राजनीति

पशुपतिले बेइमानी गरेः कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग पार्टी एकताको सम्भावना समाप्त भएको बताएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंगलबार पत्रकार सम्मेलन गरी एकताको अध्याय नै समाप्त भएको बताए । दुई दिनअघि मात्रै विभिन्न नौ बुँदे सहमति गर्दै राप्रपा अध्यक्ष पशुपति शमशेर राणा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले संयुक्त विज्ञप्ति जारी गर्दै साउन २५ गते एकीकरण घोषणा गर्ने तय गरेका थिए ।
वृहत्त एकता घोषणा गर्ने तयारी भएको अघिल्लो दिन मात्रै दुई दलको एकता तुहिएको हो । दुई दलबीचको एकता तुहिएपछि एकले अर्कोलाई आरोप लगाएका छन् । थापाले राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक बेइमानी गरेकोसमेत आरोप लगाएका छन् भने राणाले विधानमै कुरा नमिलेको बताएका छन् । सोमबार मात्रै राणाले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल राप्रपा नेपालसँग एकता नहुने बताएका थिए ।
एकताको प्रक्रिया अघि बढिरहेका बेला राप्रपाले सोमवार नै दुई जनालाई दाहाल सरकारमा पठाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार नै राप्रपाका दुई मन्त्रीलाई मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
२६ साउन, २०७३ ।