राजनीति

सरकार र मोर्चाको वार्ता अन्यौल

काठमाडौं । संघीय गठबन्धनले राजधानीकेन्द्रित आन्दोलन थालेपछि सरकारले पटक पटक वार्तामा बोलाए पनि मोर्चाले आफ्ना माग पूरा नहुने संकेत पाएपछि वार्तालाई लत्याउँदै आएको छ । सरकारले मोर्चाका जायज माग पूरा गर्न तयार रहेको भन्दै पछिल्लो पत्राचार गरेपछि मोर्चाभित्र वार्तामा जाने र नजानेमा विवाद भएको छ । आन्तरिक विवादले मोर्चा वार्तामा नआएको सरकारको बुझाइ छ ।

आन्दोलनमा घाइते भएकालाई सरकारले ३२ लाख उपचार खर्च दिने निर्णय गरेको छ । मोर्चाले ४२ लाख माग गरेको थियो । घाइतेहरूले अहिलेसम्म करिब २४ लाख बुझिसकेको र दश लाखजतिको छुट्टै चेक तयार भएको कानुनमन्त्री अग्नि खरेलले बताए ।

घाइते भएको प्रमाण लिएर आउनेबित्तिकै गृह मन्त्रालयबाट भर्पाई गरेर रकम बुझ्न सक्ने उनले बताए ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने मोर्चाको विश्वास बटुल्ने दाउमा लागेको छ । मोर्चासहितको संघीय गठबन्धनको रिले अनशनस्थल पुगेर कांग्रेसका नेताहरुले ऐक्यबद्धता जनाएका छन् । कांग्रेस नेताहरू डा.शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, दिलेन्द्र बडूले पनि ऐक्यबद्धता जनाएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि अनशनप्रति ऐक्यबद्धता जनाउँदै सुदूरपश्चिमका माग पनि पूरा गर्न बाँकी रहेको बताएका थिए । कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले ‘मधेसीका मागमा उदासीन छैनौँ’ भन्न सभापति अनशनस्थल पुगेको बताए ।

‘संसद्मा भएका पार्टीसँग मिलेर जानुपर्छ । मधेसका मागप्रति उदासीन छैनौँ । बेवास्ता गरेका छैनौँ, जायज विषयमा संवेदनशील छौँ भन्ने सन्देश दिन सभापतिजी जानुभएको हो,’ नेता आनन्दप्रसाद ढुंगानाले भने, ‘जायज मागबारे छलफल नभई केही भन्न नसकिने बताए ।’ यी र यस्तै घटनालाई हेर्दा मोर्चाको मागप्रति कांग्रेस लचिलो देखिएको छ ।