विचार

उठाउँदैछ शीर पश्चगमनले

शैलेश श्रेष्ठ 
न्यूजर्जी 

अहिले पुनरुत्थानवादीहरु देशदेखि बिदेशसम्म बहुरिएको छन् । अनेक रूप, आवरण, बहना अनि कलेवरमा आम मानिसले देख्न सक्ने गरि सतहमा आएका छन् । त्यसको पछिल्लो बदनीयतपूर्ण धूमिल दृश्यको पटाक्षेप एनआरएन अमेरिकाले मनाउने भनी घोषणा गरेको पृथ्वी जयन्तीको मञ्चमा भएको छ । आखिर गैर आवासीय नेपाली संघ अमेरिका र त्यसका हर्ताकर्ताहरुले आफु भित्र लुकेर बसेको प्रतिगमन अनि पश्चगमनको दमित चाहना अन्ततः सार्वजनिक गरेका छन् । अहिले त्यो अभिष्ट बिभिन्न बहनामा जति छोप्यो त्यति देखिने स्थितिमा आईपुगेको छ । मित्रराष्ट्र भारतले मातृभूमी नेपालमा लामो अनि कष्टकर अमानवीय नाकाबन्दी लगाएको अप्ठेरो परिस्थितिलाई भजाएर नेपाली पोशाकको सार्वजनिक उर्दीमा बहुरिएको देखाउने राष्ट्रवाद अहिले नेपालको वर्तमान शाशकीय संरचनाको धज्जी उडाउँदै पश्चगमनको सपना बुन्ने बहनाको अर्को अध्याय बनेर अगाडी आएको छ । 
यो दूरदराजबाट निर्देशित खेलमा बिशेष गरेर यहाँका संघीयता, गणतन्त्र अनि धर्मनिरपेक्षता बिरोधी गठबन्धन सक्रिय भएर लागिपरेका छन् । अगाडीको पंक्तिमा जो जसरी देखिए पनि प्रवासमा बसेर विष्णुको अवतारलाई बहु¥याउने सपना बोकेका पुराना राजावादीहरु, महामन्त्री शशांक कोइरालाको हिन्दुराष्ट्र जगाउने मन्त्रणामा लठ्ठ परेका कांग्रेसीहरु र ओलीको लबेदा सुरुवाल अवतारमा संघीयता बिरोधी याचना गर्दै ताली बजाउने प्रवासी रमिते एमाले कार्यकर्ताहरु सक्रिय छन् । यिनै तीन तिर मुख अनि बिचार फर्किएकाहरुको अहिले नाईटो जोडिएको छ । तिनको अन्तर्निहित बस्तुगत स्वार्थ भनेको बर्ग अनि विचार केहि होइन नश्लवाद हो जहाँ नश्लको आधारमा शासन गर्न उनीहरु उद्दत भएका छन् ।       
बिवादहरुको डंगुरमा घस्रिएर मुश्किल एक कदम अगाडी बढेको एनआरएन अमेरिका बिवाद बिना बाँच्नै नसक्ने भएको छ । कर्मबीर नेपाली सपूत महाबीर पुनसंग न्युयोर्कमा सामुदायिक अन्तरक्रिया गराएर एनआरएन अमेरिकाले धेरै समयपछि बल्ल एउटा असल, सान्दर्भिक, समसामयिक अनि अग्रगामी काम गरेर हामी आम प्रवासी नेपाली अनि एनआरएन अमेरिकाका सदस्यहरुलाई गर्विलो बनाएको केहि दिन र घण्टाहरु पनि नबित्दै त्यहाँ भित्रका प्रतिगमनकारी एकात्मक राज्य ब्यबस्थाका हिमायती नश्लवादीहरुले बिभिन्न संघ–संगठनहरुसंग मिलेर पृथ्वी जयन्ती मनाउने कार्यक्रमको नेतृत्व गर्न षडयन्त्रपूर्ण कार्यक्रम सार्वजनिक गरेका छन् । ‘काम कुरो एकातिर पार्टीको कुम्लो बोकी ज्याक्सन हाईट्स तिर’ गर्नेहरु र हाम्रो साझा संस्थालाई राजनैतिकरूपले कब्जा गर्छु भन्ने कार्यकर्ता र केहि पश्चगमनका पक्षधरहरुले हाम्रो एनआरएनलाई थप लंगडो र निकम्बा बनाउन यो चक्रब्यूह रचेको कुरा अब घाम जस्तै छर्लङ्ग भएको छ । 
