राजनीति

सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा धारणा राख्ने सांसदले अफगानिस्तानको काबुलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै घाइते नेपालीको स्वास्थ्योपचार गराउन र शव मुलुक ल्याउनेतर्फ तत्काल पहल गर्न सरकारसंग आग्रह गरेका छन् । 


सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइरहेको अवस्थामा सरकारका मन्त्रीहरुले नै त्यसविरुद्ध बोल्दै हिँडेकोप्रति आपत्ति जनाउँदै सांसदहरुले भूकम्पपीडितले हालसम्म पनि राहत पाउन नसक्नाको कारण सदनलाई जानकारी गराउन समेत माग गरेका छन् ।

त्यस्तै केही सांसदले भने भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण नेकपा एमालेको कार्यकर्ता भर्ती गर्ने एनजिओ हो कि भूकम्प प्रभावित जनतालाई राहत प्रदान गर्ने निकाय हो भनी प्रश्नका थिएन । 

कर्णाली अञ्चलमा खाद्यान्नको चरम सङ्कट उत्पन्न भए पनि खाद्यान्न आपूर्ति गर्नेतर्फ सरकारले ध्यान नदिएको भन्दै सुरक्षा निकायलाई ढुवानीको व्यवस्था गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

त्यसैगरी, तराई– मधेस सद्भावना पार्टीका महेन्द्र राय यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थरुहट तराई पार्टी लगायतले विगतदेखि उठाउँदै आएका माग सम्बोधन गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए । उनले सर्लाहीमा महिला हिंसाको घटना बढिरहेको भए पनि स्थानीय प्रशासनले ध्यान नदिएको भन्दै गुनासो गरे । सरकारले मधेसी मोर्चासँग वार्ता गर्नेतर्फ कुनै ध्यान नदिएको र विरोधी समूहलाई विश्वासमा लिनेतर्फ कुनै पहल नगरेकामा गुनासो गर्दै मोर्चासँग यसअघि भएको आठबुँदे सहमति लगायत विभिन्न सम्झौता कार्यान्वयन गर्न आग्रह गरे । उनको सो कथनसँगै मधेसी मोर्चासँग सम्बद्ध दलहरुले सदनको बैठक बहिष्कार गरे ।