कला-साहित्य

कविता– घोषणा

असल कार्य गर्दा पनि आपत्ति,

गर्दै नगर्दा त झन् विपत्ति, दुर्गति,
निःशब्द रहनु, भाव–अभिव्यक्ति नगर्नु,
धेरै बौद्धिक कुरा नगर्नु, धेरै बाठो नहुनु,
सके सास पनि नफेर्नु, बरू अस्त हुनु,
आफू पनि केही गर्न नसक्नु, अरूले पनि नगर्नु ।
आपत्ति...
आपत्ति,
विरोध...
विरोध...
निष्क्रियमणिता,
अकर्मण्यता,
क्लीष्टता,
अझ क्लीष्टता,
अशिष्टता,
घोर अशिष्टता,
गर्नेहरू,
मर्नेहरू,
सदैव ओझेलमा,
नगर्नेहरू प्रचारमा ।
मूर्खहरूको मूर्ख–चाला,
मूर्खहरूकै बोलबाला,
केही नलेख्नु अरे,
हात बाँधरे बस्नु अरे,
सबै शून्यहरू ००००० अरे
सबै न्यूनहरू...............अरे,
लेखे पनि नदेख्ने अरे,
गाए पनि नसुन्ने अरे ।
बरू कुकुर भुकेको सुन्ने अरे,
भ्यागुताको फोस्रो भाषण सुन्ने अरे ।
पुर्खाको चिहान खोतलेको हेर्ने अरे,
मानचित्र च्यातेर घर तोड्ने अरे,
सबै आफै महान नेताहरू भए अरे,
सबै आफै सर्वोत्कृष्ट कलाकार अरे ।
यसरी धुन र संगीत, साहित्य र कला
कालो मुठीले दबाएको लौ हेर गला,
नीच मानसिकताको स्वरमा स्वर मिलाउने,
दिग्भ्रमित नेतृत्वको हो मा हो मिलाउने,
यस्तो मानसिकता र संस्कारको गरम छ बजार
यस्तो विचारको चारैतिर छ जोरदार प्रचार ।
अनुभवि कालिगढले केही नगर्नु अरे,
कुशल नेतृत्वले पनि केही नछुनु अरे ।
चोरहरूलाई पुरस्कार दिनु अरे,
मूर्खहरूलाई स्याबासी दिनु अरे,
अल्छेहरूलाई राष्ट्रिय श्रम पुरस्कार अरे,
शोषकहरूलाई मालदार मन्त्रालय दिनु अरे,
बलात्कारीहरूलाई महिला सेवा सम्मान अरे,
जनता हेपुवाहरूलाई जनसम्पर्क विभाग अरे ।
विसंगतिहरू....
दुर्गतिहरू....
यत्रतत्र.....
सर्वत्र.....
असल कार्यहरूलाई यसरी भत्सर्ना गर्नेहरू,
साहित्यकार, कलाकारको गला निमोठ्नेहरू,
साहित्य र कलाका संरक्षक अरे,
झुटो प्रचारले उनीहरू अघि सर्ने अरे ।
ज्ञान रोपेको पाठशाला पाठशाला,
बुख्याँचाहरूको चर्तिकला, नाट्यशाला,
गाउँभरी बुख्याचाका झण्डाहरू,
सोझालाई सताउने डण्ठाहरू ।
श्याबास बाङ्गो मानसिकताहरू,
धन्यवाद कालो सचेतताहरू,
गाउँतिर अझ दुर्गन्ध फैलिरहने भो,
शहरतिर अझ बिडम्बना जन्मिरहने भो,
बुख्याँचाहरूको कालो शासन
अब राष्ट्रिय विपदको सूचना भयो ।
विभाजित मानसिकताको विभाजन,
अब जनयुद्धको घोषणा भयो ।
ढुंगा सरह निष्प्राण रहेर
विनाश भएको कुकर्म सहेर,
लियो टाल्सटय इतिहासमा कति बाँच्नु बाँच्यो,
एक्लो हो चिःमिन्ह कति हाँस्नु हाँस्यो ।
मूर्खहरूलाई मञ्चमा निम्त्याएर 
खादा माला सम्मान दर्शाएर,
अझ कति साहित्यको दर्शन कुल्चने हो,
अझ कति संगीतको सिद्धान्त बटार्ने हो ।
कि फेरि अर्को मार्क्स लेनिन,
शेक्सपियर जन्मनु पर्ने हो,
कि अर्को अर्को देवकाटा, लेखनाथ, सम जन्मनु पर्ने हो,
कि अस्तु, आइन्स्टाइनको
नयाँ सिद्धान्त जन्मनु पर्ने हो,
कि अर्को हिटलर र
अर्को नेपोलियन जिउँदो जाग्नु पर्ने हो ।
एटम बम्ब र न्यूक्लियर अस्त्र पनि
डाइजेस्ट गर्छौं भन्छन् मूर्खहरू,
सुनकै सडक भवन निर्माण गरिदिए पनि केही गरेनन् भन्छन् मुखौटेहरू,
कि जिब्रो जिब्रोमा उनीहरूलाई बन्चरोले होइन, 
विचारको तीखो तीखो धारले चिथोरिदिनुपर्छ,
कि मुखै मुखमा मूर्खहरूको मेलो मारेर,
सबैले जल अभिषेकले पापहरू पखालिदिनुपर्छ,
अब पनि मूर्खहरू यो गाउँमा नचिच्यावोस्,
कसैको शुद्ध मनभित्र आक्रोश नपसाओस् ।
अब यो नयाँ विचार रोपेको गाउँ र शहरहरूमा 
होङरायो र हिपोपोटामसहरूको खेल बन्द गर्नुपर्छ,
युगौंदेखि दिउँसै मानिसहरूलाई अकमक्क पार्ने,
कालो जादुगरहरूको सफाइ अभियान थालिनुपर्छ ।
नत्र साइलक र जुडासहरू ङिच्च हाँस्दै नमस्कार गर्दै,
दैलो दैलोमा दयाको भिक्षा माग्दै आइबस्छ,
दयाले पाएको त्यो भिक्षा बटुलेर एकदिन,
यति शक्तिशाली बन्छ कि गाउँ नै सखाप पार्छ,
मानवता मास्छ, दानवता बढाउँछ,
ज्ञान नास्छ, अज्ञानता फैलाउँछ ।
फेरि उनीहरूकै नाटक हेरिरहने,
पुरानै दस्तुरहरू स्वीकारिरहने.. ?
कि नयाँ सुधार र नयाँ निर्माणको
परिवर्तन अभियानमा उत्रिने...?
चोइज् इज् युवर्स्, विकल्प मार्ग आफ्नै हो,
मिस्टेक् इज् युवर्स्, संशोधन कार्य आफ्नै हो ।

विजय वान्तवा
गान्तोक, सिक्किम