प्राथमिकताका दर्जनौं बिषयहरुलाई पर धकेलेर उनीहरु प्रतिगमनको गोटी बनिरहेका छन् । अमेरिकी सरकारले नेपालले पाएको टी.पी.एस. दर्जालाई अरु अठार महिनाको लागि   नवीकरण गरिदिएको छ । आम सेवाग्राही हाम्रा मान्छेहरु महंगो सेवा शुल्कबाट ठगिएका छन् तर उनीहरु नसुने जस्तो गरेर कानमा तेल हालेर बसेका छन् । वर्तमान कार्यसमितिको एक चौथाई कार्यकाल बाँकी छ तथापि बडाहाकिमहरु तथाकथित टाउन हलको नाम दिएर देश दौडाहमा निस्किएका छन् । जिन्दगी भर मन्दिर बनाउँछु भनेर कुर्लेर हिड्नेहरु चुनाबको मुखमा आएर सामुदायिक भवन निर्माणको पासा सामाजिक संजालमा फालेर हामीलाई तौलिरहेका छन् ।     
विचारको राजनीति गर्न पाउने स्वाधीन अनि नैसर्गिक अधिकार हरेक मान्छेसँग हुन्छन् । पृथ्बी जयन्ती मनाउने या नमनाउने स्वाधीन हक–अधिकार हरेक नेपालीलाई छ । मानिसले ब्यक्त गर्न पाउने त्यस्तो आस्थाको म पुरापुर सम्मान गर्दछु तर के एनआरएनए जस्ता संगठनले यस्तो बिवादास्पद कार्यको नेतृत्व गर्नु जायज हो त ? अहिले हामीले उठाउनु पर्ने यक्ष प्रश्न चाँही त्यो हो । अब भोलीका दिनहरुमा नेपालका प्रथम शहीद लखन थापाको जन्म जयन्ती मनाऔं भनेर अर्को समूह अथवा वर्गले प्रस्ताव गर्दा के यो कार्यसमिति राजी हुन्छ ? अनि हुन्छ भने के अब प्रवास भरि हाम्रो एनआरएनले उताको उत्सब, जयन्ती अनि चाडबाड मात्र मनाएर बस्ने ? यसै पनि प्रवास यानेकी कर्मक्षेत्रका विषय, सवाल र मुद्दाहरुमा एनआरएनले काम गर्न नसकेको आम गुनासो छ । 
यसो भनिरहँदा पृथ्बी जयन्ती मनाउने उनीहरुको निर्णयलाई अपर्झट अनि अचानक कसैले ल्याएको बहुलठ्ठीपूर्ण प्रस्ताब मात्र हो भनेर हामीले बुझ्ने गल्ती गर्नु हुँदैन । अब उनीहरुको अभिष्ट, नियत अनि बैचारिक गठबन्धनलाई सूक्ष्मरूपले चिरफार गर्नु पर्दछ । यो पश्चगमनकारी चक्रब्यूह र षडयन्त्रलाई स्वाधीनता अनि स्वतन्त्रताका पक्षधर अग्रगमनकारीहरुले समयमै नरोक्ने हो भने अब भोलीका दिनमा यिनीहरुले मुलुकमा राष्ट्रवाद कमजोर भो भन्ने बहानामा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्न तम्सनेछन् । सबै पार्टीका नेताहरुको जयजयकार गर्ने संगठन र हनुमानहरु यत्रतत्र छन्, त्यस्तो काम त्यो संगठन र ब्यक्तिहरुले गर्न गरेकै छन् तर एनआरएनएले चाँही यस्तो झिनामसिना विषय र प्रसंगलाई आफ्नो प्राथमिकतामा राख्नु हुँदैन भन्ने मात्र मेरो जिकिर हो । 
एनआरएन अमेरिकाको कुन र कहाँ अनि कहिले भएको बैठकले यो बिवादास्पद निर्णय गरेको हो त्यसको विधानसम्मत जानकारी आम सदस्यहरुलाई दिनु पर्ने अहम् दायित्वलाई नेतृत्वले कसरी आत्मसात अनि सम्बोधन गर्छ हामी त्यसको निगरानी गर्नेछौं । मौजूदा विधानले प्रत्याभूत गरेको त्यस्तो ‘राईट टु नो’ को बैयक्तिक हक हरेक साधारण सदस्यहरुलाई छ । त्यस्तो लिखत अनि प्रमाणसहितको स्वेत–पत्र जारी गरेर एनआरएन अमेरिकाको वर्तमान नेतृत्व र कार्यसमितिले समयमै याचनासहित सच्चिने साहस गर्नु पर्दछ भने आम प्रवासी नेपाली र एनआरएन सदस्यहरुले यो खाले प्रतिगमनकारी चक्रब्यूह तोड्न थप सचेत हुन जरूरी छ ।