राजनीति

मन्त्रीमण्डल विस्तारः तीन मन्त्री थपिए

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले साना दललाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका हुन् । प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (संयुक्त) का एक गरी तीन जनालाई मन्त्रिमण्डलमा सहभागी गराएका हुन् । 

विस्तारित मन्त्रिमण्डलमा राप्रपाबाट दीपक बोहरा र विक्रम पाण्डे र नेकपा (संयुक्त) बाट जयदेव जोशी मन्त्री भएका छन् । 

नवनियुक्त मन्त्रीहरुले सोमबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्  ।

यससँगै मन्त्रिपरिषद् नौ सदस्यीय बनेको छ  । यसअघि यही साउन २० गते सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) का प्रधानमन्त्रीसहित चार र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका तर्फबाट दुई गरी छ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।