खेलकुद

सुरुंगा गोल्डकपको उपाधि एपीएफलाई

झापा– झापाको सुरुङ्गामा शनिबार सम्पन्न सुरुङ्गा गोल्डकप फुटबलको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । शनिबार भएको फाइनलमा रुपन्देही ११ लाई टाइब्रेकरमा ५–३ ले हराउँदै एपिएफले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटसम्म दुवै टिमबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलमा पहिलो गोल एपिएफका राजेन्द्र रावलले गरेका थिए । रुपन्देहीका बिमल घर्ती मगरले बराबरी गोल फर्काएपछि निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएको थियो । निर्धारित समयमा गोल गरेर खेल बराबरी गर्ने बिमल टाइब्रेरकमा भने गोल गर्न चुकेका थिए । उपाधि विजेता एपिएफले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता रुपन्देही ११ ले २ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।