राजनीति

स्थानीय निकायको निर्वाचन असम्भवः केसी

काठमाडौं । असार नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले अहिलेकै अवस्थामा स्थानीय निकायको निर्वाचन असम्भव भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले आइतबार विराटनगरमा गरेको कार्यक्रममा नेता केसीले सरकारको कार्यशैली देखेर स्थानीय निकायको  असम्भव हुने दाबी गरेका हुन् ।
नेकपा एमाले नेतृत्वको सरकारले प्रमुख प्रतिपक्षी काँग्रेससँग परामर्श नगरी आफूखुसी निर्वाचन गर्ने तयारी गरेको बताउँदै उनले अहिलेकै अवस्थामा काँग्रेस निर्वाचनमा जान नसक्ने पनि प्रष्ट पारे। निर्वाचनमा जाँदा मधेसी र आदिवासीको समस्या सामधान गर्नुपर्ने उनले तर्क राखे । नेता केसीले वर्तमान सरकारले मधेस समस्या समाधान, संविधानको कार्यान्वयन र स्थानीय निकाय निर्वाचन गराउन नसक्ने दाबी गर्दै संसद्को ठूलो दल काँग्रेसको नेतृत्वमा सहमतीय सरकार बनाउनुपर्नेमा जोड दिए ।

आफ्नो नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनको नेतृत्व लिन काँग्रेस तयार भएको नेता केसीले उल्लेख गरे । वर्तमान सरकारमा सङ्घीयता र गणतन्त्र विरोधी दलहरु समावेश भएकाले काँग्रेस कुनै पनि हालतमा यो सरकारमा नजाने उनले प्रष्ट पारे ।