खेलकुद

नेदरल्याण्डलाई हराउने पहिलो टोली बन्यो नेपाल

काठमाडौ– आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले पराजित गरेको छ । नेदरल्यान्डको आमस्ट्रडममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारि ५० ओभरमा नौ विकेट गुमाउँदै २१७ रनको योगफल तयार गरेको थियो ।

२१८ रन विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्डले ४८.३ ओभरमा सबै विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो । नेपालका लागि सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मीले २–२ तथा शक्ति गौचन, सन्दिप लामिछाने र सागर पुनले १–१ विकेट लिए । नेपालले प्रतियोगिताको सुरुवात भने राम्रो गर्न सकेन । नेपालले २२ रन जोड्दा पहिलो विकेटका रुपमा अनिल मण्डललाई गुमायो । मण्डल चार रन जोड्दै बाहिरिए । त्यस्तै नेपालका अर्का ब्याट्सम्यान शरद भेषवाकर पनि छ रन जोड्दै दोस्रो विकेटका रुपमा आउट भए ।

तेस्रो विकेटका रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो । ५२ बल खेलेका मल्ल एक चौका र एक छक्काको मद्वतमा व्यक्तिगत ३९ रन जोड्दै बाहिरिए । त्यतिबेला नेपालले जम्मा ६५ रन जोडेको थियो । तर नेपाली टोलीका कप्तान पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले । खेलको १४ दशमलव ४ ओभरमा भेषवाकरको ठाउँमा मैदान प्रवेश गरेका कप्तान खड्काले प्रतियोगितामा अर्धशतक बनाए ।
चौरानब्बे बल खेलेका उनले सात चौका र एक छक्काको मदतमा ८४ रन जोडेका हुन् । त्यस्तै कप्तान खड्काले सागर पुनसँग ११८ रनको साझेदारी गरे । अठहत्तर बल खेलेका पुनले दुई चौका प्रहार गर्दै ४५ रन जोडे ।

त्यसैगरी, विनोद भण्डारीले १७, वसन्त रेग्मीले चार तथा सोमपाल कामीले दुई रन जोडे भने राजु रिजाल रन नजोडी आउट भए । शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्डसँग सात विकेटको विशाल अन्तरले पराजित भएको थियो ।

यसैबीच प्रतियोगितामा नेदरल्याण्डलाई हराउने नेपाल पहिलो टोलीसमेत बनेको छ । समूहमा १२ अंकसहित नेदरल्याण्ड शीर्ष स्थानमा यथावत छ । यस्तै हंङकङ र स्कटल्याण्ड समान ९–९ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । ८ अंकसहित पपुवा न्यूगिनी चौथो र केन्यासँग बराबर ६ अंक भएको नेपाल  रन अन्तरमा अंक तालिकाको छेठौ स्थानमा छ ।