खेलकुद

सागका विजेता खेलाडीलाई सरकारको सम्मान

काठमाडौं– सरकारले १२ औँ दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । भारतको गुवाहटी र सिलोङमा भएको प्रतियोगितामा पदक जित्ने खेलाडी र संघलाई सरकारले बिहीबार नगदसहित सम्मान गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पदक जित्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको हो । स्वर्ण पदक जित्ने संघ, खेलाडी र प्रशिक्षकलाई ५ लाख, रजत पदक जित्नेलाई ३ लाख तथा कास्यपदक जित्नेलाई २ लाख रुपैयाँ प्रदान गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टलगायतले खेलाडीलाइ सम्मान गरे ।
गत फेब्रुअरी ५ देखि १६ तारिखसम्म भारतको गुवाहाटी र सिलोङमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण २३ रजत र ३४ काँस्यसहित ६० पदक जितेको थियो ।  उक्त प्रतियोगितामा व्यक्तिगत र टिम इभेन्ट्समा पदक जितेका १७९ खेलाडी, ५१ प्रशिक्षक तथा १८ संघलाई पुरस्कृत गरिएको हो ।

व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका निमा घर्ती मगर र फुपुल्हामु खत्रीले जनही रु पाँच लाख पाए । त्यसैगरी फुटबल टोलीका २० खेलाडीलाई भने जनही रु दुई लाख प्रदान गरियो । उनीहरुलाई पनि रु पाँच लाख प्रदान गरिने निर्णय गरिएको भए पनि प्राविधिक कारणले रु दुई लाख मात्र प्रदान गर्न सकिएको बताइएको छ । त्यसैगरी व्यक्तिगत स्पर्धामा रजत जित्ने प्रत्येक खेलाडीले रु तीन लाख पाउँदा कास्य जित्नेले जनही रु दुई लाख हात पारे । साथै टिम इभेट्समा रजत जित्नेले रु एक लाख ५० हजार तथा काँस्य जित्नेले रु एक लाख हात पारे । त्यस्तै विभिन्न खेलका ५१ प्रशिक्षकले रु ५० हजारदेखि तीन लाखसम्म प्राप्त गरे भने १८ खेलकुद संघले रु दुई लाखदेखि पाँच लाखसम्म पुरस्कार पाए ।
 
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल खेल परम्परा र संस्कृतिका दृष्टिकोणले गौरवशाली देश भएको बताए । लिगलिगकोटमा दौडिएर जित्ने मात्र राजा हुने परम्पराको दृष्टान्त दिँदै उनले यस्तो परम्परा अन्य देशमा भएको आफूलाई थाहा नभएको चर्चा गरे । उनले भने, ‘दौडिएर राजा हुने कुरा छोडिदिउँ, तर अब दौडिएरै स्वर्ण पदक भने तपाइँहरुले लिनुपर्छ ।’ प्रधानमन्त्री ओलीले नेपाली खेलकुद क्षेत्रले नाजूक अवस्थामा पनि सफलता हासिल गरेको प्रसंगलाई कोट्याउँदै प्रधानमन्त्री ओलीले भने ‘यो सन्तुष्ट भइहाल्ने क्षेत्र परेन थप सफलताका लागि प्रयास गर्नुपर्छ ।’ उनले आफू जुनसुकै पदमा रहे पनि खेलकुद र खेलाडीका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

फूटबल खेलाडीलाई अहिले दुई–दुई लाख प्रदान गरिएको भए पनि सरकारले घोषणा अनुरुपको पुरस्कार बापतको बाँकी ३ लाख पनि छिट्टै उपलब्ध गराउने बताएको छ । सागमा स्वर्ण र बंगबन्धु गोल्डकपमा उपाधि जितेको नेपाली टोलीका सदस्यलाई अखिल नेपाल फुटबल संघ एन्फाले यसअघि नै १०–१० लाख पुरस्कार प्रदान गरिसकेको छ ।