राजनीति

नेबिसंघको विवाद मिल्यो, महाधिवेशन प्रक्रिया शुरु

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थीसंघको ११ औं महाधिवेशनको बाँकी प्रक्रिया आजबाट शुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण दुई दिन स्थगित भएको बन्द सत्र विवाद सुल्झिएसँगै आबाट शुरु हुने भएको हो ।  कांग्रेस नेता प्रकाशशरण महत संयोजक रहेको निर्देशक समितिले सबै विवाद प्याकेजमा समाधान गरेपछि महाधिवेशनको बन्दसत्र आज हुने भएको हो । महाधिवेशनको बन्दसत्र सम्भवतः दिउँसो १२ बजेपछि सुरु हुनेछ ।

सङ्घको महाधिवेशन उद्घाटन यही साउन २३ गते भए पनि ११ जिल्लामा प्रतिनिधि छनौटबारे विवाद हुँदा निर्धारित समयमा बन्दसत्र हुन नसक्दा मुलुकभरबाट आएका हजारौँ विद्यार्थी नेता कार्यकर्ता निर्वाचन हुने÷नहुने भन्ने अन्यौलमा देखिएका थिए ।
पार्टीले सङ्घको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न नेता डा प्रकासशरण महतको संयोजकत्वमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेको निर्देशन समिति गठन गरेको थियो ।

सो समितिले निरन्तर थालेको प्रयासपछि दुवै पक्षलाई चित्त बुझ्नेगरी ११ जिल्लाका प्रतिनिधिको नाम थपघट गरी विवाद मिलाउने प्रयास भएको हो ।