राजनीति

तीन दलका कुरा तीन तिर, जनता अन्योल

काठमाडौं ।  मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफलबाटै समाधान खोज्न प्रमुख तीन राजनीतिक दल सहमत देखिए पनि आ–आफ्ना अडानबाट भने कोही पछि हटका छैनन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा सत्ता समीकरणका विषयमा देखिएको आपसी तिक्ततालाई कसरी मेट्ने भन्ने नै प्रमुख एजेण्डा बनेपनि
सहमतिमा आउने भने कसैको कुरा देखिएन ।

मुलुकको राजनीतिक अवस्था, बजेटसँग जोडिएका विधेयक र व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा सबैले सहमतिमा आउनुपर्ने बताएपनि सहमतिका लागि पहल भने थालेनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि पदबाट राजिनामा नदिने अडान दोहो¥याए । छलफलका क्रममा उनले राजिनामा नदिने बरु अविश्वासको प्रस्तावको सामना गर्ने अडान राखे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री नसुम्पिएपछि कांग्रेसको साथमा प्रधानमन्त्री लालसामा ओली सरकारको समर्थन फिर्ता लिएको थियो । माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि प्रमुख दलका नेताहरुबीच केही दिनयता ‘वाक युद्ध’ नै चलेको छ ।संविधानमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने ब्यवस्था भए पनि संक्रमणकालमा नयाँ सरकार गठन गर्ने प्रावधान नरहेको भन्दै कानूनविदहरुले आफू अनुकुल ब्याख्या गर्नसमेत पछि परेका छैनन् ।

छलफलका क्रममा देउवा र दाहालले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो सहज बनाइदिन आग्रह गरे । जवाफमा ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि त्यसको सामना गर्ने बताएका हुन् । ओलीले अविश्वास प्रस्ताव र राजीनामा एक साथ हुन नसक्ने बताएका थिए ।

उनले  संसद्मा अविश्वासको प्रस्ताव दर्ता भइसकेको र त्यसलाई सभामुखले कार्यसूची अघि बढाइसकेका अवस्थामा कसरी समझदारी हुन्छ भनी दुवै नेतालाई प्रश्न गर्नुभएको थियो । सहमति र समझदारीबाट देशलाई अफ्ठ्यारोबाट जोगाउनुपर्ने प्रधानमन्त्रीको धारणा थियो ।