कला-साहित्य

रोई फुर्सद छैन

रोई फुर्सद छैन हेर कविता के प्रितलाऊँ यहाँ ?
माटो नै सरी जान्छ खेर कविता के गीत गाऊँ यहाँ ?
निन्द्रामै पनि फुर्छ धेर कविता छोडेर जाऊँ कहाँ ? 
दुख्दा देश त हुन्छ शेर कविता खेदि भगाऊँ कहाँ ? ।।१

त्यो गंगाजलमा पसेर जलकै धारा लगाऊ कहाँ ?
तेजि छन् जब सूर्यचन्द्र नभमा दीपै जलाऊ कहाँ
स्वर्गैको त बयान इन्द्रसित नै के पो लगाऊ यहाँ
गोपी छन् सब कृष्णका नजरमा जाउँ सुदामा कहाँ ? ।।२

मान्छेकै भर आँट गर्न नसकी हारेर संसारमा
भाग्छन् मानिसदेखि नै नरहरु खोजेर जंघारमा
भन्छन् डुक्कुर हो भनेर दुनियाँ कुर्लेर बेकारमा
मान्छे तुल्य त बैगुनी अरु कुनै देखिन्न संसारमा ।।३

नातावाद र शक्तिवादहरुकै हाबी छ यो लोकमा
चिल्लापत्थर चम्किएर सहजै बन्छन् नि मोती जहाँ
आँखा लाउन चाहदैंन दुनियाँ ठानी पराई जहाँ
के पो अमृत नै मथेर भबमा राखौं न सौगातमा ? ।।४

रामशरण न्यौपाने
काठमाडौं