कला-साहित्य

कविता- खाँचो

बज्रकुमार थुलुङ
हाल : हङकङ


यो
नितान्त
निर्जन
जीवनको जर्जरता
कसरी पार गरुँ !
यतिबेला मलाई
तिम्रो आदर्श प्रेमको खाँचो परेको छ प्रिय !
 
एकपटक,
तनमन खुम्च्याएरै
भाग्यलाई धिक्कारेरै
मिश्रित भैदेउ
म र मभित्रका
असीमित चाहनाहरुसँग ।
 

तिम्रो कृपालु साथले
फैलिन चाहन्छुे
झाँगिन चाहन्छु
मौलाउन चाहन्छु
जिन्दगीको नांगो पहाडभरी ।
 

मभित्र
अटसमटस
बिषाप्त विवशताहरुको ज्वालामुखि फुटेर
बग्न चाहन्छु
रगत, आँशु र पसिनाको
समुद्र भएर
त्यो फेरि फेरि,
नफुट्ने
नटुट्ने
नबग्ने गरी
आफूभित्रभित्रै ।
 
हेर न प्रिय !
म र मेरा गतिशील पाइलाहरु
बाध्यताका चरम पहाडहरुले
थुम्काथुम्की, घुम्ति र अनगिन्ती मोडहरुले
छेकिरहेछन्् रोकिरहेछन्  अन्मलाइ रहेछन्
 
एक निमेष नै सही,

मेरो दृष्टिको सम्मुख
हाम्रो त्यो स्वप्निल हिमचुली
कुल्चन चाहन्छु प्रिय !
कतै मेरा पाइलाहरुसँग
तिमी नहिंडेर पो हो कि !
या तिमीभित्र मलाई
तिमीले
मेटेर  च्यातेर फालेर पो हो कि !
म नासिंदै छु
भासिंदै छु
विक्षिप्त मनभित्रभित्रै ।
यतिबेला मलाई
तिम्रो आदर्श प्रेमको खाँचो परेको छ प्रिय !