कला-साहित्य

आह्वान विदेशीएका लाई

बिगारे देश नेताले भन्छौ विदेशमा बसेर,
सपार्ने देश काम नै तिम्ले गरेका के छौ र ?
चिन्ता भए देशको फर्केर नेताको कान समाऊ,
त्यो तिम्रो बाहुबलले साहु देशको धपाऊ ।१।

विदेशमा बस्छौ, भएन भन्छौ देशको बिकास,
फर्केर कोहि आएनौ देशमा दिनलाई निकाश ।
देशका सपुत नबन कपुत अब हात उठाऊ ?
त्यो तिम्रो बाहुबलले साहु देशको धपाऊ ।२।

नेतालाई गाली गरेर तिमी चोखिन पाउँदैनौ,
देशका सन्तान के भन्छौ जब देशमा आउदैनौ ?
कर्णधार देशका त्यो मनमा अब उत्साह जगाऊ,
त्यो तिम्रो बाहुबलले साहु देशको धपाउ ।३।

ति नेता काईते, जनता घाईते, देश मृत्यु शैयामा,
खर्चियौ श्रम, पसिना धन, विदेशी पैसामा ।
निरासा मनको, नेपाली जनको लौ आशा जगाऊ,
त्यो तिम्रो बाहुबलले साहु देशको धपाऊ ।४।

थाहा छ सबलाई, विदेशमा काम गर्नलाई साह्रो छ,
देशमा केहि गर्न, देशको ऋण भर्न त्योभन्दा गाह्रो छ ।
एकजुट हुन सबैले सुन लौ हात समाऊ,
त्यो तिम्रो बाहुबलले साहु देशको धपाऊ ।५।

शहरमा नेता शान छ वेग्लै, खाएर सलामी,
गाउँमा छैन युवा कोहि मर्दा जानलाई मलामी ।
जीवनको मूल, देशलाई फूलवारी झैं बनाऊ, 
त्यो तिम्रो बाहुबलले साहु देशको धपाऊ ।६।

ति बुढी आमा पँधेरो गर्छिन् बच्चो गाई चराउँछ,
लुटेरा घुम्छन् खेतको बाली खेतबाटै हराउँछ ।
ए कर्म बीर उठाई शीर देशलाई बचाऊ,
त्यो तिम्रो बाहुबलले साहु देशको धपाऊ ।७। 

हुँदैन बन्नु जीवनमा कैल्यै अर्काको करिया,
यो भन्दै हिड्थे ती महानन्द बनेर भरिया ।
गुलामी छोड त्यो बाटो मोड देशतिरै घुमाऊ,
त्यो तिम्रो बाहुबलले साहु देशको धपाऊ ।८।

देवकोटा भन्थे हातको मैला के गर्नु धनले,
साग र सिस्नु खाएको बेश आनन्दी मनले ।
फर्केर आउ यि बाँझा खेतमा हिरा सुन फलाऊ, 
त्यो तिम्रो बाहुबलले साहु देशको धपाऊ ।९।

के गर्नु छ र ? यि अर्ती ले नी, आफ्नै ताल गरेसी,
विदेशमा गई विदेशी भई विदेशमै मरेसी ।
पुकार्दै छ देश सन्तति मेरा अब त फर्की आऊ ,
त्यो तिम्रो बाहुबलले साहु देशको धपाऊ ।१०।