब्दको ठाउँमा (आफूले जानेको) दोस्रो भाषाको शब्दावली हालेर पनि वाक्य पूर्ण गरेर बोल्ने र आफ्नो कुरा भन्ने प्रयास गरेको पाइएको छ । त्यस्तै गरेर मनोवैज्ञानिक रुपमा हेर्दा पनि बहुलभाषी मानिसको निर्णयहरू कम पूर्वाग्रही हुने, सबै पक्षको विचारलाई समेटेर निर्णय गर्ने र राम्रो (जिम्माको) व्यवस्थापन गर्ने गरेको पाइएकोछ ।

बहुलभाषी देशहरूका सूचना पाटीहरूः
ब्रसेल्समा डच र फ्रेन्च दुई भाषामा लेखिएको सूचना पाटी
हङकङ–मकाउको पानी जहाजमा– पोर्तुगीज, चिनिया, जापानी र अंग्रेजीमा लेखिएको बहुलभाषी सूचना पाटी ।
भारतको बेँगलोरमा– अंग्रेजी, कन्नड र हिन्दी भाषामा खतराको सूचना पाटी ।
मद्रासको चेन्नईमा– तामिल, अंग्रेजी र हिन्दी भाषामा लिखित सूचना पाटी ।
क्यानाडाको भेङकुभर हवाई अड्डामा– अंग्रेजी, फ्रेन्च र चिनीया भाषामा लेखिएको सूचना पाटी ।
दक्षिण भारतको एक्सप्रेस रेलको नाम– कन्नड, हिन्दी, तामील र अंग्रेजी भाषा तथा लिपिमा लेखिएको सूचना पाटी ।
यूएईमा– अरवी, अंग्रेजी र उर्दूमा लेखिएको सूचना पाटी ।
उत्तर जापानमा– जापानी, अंग्रेजी र रुसी भाषाको साइनबोर्ड । आदि ।
भाषा शास्त्रीहरूका अनुसार अफ्रिकाका ५०५ समुदाय बहुलभाषी छन् । भारतका धेरै मानिसले दुइ वा तीन भाषा बोल्छन् । क्यानाडा जस्तो मुलुकले अंग्रेजी र फ्रेन्च दुबै भाषालाई सरकारी भाषा मान्ने ‘अनिवार्य’ नीति बनाएको धेरै भइसक्यो । त्यस्तै सिंगापुरमा ४ भाषा चलिरहेकाछन् भने मलेशियामा पनि बहुलभाषा चलिरहेको पाइन्छ ।
डाइग्लोस्सिक (Diglossic) समाजः कुनै कुनै समाजमा बोलिने भाषाहरूमा धेरै भाषाका शब्द र संरचनाहरू समेत एकापसमा वितरित वा मिसमास भएर चल्छन् भने त्यस्तो समाजलाई डाइग्लोस्सिक भनिन्छ । जस्तैः यूरोपका क्षेत्रीय भाषा बोलिने क्षेत्रका समाजहरू जहाँ अनौपचारिक रुपमा एउटा भाषा बोलिन्छ तर औपचारिक प्रयोजनका निम्ति अर्को भाषा बोलिन्छ । उदाहरणका रुपमा फ्रिसियन (नेदरलेण्ड्स, जर्मनी र डेनमार्कको समुद्री किनारमा बसोबास गर्ने समाज जो औपचारिक रुपमा छुट्टै भाषा बोल्छन् तर अनौपचारिक रुपमा आफ्नै भाषा बोल्दै आएका छन् ।) भारतको मुम्बइमा ‘टपोरी’ भाषा छुट्टै छ तर औपचारिक रुपमा, मराठी, अंग्रेजी र हिन्दी बोलिन्छ ।
