राजनीति

अविश्वासको प्रस्तावको सामना गर्ने : एमाले

काठमाडाैं ।  एमाले स्थायी समिति बैठकले सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको छ । संयमित भएर अविश्वासको प्रस्तावको सामना गर्ने पर्ने टुंगोमा एमाले पुगेको छ ।

एमालेमा अविश्वासको प्रस्तावको सामना गर्ने/नगर्ने भन्नेमा नेताहरु विभाजित छन् । सरकार अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजिनामा दिएर सहज निकास निकाल्नुपर्नेमा माधव नेपाल पक्षका नेताहरुले जोड दिएको स्रोतको भनाइ छ ।

बैठकले अविश्वास प्रस्तावको दृढतापूर्वक सामना गर्ने, त्यसको परिणाम स्वीकार गर्ने र संवैधानिक ढंगले सबै चल्नुपर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि प्रधानमन्त्रीको राजिनामा माग्नुको औचित्य नहुनेमा एमाले नेताहरुले जोड दिएका थिए । नेताहरुले सरकार गठनका सन्दर्भमा संवैधानिक अड्चन देखिएमा सर्बोच्च अदालतको राय लिनुपर्नेमा पनि जोड दिएका छन् ।

विपक्षीले हतारमा अविश्वास प्रस्ताव ल्याइसकेपछि प्रधानमन्त्रीले राजिनामा दिनुको औचित्य नहुने भन्दै संवैधानिक निकायले संविधान बमोजिम प्रस्तुत हुनुपर्ने पार्टीले ठहर गरेको एमाले सचिव योगेश भट्टराईद्वारा विज्ञप्तिमा उल्लेख छ ।

सरकारले गर्दै आएको राष्ट्रिय हित, संविधानको कार्यान्वयन, पुनःनिर्माण अभियान, निर्वाचनको तयारी, नीति कार्यक्रम र बजेटको निरन्तरताका आधारमा राष्ट्रिय सहमतिमा आउन एमालेले सबै दललाई आह्वान गरेको छ ।

५ साउन, २०७३ ।