खेलकुद

राष्ट्रिय महिला क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौं। सशस्त्र प्रहरीको एपिएफ क्लबले राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा पूर्वाञ्चल क्रिकेट टिमलाई १० रनले हराउँदै एपिएफले उपाधि उचालेको हो ।
पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित १० ओभरमा एक विकेटको क्षतिमा ६४ रन बनाएको थियो । एपिएफका लागि सीता राना मगरले २९ तथा सरिता मगरले २२ रन बनाए । ६५ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चलले पाँच विकेटको क्षतिमा ५४ रन मात्र बनाउन सक्यो । जितसँगै एपिएफले एक लाख रुपैयाँ पुरस्कार पाएको छ ।
उपविजेता बन्दै पूर्वाञ्चलले ५० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै एपिएफकी सरिता मगरले १० हजार रुपैयाँ प्राप्त गर्न सफल भइन् । यस्तै उत्कृष्ट ब्याट्सवमन मध्य पश्चिमाञ्चलकी लक्ष्मी चौधरी, उत्कृष्ट बलर पूर्वाञ्चलकी सन्तोषी चौधरी र उत्कृष्ट फिल्डर पूर्वाञ्चलकै सबनम राई घोषित भए । उनीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरे । हङकङमा आगामी अक्टोबरमा हुने महिला विश्वकप २०१६ को एसियाली छनौटका लागि नेपाली टिम चयन गर्न प्रतियोगिताको आयोजना गरिएको हो ।
सुदूरपश्चिमाञ्चललाई हराउँदै पूर्वाञ्चल फाइनलमा प्रवेश गरेको थियो भने मध्यपश्चिमको टोलीलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको थियो । टि–२० फम्र्याटमा खेलाइएको खेलमा पाँच बिकास क्षेत्र र शसस्त्र प्रहरी बलको महिला टोली सहित ६ टिमले सहभागिता जनाएका थिए । सिनियर महिला क्रिकेटको ईतिहासमै पहिलो पटक बिजेता टिमलाई नगद १ लाख र उपबिजेतालाई नगद ५० हजार सहित सिल्ड र मेडल प्रदान गरिएको हो । यसैबीच, प्रतियोगिताबाट २४ उत्कृष्ट खेलाडी छनौट गरी साउनको अन्तिमबाट बन्द प्रशिक्षण सञ्चालन गरिनेछ । राष्ट्रिय खेलकुद परिषदबाट गठित क्रिकेट समन्वय समितिले यस प्रतियोगिताको संयोजन गरेको थियो ।
क्रिकेटमा बिद्यमान विवादले घरेलु क्रिकेट प्रतियोगिताहरु लामो समयदेखि हुन नसकिरहेको सम्बन्धमा राखेपको पहलमा नयाँ तथा युवा खेलाडीहरु खेल्नबाट वञ्चित नहून् भन्ने उद्देश्यले यस समिति गठन गरिएको राखेपले बताएको छ । यस समितिले आगामी दिनमा पुरुष सिनियर टीम, यु–१९ विधामा पनि घरेलु प्रतियोगिताहरु आयोजना गर्नेछ । नव गठित समितिका संयोजकमा राखेप बोर्ड सदस्य शैलेष कर्माचार्य रहेका छन् ।
१२ साउन, २०७३ ।