हिन्दी फिल्मभित्र भाषाको प्रयोगलाई राम्ररी हेर्ने हो भने हिन्दी, पञ्जाबी, उर्दु, मराठी, गुजराती, मारवाडी, बंगाली, अंग्रेजी शब्दहरू भरमार मिसाइको हुन्छ । बहुलभाषीहरूको बोलीमा शब्द र संरचना पनि मिसिन्छन् । जस्तैः उदाहरण १ (मुम्बईमा बोलिने एक उदाहरण) ‘उसने हमरा हिन्दी Film like किया ! उदाहरण २ – (दिल्लीको एउटा होटलमा सुनेको) ‘बोलो साप Breakfast कित्ने बजे खाओगे ?’ ३ – ‘ये कुडिये Beautiful है’ ।
नेपालमै पनि ‘शास्त्रीय नृत्य’लाई ‘क्लासिकल डान्स’ भनेको बढी सुनिन्छ, ‘योग’ शब्द ‘योगा’ भइ सक्यो । ‘सुक्ला फाँट’लाई अंग्रेजीमा Sukla Phanta लेखियो र रोमन अक्षरहरूको उच्चारण विधि अनुसार Phanta मा फाँटको चन्द्र विन्दुको निम्ति प्रयोग गरिएको n लाई ‘न्’ गरेर प्रयोग । फेरि देवनागरीमा अंकितीकरण गर्दा ‘सुक्ला फान्टा’ बनाइ सकिएको छ । 'Film' गर्दैछु (फिल्म गर्ने होईन ‘खेल्ने’ हो तर ‘गर्दैछु’ चलिसक्यो), ‘Album को Recording चल्दैछ ।’ ‘मेरो गीतको Arranger ले राम्रो Arrange गरिदियो’, ‘गाडी (हिन्दी) Start (अंग्रेजी) गर्नोस् (नेपाली) । आदि अनेक शब्द र संरचनाहरू मिसमास हुन थालेकै देखिन्छन् । अहिले त कतियप विदेश गएर काम गरेर त्यहाँको भाषा सिकेर नेपाल फर्केकाले त्यहीँको शब्द पनि मिसाएर बोलेको सुनिन्छ । केही दिन अघि एकजनाले ‘मेरो Motor bike मा तेल खलास (सकियो) भयो यार’ भनेको मैले सुनेँ । आदि ।
अर्थात, कुनै पनि समाज ऐतिहासिक र अन्य अनेक कारणले मिस्सिने गर्छन् । मिस्सिएर सँगै बस्दा भाषा–संस्कृति पनि लेनदेन गर्छन् । यो समाज विकासको क्रम र गतिलाई कुनै पनि सरकारले रोक्न सक्दैन । बरु जे–जस्तो नियम बनाएई दिए समाज अझ छिटो र राम्रो गरी अघि बढ्छ त्यस्तै नियम सरकारले बनाइदिए समाजहरूले ‘यो मुलुक मेरो पनि हो’ भनि ठान्ने मुलुकमा छिट्टै विकास हुने पनि हुन्छ । नेपालका प्रान्तहरूलाई पनि बहुलभाषिक प्रान्तका रुपमा विकास गर्न सके नेपालप्रति सबै जातजातिको समेत  ‘मेरो भन्ने भावना (Belongingness feeling)’ जाग्ने छ । जस्तैः
१) नेपालको प्रदेश नं १ – लिम्बु, राई, शेर्पा, लेप्चा, मेचे, धिमाल, राजवंशी, सतार, अंग्रेजी र खस नेपाली भाषीहरूको बहुलभाषिक प्रदेश ।
२) नेपालको प्रदेश नं. २ – थारु, मैथिली, भोजपुरी, हिन्दी, अंग्रेजी र खस नेपाली भाषीहरूको बहुलभाषिक प्रदेश ।
३) प्रदेश नं. ३ (नेवारी, तामाङ, चेपाङ, थारु, जिरेल, अंग्रेजी र खस नेपाली भाषीहरूको बहुलभाषिक प्रदेश ।
