कला-साहित्य

'बज्दैन यहाँ मार्क्स र लेलिनको खोपडीहरु'

कम्रेड ...!
च्याब्रुङको तानालाई इजार 
र जनैलाई जुत्ताको तुना बनाएर
पशुपतिलाई सुगुरको गोखान बनाउ 
अनि ,
सहोदर बहिनीलाई जग्गेमा राख
तब बज्छन यहाँ –
माक्र्स–लेलिनको खोपडीहरु ।
तर तिमी त 
कुनै गैरजातिले जनै छुन्छ कि भन्दै 
कुनै कामी, दमाई र सार्कीहरु मन्दिरमा पस्छ कि भन्दै 
लाटो कोसेरोको आँखा जस्तो ट्वाल्ल हेरिरहेको छौ 
र त बज्दैन यहाँ माक्र्स र लेकिनका खोपडीहरु ।
तिम्रो बिहेमा नौमती बाजा बजाउँदै 
दमाईहरु लर्को–लर्को हिड्छन 
उनैले बजाएको नरसिंहामा निम्तो बाड्छौ
तिनै दमाईले बजाएको सनैको धुनमा नाच्छौ ,
एउटा कामीले–
कुरुप फलामलाई आफ्नै पसिनाले रुप दिन्छ 
र तिनै रुपले तिम्रो दैनिकी चल्छ
अफ्सोच–
तिनै कामीले 
तिनै दमाईले 
पानी गाग्रो छुन्छ कि भनेर तर्केर हिड्छौं 
कतैभित्र पस्छ कि भन्दै हतार हतारबाहिर निक्लन्छौं,
त्यसैले कम्रेड ...!
बज्दैन यहाँ माक्र्स र लेलिनको खोपडीहरु ।
कम्रेड ...!
मनभरी अतिजातिबादको तमसुक बोकेर
यो समाजमा हसिया–हतौडा नबजाउ
तिम्रो नाराहरुले सम्बोधन गर्दै–गर्दैन 
तिनै हसिया र हतौडा चलाउने मनहरुलाई,
मात्र– 
एउटा आस्वासनको मीठो सपना देखाएर
भीरमा ठेलिरहेको छ जीवन ।
यो माटोले च्याब्रुङको आवाज खोजिरहेको छ 
यो माटोले डम्फूको ताल रोजिरहेको छ 
यो माटो ढोल र झ्याम्टासँग गीत गाउन खोजिरहेको छ 
यो माटो साकेला नाच्न खोजिरहेको 
र बर्बराइरहेको मुन्धुम ।
त्यसैले, कम्रेड ...!
बज्दैन यहाँ माक्र्स र लेलिनको खोपडीहरु

कप्पोबा चुम, पाँचथरे

हालः मलेसिया