राजनीति

अविश्वास प्रस्ताव पास गर्न दृढ भएर लाग्नेः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले संसदमा दर्ता भएको सरकारविरुद्धको अविश्वासको प्रस्ताव पास गर्न प्रभावकारी ढंगले लाग्ने निर्णय गरेको हो । पार्टी कार्यालय सानेपा मंगलबार बसेको बैठकले अहिले संविधानमा नयाँ सरकारका विषयमा अन्यौलता भएको भनेर सरकारले विवाद निकालिरहेको तर संविधानमा नयाँ सरकारबारे अन्योल नरहेको र विवाद जरूरी नभएको निष्कर्ष निकालेको छ ।

बैठकको सुरुमा सभापति शेरबहादुर देउवाले वर्तमान राजनीतिक परिस्थितिका बारेमा जानकारी गराएका थिए । बैठकमा सदस्यहरूले सो अविश्वास प्रस्तावलाई प्रभावकारी रूपमा सफल पार्नुपर्नेमा जोड दिएका थिए ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले कांग्रेसका नेताहरुलाई छुट्टाछुट्टै भेट गर्न बोलाएको विषयमा पनि वैठकमा छलफल भएको थियो । कांग्रेस नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतलाई प्रधानमन्त्री ओलीले छुट्टाछुट्टै भेट गर्न बोलाएको भन्दै वैठकमा प्रश्न उठनेपछि सभापति देउवाले छुट्टाछुट्टै भेट नगर्न देउवाले निर्देशन दिए । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसभित्र खेल्न खोजेको भन्दै सबै जिम्मेवार नेताहरु सजक हुनुपर्नेमा देउवाले जोड दिए ।

बैठकमा सदस्यहरूले अविश्वास प्रस्तावलाई प्रभावकारी रूपमा सफल पार्ने तथा भावी सरकार गठन प्रक्रिया र भ्रातृ एवम् शुभेच्छुक संस्थाको महाधिवेशनका सम्बन्धमा धारणा राखेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

बैठकमा नयाँ सरकारमा सहभागी हुने विषयमा सैद्धान्तिक छलफल मात्र भएको र त्यसको मापदण्ड केन्द्रीय समितिले तय गरेपछि मन्त्रिमण्डलका सम्भावित सदस्यका बारेमा उच्च नेतृत्वले आपसी सहमतिका आधारमा टुङ्गो लगाउने बारे छलफल भएको नेता केसीले बताए ।

बैठकमा बन्ने सरकारले शान्ति प्रक्रियाका बाँकी काम अन्तर्राष्ट्रिय प्रचलनका आधारमा सहमतिका साथ शीघ्र टुङ्ग्याउनुपर्ने, मधेस केन्द्रित र अन्य संविधानसँग असन्तुष्ट दलसँग लचकताका साथ संवाद गरी संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने र स्थानीय निकायको निर्वाचन समयमा नै सम्पन्न गर्नुपर्ने बारेमा पनि नेताहरुले धारणा राखेका थिए ।

बैठकमा नयाँ गठबन्धनका बारेमा केन्द्रीय समितिले धारणा बनाई त्यसलाई पार्टीको स्थानीय तह र जनस्तरमा लैजाने बारेमा छलफल पनि छलफल भएको थियो ।

५ साउन, २०७३ ।