राजनीति

९ वर्षपछि नेविसंघको महाधिवेशन शुरु

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन काठमाडौंमा शुरु भएको छ ।  ११ जिल्ला सहित केही क्याम्पसका प्रतिनिधि छनोटमा देखिएको विवाद मिलाउन थालिएकाले महाधिवेशनको उद्घाटन सत्र ढिलो गरेर सुरु भएको हो ।

कांग्रेस सभापति देउवाले ११ वटा मैन वत्ती बालेर महाधिवेशनको उद्घाटन गर्नुभएको हो । महाधिवेशनलाई उद्घाटन गर्दै सभापति देउवाले प्रजातन्त्रको दिगो विकास,शैक्षिक क्षेत्रको सुधारको लागि नेपाल विद्यार्थी संघ आवश्यक रहेको टिप्पणी गर्नुभयो ।

सभापति देउवाले संविधान कार्यान्वयनमा सहयोग पुर्याउन र देशको विकासको लागि नेविसंघ सशक्त भएर लागिपर्ने टिप्पणी गर्नुभयो । सानातिना विवादलाई थाति राखेर प्रजातान्त्रिक प्रणालीवाट महाधिवेशन सम्पन्न गर्न सभापति देउवाले महाधिवेशनमा सहभागि हुन आएका महाधिवेशन प्रतिनिधिसंग आग्रह गर्नुभयो ।

उद्घाटन समारोहमा पार्टी सभापति देउवासहित नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत उपस्थित हुनुभएको थियो ।   महाधिवेशनमा देशभरका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी झण्डै ३४ सय प्रतिनिधिले भाग लिएका छन् । नेविसंघमा अध्यक्षसहित पदाधिकारीका लागि एक सय भन्दा धेरैले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

संघको अध्यक्षमा हालसम्म  जितजंग बस्नेत, नैनसिंह महर, मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेद्वारी घोषणा गरेका छन् ।

आमरण अनशन पनि जारी
नेपाल विद्यार्थी सङ्घका नेताहरुले विधिवत् महाधिवेशनको माग गर्दै गरेको आमरण अनशन आज नवौँ दिनसम्म पनि जारी छ । विधानविपरीत ल्याइएको प्रतिनिधि खारेज गर्नुपर्ने, वास्तविक प्रतिनिधि मात्र कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी काठमाडौँ उपत्यकाका साथै अन्य जिल्लामा वैधानिक तवरले अधिवेशन गर्नुपर्ने लगायत माग राखी दुई समूह छुट्टाछुट्टै अनशन बसेका छन् ।

नेविसङ्घका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र नेविसङ्घ रामेछापका पूर्वउपाध्यक्ष रत्नहरि ढुङ्गेल यही साउन १५ गतेदेखि तथा नेविसङ्घका अर्का नेता भोलानाथ शर्मा साउन २० देखि आमरण अनशनमा छन् ।

पूर्व केन्द्रीय सदस्य सापकोटाले आफ्नो अनशन जारी रहेको बताए । सापकोटा यसअघि पनि विधानसम्मत महाधिवेशनको माग राखी नौ दिनसम्म अनशन बसेका थिए ।