राजनीति

सरकार छाड्ने गच्छदारको चेतावनी

काठमाडौ  । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एक महिनाभित्र सरकार छाड्ने बताएका छन् ।
पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै गच्छदारले सरकार गठन अघि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको आठ बुँदे सहमति कार्यान्वयन नभए आफूले आगामि एक महिनाभित्र सरकार छाड्ने चेतावनी दिएका हुन् ।

बैठकमा नेताहरु जितेन्द्र देव, रामेश्वर यादव र वकिल मुसलमानसहितका करिब एक दर्जन नेताहरुले आठ बुँदे सहमति कार्यान्वयन हुन नसकेकोले पार्टी सरकारमा सहभागि हुनुको औचित्य नभएको भन्दै सरकारमा गएर नेताहरुले पार्टीकोलागि भन्दा पनि आफ्नो काममात्रै गरेको आरोप लगाएका थिए ।

उनीहरुले पार्टी सरकारमा सहभागि भएपछि मधेसमा पार्टीको अस्तित्व संकटमा पर्न थालेको र जनतामा सत्ताकै लागि जे पनि गर्छ भन्ने सन्देश गएको दावी गर्दै पार्टीको अस्तित्व बचाउन र मधेस समस्या समाधान गर्न सरकारबाट बाहिरिनु पर्ने तर्क गरेका थिए ।