राजनीति

स्पष्ट जवाफ नआएसम्म बैठक चल्न दिँदैनौंः कांग्रस नेताहरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले भूकम्पपछिको पुनर्निमाणमा तदारुकता नदेखाएको भन्दै विहीबार संसद बैठक अवरुद्ध पारेको छ । सभामुख ओनसरी घर्तीले बैठक सुरु भएको घोषणा गर्नासाथ नेपाली काँग्रेसका सांसदले उठेर विरोध जनाएका थिए । 
नेपाली काँग्रेसका सांसद डा प्रकाशशरण महतले भूकम्पपीडित अत्यन्त कष्टमा रहेको भन्दै प्रधानमन्त्रीले वर्षायामअघि नै आवास दिन्छौँ भने पनि हालसम्म एउटा पनि घर निर्माण नभएको भनी विरोध गरे । उनले काँग्रेस नेतृत्वको सरकारले घोषणा गरेको रु दुई लाख एकमुष्ट तत्काल उपलब्ध गराउन आफूहरुले पटक पटक माग गर्दा पनि सम्बोधन नभएको सदनलाई जानकारी गराए । 
उनले भने- ‘सरकार कुरा गर्छ काम गर्दैन’, प्राधिकरणले आ–आफ्ना गैरसरकारी संस्थालाई काम दिने, पार्टीकरण गर्ने काम भएको छ, यो गलत हो ।’


हालसम्म ११ जिल्लाका भूकम्पपीडितको मात्र पहिचान भएको बताउँदै उहाँले रु दुई लाख दिने भनेको रकममा पनि रु ५० हजारका दरले दिने कुराले पीडितको पक्षमा सरकार कति गम्भीर छ भन्ने स्पष्ट भएको बताए । 
पुनःनिर्माणमा राजनीतिकरण गर्ने काम बन्द गर्न माग गर्दै उनले बाढी पहिरोबाट प्रभावित जनतालाई पनि सोही परिणामको राहत प्रदान गरियोस् भनी आग्रह गरे । 

काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले भूकम्पपीडितको राहत रकम उपलब्ध गराउन माग गर्दै संसद् अवरुद्ध गर्न बाध्य भएको बताए । उनले सांसद महतले राखेको मागका सम्बन्धमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म आफ्नो पार्टीले बैठक चल्न नदिने बताए । 

प्रमुख सचेतक श्रेष्ठले सांसद महतको माग बमोजिम एक घन्टाभित्र सरकारबाट भूकम्पपीडितलाई रु दुई लाख रकम एकमुष्ट रकम दिन्छौँ भनेर जवाफ दिएपछि बैठक चल्न दिने बताए । सभामुख ओनसरी घर्तीले सरकारबाट आफूले भोलि नै पुनःनिर्माण सम्बन्धमा विस्तृत जानकारी गराउने खबर प्राप्त भएको भन्दै काँग्रेस सांसदहरुलाई बस्न आग्रह गरेकी थिइन् ।