विचार

मैले देखेको धरहराको टुप्पोबाट ३६० भ्यू

प्रदिप परियार थापा मगर
९ तल्ले धराहराको टुप्पोबाट काठ्माडौं उपत्यकालाई एक चक्कार ३६० डिग्री कोणबाट हेर्ने अवसर पाएकोमा मैले आफूलाई भाज्ञमानी ठानेको छु । २५३ वटा भ¥याङ रुपी सिढीहरु चढेपछि धरहराको टुप्पोमा पुग्न सकिन्थ्यो । टुप्पोमा रहेको सानो तल्लाको भुईंमा शिब लिङ्ग, भित्तामा गणेश र एक देविको मूर्ति स्थापित थियो । यो मेरो पातालबाट स्वर्गको यात्रा जस्तो धरहराको चढाई ‘स्टेयर केस टु हेबन’को परिकल्पना जस्तै थियो । सन् २००५ देखि सार्वजनिक प्रवेश खुल्ला गरिएको धरहराको टुप्पोमा यो पंक्तिकार सन् २००६ को अक्टुबरमा चढ्ने मौका पाएको थियो । धरहराको आठौं तल्लामा रहेको बृत्ताकार बाल्कोनीबाट एक चक्कर मारेर काठमाडौं उपत्यकालाई नियाल्दाको मजा अर्कै थियो । मैले तेतिखेर काठमाडौंलाई डिजिटाईज गर्ने हेतुले काठमाडौं, ललितपुर, पाटन र भक्तपुरका केहि महत्वपूर्ण साँस्कृतिक र धार्मिक सम्पदाहरुको फोटो र भिडियो खिचेको थिएँ । यो लेखमा सन् २००६ को अक्टुवरमा खिचेको धराहरा र त्यसको ९ वर्षपछि सन् २०१५ को अप्रिलको महाभूकम्प पछि गत वर्ष अक्टुवरमा खिचेको भग्नावशेस धरहराको फोटोहरु र त्यससँग जोडिएका मेरा स्मृतिका पानाहरु पल्टाउँदैछु ।

सन् १८३२ मा तत्कालिन प्रधानमन्त्री भिमसेन थापा मगरले निर्माण गरेको धरहरा नेपालको सबैभन्दा अग्लो मानव निर्मित सम्पदा थियो । यो २०३ फिट (६१.८८ मिटर) अग्लो थियो । तर यति अग्लो धराहराको टुप्पोमा भित्रभित्रै स्पाईरल सिढी चढ्दै जाँदा मैले देखेको खाँबो चैं शायद ढुङ्गा, ईटा र बिषेश प्रकारले मिसाईएको माटोबाट निर्मित जस्तो थियो जसको कारण पोहर सालको ७.९ रेक्टर स्केलको भूईंचालो आउँदा गल्र्याम्म ढल्नु पुग्यो । धरहरामा महाभूकम्पमा परी  मृत्यु हुने ति ६० जना को को हुन् कठै ? धरहरा अघिल्तिरको सानो गार्डेनमा नेपाली, अंग्रेजी, जापानीजलगायत भासामा लेखिएको ‘विश्वमा शान्ति फैली रहोस्’, "May Peace Prevail on Earth” लेखिएको ति ध्वजाखम्बाहरु अहिले कहाँ गए होला ? धरहराको टुप्पोमा रहेका ति मूर्तिहरु कतै धुस्नु भए कि ? या कसैले भेटाएर लाग्यो होला ? यो पंक्तिकार कुचुक्क बसेर फोटो खिचेको धराहराको टुप्पो नबौं तल्लाको त्यो कोठा खसेर कहाँ भासियो होला ? आम्मै, त्यो आठौं तल्लाको बाल्कोनी यो पंक्तिकार सन् २००६ मा चढ्दा पनि हावाले हल्लाएको महशुस हुन्थ्यो, कहाँ गयो होला ?
खुशीको कुरा, निवर्तमान प्रधानमन्त्री केपी ओलीको सरकारको पालामा सन् २०१७ मा धराहराको पुनर्निर्माण गर्ने निर्णय भएको छ । आशा गरौं, हामी फेरि छिट्टै धरहरा चढ्न पाऔं । र यो पाली चैं भूईचालोले नढलाउने र हावाले नहल्लाउने बाल्कोनीबाट काठमाडौं उपत्यकाको ३६० भ्यूको मजै अर्को हुनेछ ।
अतिथि सम्पादक प्रदीप परियार थापा मगर ‘युएस नेपाल अनलाईन डट कम ’ का प्रधानसम्पादक र ‘जातीय विभेद र छुवाछुतको अन्त हाम्रै पालामा’ (इण्डअफकास्ट डट कम) का अभियन्ता पनि हुन् ।