४) प्रदेश नं. ४ र ५ – मगर, गुरुङ, थकाली, थारु, भोजपुरी, अवधी, हिन्दी, अंग्रेजी र खस नेपाली भाषीहरूको बहुलभाषिक प्रदेश ।
५) प्रान्त नं ६ र ७ – थारु, डोट्याली, सिंजाली–जुम्ली, हिन्दी, अंग्रेजी र खस नेपाली भाषीहरूको बहुलभाषिक प्रदेश ।
नोटः यो एक Food for thought का रुपमा मस्यौदा प्रस्ताब मात्र हो । यसमा थपघट र Fine tune गर्न सकिन्छ । आशय– नेपालका हरेक प्रदेशहरूलाई ‘बहुलभाषिक’ प्रदेशका रुपमा विकास गर्नु पर्छ भन्ने हो । यसो गरे, नेपालका हरेक समाजका बीचमा सद्भाव शत प्रतिशतले बढ्ने पक्का छ । हरेक भाषाभाषीले ‘नेपाल’लाई ‘मेरो’ भन्ने छन्, ‘हाम्रो’ भन्नेछन् र विस्तारै नेपाल Merely administrative state बाट माथि उठेर सबैको निम्ति Nation बन्नेछ । यसो नगर्ने र अझै पनि पृथ्वीनारायण शाहको, राणाहरूको पालाको, पञ्चायती व्यवस्थाको बेलाको जस्तै ‘एकल भाषा’ ‘एकल धर्म’ ‘एकल सँस्कृति’ नीतिलाई निरन्तरता दिने हो भने नेपाललाई Fatalism ले नै कहिल्यै विकास हुन दिँदैन भनेर डोरबहादुर विष्टले भनेको कुरा सही हुनेछ तर तानाशही ‘एकात्मकता’का विरुद्ध हरेक नागरिकसँग विद्रोह गर्ने सार्वभौम अधिकार सुरक्षित रहनेछ ।
सन् १९५१ सम्म (राणा, शाह र गुरुज्यू खलक बाहेक) सर्वसाधारणलाई शिक्षा लिने अधिकार नदिइएको समाजलाई सरकार(हरू)ले नै (खस नेपाली भाषा र हिन्दुत्व लादेरे सही) गाउँ–गाउँमा स्कुल खोलेर शिक्षा दिने अनि शिक्षित जनतालाई ‘राणा शासनको या पञ्चायती व्यवस्थाको बेलाको जस्तै ‘ज्ञानी’ भनएर हामीले जे–जे भन्छौँ मान्दै बस’ भन्यो भने ईरानको राजा शाहले आफ्ना कैयौँ युवालाई अमेरिकामा प्रशिक्षित भएर, (अमेरिकाको) प्रजातन्त्र समेत देखेर–चाखेर फर्केका शिक्षितहरूलाई ‘राजाकै निरंकुश शासनको समर्थन गर’ भन्दा शाहको शासन नै फालिन पुगेको घटना जहाँ पनि घटिरहने घटना हो भनेर बुझ्नुपर्छ । यो प्रकृयालाई रोकेर शासन गर्छु भन्ने धारणा (Concept) नै निरंकुश धारणा हो । राणा र राजाका निरंकुसताका बिरुद्ध लड्न सिकाउँने कांग्रेस–कम्युनिष्ट पार्टीहरूले ‘राणा’ र ‘राजा’ बिरुद्ध लड्ने जनताले हामी ‘कांग्रेस र कम्निष्ट’का बिरुद्ध त लड्न जान्दैनन् भनि ठान्ने मुर्खता नगरे हुन्छ ।  कांग्रेस र म्युनिष्ट भन्ने दोकान खोलेर जनतालाई लुटिरहने ‘बेईमान राजनैतिक व्यापारी’लाई के कस्तो कारबाही गर्नु पर्छ भन्ने कुरा नेपाली जनताले जानि सकेकाछन् ।