राजनीति

नयाँ शक्ति नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न

काठमाडौं । औपचारिक रुपमा पार्टी घोषणा गरेको नयाँ शक्ति नेपालको सोमबारदेखि शुरु भएको पहिलो राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले आन्दोलनरत दलहरुको माग सम्बोधन गर्न संबिधान संशोधन गर्नुपर्ने निष्कर्ष  निकालेको छ ।

मंगलबार प्रज्ञा भवन कमलादीमा नयाँ शक्तिको छलफल शत्रमा समापन मन्तव्य दिँदै पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सानदार ढंगले पार्टीको सुरुवात भएको बताए । राष्ट्रिय भेलाले संविधान संशोधन गरिनुपर्ने, जनताले भोग्नुपरेका कालोबजारीका समस्याप्रति सरकार गम्भिर हुनुपर्ने लगायतका विभिन्न ८ बुंदे प्रस्ताव पारित गरेको छ।

त्यस्तै, संयोजक डा. भट्टराईले पार्टीको दुष्मन कोही नरहेको जानकारी गराउदै जतिसक्दो धेरैलाई समेट्ने कार्यशैली अपनाएर संगठन विस्तार गर्न सदस्यहरुलाई निर्देशन दिएका छन्। संयोजक डा. भट्टराईले प्राकृतिक र जैविक रुपमा नेपाल निकै धनी रहेको र सकारात्मक सोच लिएर काम गर्दा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए। दुई ठूला बजार भएका चीन र भारत नेपाल नजिकै रहेकाले रुखले झैं फल दिने गरी काम गरेर मुलुकलाई समृद्ध बनाइ छाड्ने अठोट गरे ।

राष्ट्रिय भेला खर्च १ करोड ४ लाख रुपैयाँ

राष्ट्रिय भेला सुरु हुन अगाडी आम्दानि विवरण सार्वजनिक गरी आर्थिक पारदर्शिताको उदाहरण प्रस्तुत गरेको नया शक्ति नेपालले भेला समापनका क्रममा भयको खर्चको विवरण समेत सार्वजनिक गरेको छ।

नयाँ शक्ति नेपालको लेखा शाखाको जिम्मेवारी पाएकी सविना अर्यालले आम्दानीतर्फ सदस्यताबाट १७ लाख ५ हजार, चन्दाबाट २५ लाख, प्रवेश शुल्कबाट ७ लाख ५० हजार तथा सचिवालयका सदस्य र अन्तरिम परिषद् सदस्यबाट ८ लाख ६० हजार रुपैयाँ संकलन भएको जानकारी गराइन् । त्यस्तै सदस्यता शुल्क बापत १ करोड ३ लाख २२ हजार रुपैयाँ संकलन हुन बाँकी रहेको उनले जानकारी दिएकी छिन्।

त्यस्तै सार्वजनिक गरिएको विवरण अनुसार राष्ट्रिय भेला आयोजनामा १ करोड ४ लाख रुपैयाँ खर्च र प्रचार प्रसार, मञ्च निर्माण, खाना खर्च लगायतका शिर्षकमा ५० लाख रुपैयाँ मात्र तिरिएको नयाँ शक्ति नेपालले जनाएको छ ।